हेनरी डेभिड थोरोले भनेका छन्– यो संसार हाम्रो कल्पनाको क्यानभास मात्र हो। वास्तवमै, यहाँ हरेक ठाउँमा हाम्रा कल्पनाशीलता पोख्न सक्छौँ हामी। जति सुन्दर र आकर्षक ढंगले कल्पना व्यक्त गर्न सक्छौँ त्यो हाम्रा लागि त्यति नै सुन्दर हुन्छ। अझ त्यस्तो सुन्दरता हाम्रा लागि मात्र नभएर अन्य हजारौँका लागि पनि आनन्द दिने विषय बन्न सक्छ। सांसारिक क्यानभास यही कारण जति सुन्दर बनाउन सक्यो मानव जीवन उति नै सुखद भएकामा शंका छैन।
संसाररूपी क्यानभास रंग्याउन लागिपरेका जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका विराज भण्डारी यतिबेला विशेष कला क्षमताका कारण चर्चित बनेका छन्। मात्र २५ वर्षीय विराज पात कला (लिफ आर्ट) गरेर सबैको मन जित्न सफल भएका छन्। जुम्ला अन्य उत्पादनका खातिर ओखरका लागि पनि प्रसिद्ध छ। उनले ओखरकै पातमा बनाउन सुरु गरेका कला यतिबेला पीपल र अन्य पातमा पनि सरेका छन्। हावाले उडाएर फालिदिने र काम नलाग्ने ठानिने पात विराजका लागि कला उतार्ने महत्वपूर्ण साधन बनेको छ।
कोरोनाकाल धेरै मानिसले सुतेरै बिताए। केही गर्न पाइन्न, गर्न मिल्दैन, गर्न हुँदैन, सकिन्न भन्दैमा बित्यो धेरैको कोरोना जुनी। तर विराजले ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने चरितार्थ गरे । त्यही बेला हो उनले पात कला सिकेका। त्यो पनि इन्टरनेटमा आउने भिडियोका माध्यमबाट। एक भारतीय कलाकारले बनाउँदै गरेको देखेपछि उनी यसतर्फ लोभिएका थिए। निरन्तरको प्रयासले उनलाई पात कलाकारका रूपमा स्थापित गर्यो। उनी पातमै मानिस, नक्सादेखि सबैखाले कला कोर्छन्। त्यसलाई देख्नेहरू लोभिन्छन् र उनको खोजीमा भौतारिन्छन्। विराजले सोखका लागि गरेका यो कलाकृति हुँदाहुँदा अहिले त आम्दानीको राम्रो स्रोत बनिसकेको छ। एउटा पातमा कलाकृति कोरिदिएबापत उनी एक हजारदेखि २५ सय रुपैयाँसम्म पारिश्रमिक लिन्छन्। बितेका ६ वर्षमा उनले यसै कलाबाट करिब १६ लाख रूपैयाँ कमाइसके। अर्डर आउने क्रम जारी छ। त्यो पनि देशबाट मात्र हैन, विदेशबाट समेत।
यहाँ अवसर छैन भन्ने युवाहरूका लागि गतिलो उत्तर हुन् विराज। जसले घरमै बसेर, बिनालागतका कच्चा पदार्थमा मात्र आफ्नो सिर्जना पोखेर राम्रो आम्दानी गरिरहेका छन्। आम्दानी मात्र हैन, उनको ख्याति पनि दिन/प्रतिदिन चुलिइरहेको छ। निरन्तरको प्रयासले जस्तोसुकै काम पनि सम्भव हुन्छ भन्नेसमेत सिकाएका छन् उनले दुनियाँलाई। यही कारण उनीबाट सिक्न सकिने धेरै कुरा छन्। जस्तो– निरन्तर अभ्यास, दृढ अठोट, नयाँपन र सिर्जनशीलता। यति भएमा ख्याति र पैसा आफैँ खोज्न आउँछन् भन्ने उनी ज्वलन्त उदाहरण हुन।
पातमा ४ हजारभन्दा बढी आकृति कोरिसकेका विराज यो कलाबारे प्रशिक्षण पनि दिन्छन्। विशेषगरी विद्यार्थीलाई यस्तो प्रशिक्षण दिने उनले ४३ वटा विद्यालय पुगेर सिकाइसकेका छन्। आफ्नो कामलाई व्यापक बनाउन सामाजिक सञ्जालको अधिकतम उपयोग गरिरहेका विराज यो कर्मबाट निकै खुसी छन्। उनका कलाकृति जिल्लास्थित अधिकांश कार्यालयमा समेत टाँगिएका छन् भने आफ्नो ठाउँमा आएका प्रसिद्ध व्यक्तिहरूलाई पातमा बनाइएका उनीहरूका तस्बिर दिनु पनि विराजको दिनचर्या जस्तै बनेको छ।
कृषि विज्ञानका स्नातक विराज अनेरास्ववियुका नेता पनि हुन्। सामाजिक सेवामा पनि आफूलाई समर्पित गरेका छन्। युनिक होम डेकोर सप्लायर्स र स्केट पार्कका सञ्चालक उनी व्यवसायी पनि हुन्। यति धेरै परिचयका धनी विराजको सबै पक्षलाई यतिबेला पात कलाले ओझेल पारिदिएको छ। जसबाट उनलाई नाम र दाम दुवै मिलेको छ। यही कारण पनि विराज अहिले धेरैतिर खोजिने र सम्पर्क गर्न चाहिने व्यक्ति बन्न सकेका हुन्।
काम धेरैले गर्छन्। व्यवसाय र राजनीति पनि धेरैले गर्छन्। तर गर्ने शैली र तरिका फरक भयो भने त्यही काम प्रशंसनीय बन्छ। अनुशरणीय र प्रशंसनीय बन्छ। अहिले विराजले गरेको पनि त्यही हो जुन काम अरूले गर्नेभन्दा व्यवस्थित छ। आकर्षक छ र नवप्रवर्तनीय छ। विराजबाट सिक्ने सकिने यस्ता पाठले नेपाली युवालाई केही गर्न सकिएन भन्ने निराशाबाट बाहिर निकाल्न सघाउँछ। नयाँ दृष्टि भयो भने तदनुकूलकै सृष्टि हुन्छ। सिर्जनशीलतामै शक्ति हुन्छ।
प्रकाशित: २८ फाल्गुन २०८१ ०५:५४ बुधबार