२० चैत्र २०८१ बुधबार
image/svg+xml १४:९ अपराह्न
सम्पादकीय

पूर्वराजा ज्ञानेन्द्रमाथि कारबाही गर

राजतन्त्र पुनर्स्थापनाको नाममा एक पत्रकारसहित दुईजनाले अनाहकमै ज्यान गुमाउनु परेको छ। दर्जनौंका निजी घरमा क्षति पुगेको छ। निजी घर जलाइएको छ। पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ। धेरैजना घाइते भएका छन्।

सुरक्षाकर्मीहरू नराम्ररी पिटिएका छन्। हजारौँ सर्वसाधारणको उपचारदेखि वैदेशिक रोजगारी भ्रमणसम्म प्रभावित बनेको छ। यातायात नचल्दा त्यसमा आश्रित मजदुरको पेट खाली भएको छ भने विशेषगरी कोटेश्वर, तीनकुने, जडीबुटी क्षेत्रमा व्यापार/व्यवसाय गर्नेहरू मर्कामा परेका छन्। 

तिनका जीविकामाथि आक्रमण गरिएको छ। सन्चोलगायत केही औषधि बेचेर जेनतेन बाँचिरहेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको काम गर्ने ठाउँमा आगो दन्काइएको छ। भाटभटेनीलगायतका पसल लुटिएको छ। समग्रमाभन्दा शुक्रबार पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा आतंकले फेरि एकपटक टाउको उठाएको छ।  

शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर झुक्याएर गरिएको यस किसिमको बर्बर आक्रमणलाई कुनै अर्थमा स्वीकार गर्न सकिँदैन। सुरक्षाकर्मीलाई धम्क्याउँदै, इँटाले हिर्काउँदै र चुनौती दिँदै यी सारा हर्कत गरिएका छन्। कोलाहल मच्चिएको छ। गुहार माग्नेहरूले साथ पाएनन्। 

प्रहार गर्नेहरूको आततायी शैलीको जति निन्दा गरे पनि कम हुन्छ। दुई सहयात्री सञ्चार संस्था कान्तिपुर र अन्नपूर्ण पोष्टमाथि आक्रमण भएको छ। अर्को सञ्चार माध्यम एभिन्यूज टेलिभिजनका सञ्चारकर्मीको ज्यान गएको छ। आफैंले लगाएको आगो निभाउन आएको दमकललाई समेत बाटो नछाड्ने अमानवीय काम गर्न कुन तहको पाषाणहृदय चाहिन्छ भन्ने यसले देखाएको छ। 

शत्रुदेशमा आक्रमण गर्दासमेत मानवीय पक्षमा ध्यान दिइन्छ। यहाँ गुमेको सत्ता फिर्ता गर्ने अभिष्टका निम्ति पूर्वराजा ज्ञानेन्द्र र तिनका मतियारले ताण्डव गरेका छन्। एकदमै अराजक, एकदमै असभ्य शैलीमा दिनभर बेथिति रह्यो। जसले वरपरका बासिन्दालाई आफ्नै घरभित्र कुनबेला ढुंगाले टाउको फुट्ने हो, आगो लाग्ने हो भन्ने त्रासले सताइरह्यो। जस्तासुकै गतिविधिलाई राजनीतिको जामा पहिर्‍याएर आतंक मच्चाउन पाइन्छ भन्ने भाष्य यहाँ निर्माण गर्न खोजिएको छ।

यी सारा आपराधिक कर्तुत राजा फर्काउने बहानामा गरिएका हुन्। नेपालमा राजतन्त्र समाप्त भएको १८ वर्ष पुगिसकेको छ। त्यसयता मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र बनेको छ। यसले विभिन्न जातजाति, क्षेत्र, धर्म, लिङ्ग आदिको प्रतिनिधित्व सुनिश्चित गरेको छ। शासनशैलीमा रूपान्तरण भई त्यसैअनुरूप चल्दै आएको छ। त्यसअघिका राजा ज्ञानेन्द्र शाहले पूर्वराष्ट्राध्यक्षका रूपमा सेवासुविधा लिइरहेका छन्। देशले उनलाई सम्मानपूर्वक राखेको हो। त्यसले पनि तिनलाई नपुगेर यो वितण्डा गरिरहेका छन्।  

लोकतन्त्र मात्र दुनियाँमा त्यस्तो शासन व्यवस्था हो जसमा सबैका निम्ति स्थान हुन्छ। राजाको वंशमा आधारित राजाको शासनभन्दा अहिले मुलुकमा वहाल व्यवस्था कैयन गुणा उच्च छ। यसले आम नागरिकको सर्वतोमुखी विकासका निम्ति बाटो देखाइरहेको छ। स्वतन्त्र नागरिकले मात्र आफू र देशका निम्ति योगदान गर्न सक्छन्। राजाको एकतन्त्रीय दबदबाबाट मुक्त नागरिकहरूले आफूलाई यथार्थमै प्रगतिपथमा अग्रसर गराएका छन्। 

विगतको शासनसत्ता गुमेका कारण अहिले देखिएका केही असन्तुष्टिलाई दुरूपयोग गरी पूर्वराजाको निर्देशनमा अहिले मच्चाइएको वितण्डाका निम्ति जिम्मेवारी लिनुपर्छ। राजाको निर्देशनमा आन्दोलनको नेतृत्व गर्ने पूर्वपञ्च नवराज सुवेदीदेखि गुण्डागर्दी शैलीमा उत्रिएका अराजक दुर्गा प्रसाईंजस्ता तत्वहरूमाथि गम्भीर छानबिन र कारबाही हुनुपर्छ। पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेपछि उनले आन्दोलनलाई अराजकतातर्फ लगेको देखिएको छ।

लामो समय रजगज गरेका कारण पूर्वराजखलकप्रति केही ‘सेवक’ अनुग्रहित हुनु स्वाभाविक हुन्छ। केहीलाई हुक्का समात्ने, केहीलाई जुत्ता लगाइदिनेजस्ता कार्यका लागि राखिएकाहरूले फेरि त्यस्तै सेवाको चाहना गरेका हुन सक्छन्। थालको खाना मुखसम्म आफैँ लैजानसमेत नसक्ने रोगले ग्रस्त राजा/महाराजाहरूले यस क्रममा धेरैलाई दिएका ‘जागिर’ बाट हात धुन बाध्यहरू यसलाई ठूलै अवसर गुमेको रूपमा अरण्यरोदनमा देखिनु पनि अनौठो विषय भएन। अनि कतिपयलाई भने राजाको छत्रछायाँमा तस्करी गर्ने चाहना र कतिपयलाई ‘ट्रम्प शासन’ को ‘मस्क’ बन्ने अभिलाषाले पनि सताएको छ। यस्तो अवस्थामा केही हजार मानिसलाई राजा अवतार लाग्नु अस्वाभाविक भएन तर लोकतन्त्रमा यस्तो अवतारको कुनै स्थान हुँदैन। ज्ञानेन्द्रले शासकीय रुचि देखाउन थालेपछि हामीले चैत १७ गते प्रष्टै लेखेका थियौं– पूर्वराजा नबहकिएकै बेस।  

यो पनि पढ्नुहोस्

पूर्वराजा नबहकिएकै बेस

यो लोकतन्त्र हो। त्यसैले राजावादी हुन पनि पाइन्छ। राजा चाहिन्छ भनेर विचारको राजनीति गर्न पनि पाइन्छ तर त्यो शान्तिपूर्ण हुनुपर्छ। अभिव्यक्ति स्वतन्त्रता र सभामेला गर्ने स्वतन्त्रता दुरूपयोग गरी नागरिकले हासिल गरेको स्वतन्त्रता कुल्चन खोज्ने अधिकार कसैलाई छैन। कानुन हातमा लिन खोज्नेमाथि छानबिन र कारबाही हुनुपर्छ। राजधानी काठमाडौंमा शुक्रबार भएका घटनाका निम्ति पूर्वराजा ज्ञानेन्द्रले जिम्मेवारी लिनुपर्छ। 

यसलाई अनावश्यकरूपमा उत्तेजित तुल्याउनेहरूले पनि यसको भागिदार हुनैपर्छ। राजनीतिका नाममा कसैलाई पनि ज्यान मार्ने, आगजनी गर्ने र लुटपाटको अधिकार छैन। राज्यका निकायहरूले दह्रोसँग खुट्टा टेक्नुपर्छ। सुरक्षा निकायहरूले यस्तो बेलामा गरेको कामलाई सबैले हेरिरहेका छन्। तिनले गोडा कमाएर शान्ति कायम गर्न चुके भने त्यो लोकतन्त्रमाथिको घात हुनेछ। यस्तो अराजकता कुनै दृष्टिमा स्वीकार्य हुनेछैन।  

सरकारले पूर्वराजा ज्ञानेन्द्रमाथि कारबाही थाल्नुपर्छ। ज्ञानेन्द्र राजा भएकै बेला उनको नेतृत्वमा भएका दमन र विध्वंशबापत उनलाई होस् वा माओवादीले गरेका क्षति र नरसंहारका लागि उसको नेतृत्वलाई सजाय दिन चुक्नु नै यो घटनाको कारक मान्न सकिन्छ। दण्डहीनता यो घटनाको मुख्य कारण हो। 

त्यसैले अबचाहिँ यस्ता घटनाले पुनः टाउको उठाउन नपाउन भन्नेतर्फ गम्भीर भएर लाग्नै पर्छ र यसको पहिलो सर्त आपराधिक कार्यमा संलग्नलाई कानुनी सजाय दिलाउनै पर्छ। यसले मात्र भोलि कानुन हातमा लिन खोज्नेहरूलाई समेत ठेगान लगाउँछ। जुन राष्ट्रको जनताले तिरेका करबाट भातभान्सा र मोजमस्ती चलेको छ, तिनै जनतामाथि आतंक मच्चाउने कार्य स्वीकार्य हुन सक्दैन। 

प्रकाशित: १७ चैत्र २०८१ ०६:०९ आइतबार

Download Nagarik App
Download Nagarik App