२३ चैत्र २०८१ शनिबार
image/svg+xml ८:४६ पूर्वाह्न
सम्पादकीय

आप पराजयको अन्तर्य

जनसंख्याका आधारमा संसारकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतको राजधानी नयाँ दिल्लीको विधान सभा चुनाव यतिखेर चर्चामा छ। यसको मुख्य कारण १२ वर्षदेखि दिल्लीको सरकार चलाइरहेको आम आदमी पार्टी (आप) २२ सिटमा खुम्चनु र यसका मुख्य नेता अरविन्द केजरीवालसमेत पराजित हुनु हो। 

चुनावमा विजय/पराजय स्वाभाविक हुन्छ तर दिल्लीको यो चुनावी नतिजा धेरैको अनुमान विपरित भएकाले पनि चर्चाको अग्रस्थानमा छ। अब दिल्लीको सरकार भारतीय जनता पार्टी (भाजपा) को हातमा पुगेको छ। केन्द्रकै सत्ता सम्हालिरहेको भाजपाका लागि यो विजयको ठूलो अर्थ छ। पहिलो त केन्द्रमा सत्ता सञ्चालन गरिरहे पनि राजधानी दिल्लीमा आफू नहुनु आफैंमा असजिलो अवस्था रहेको हो भाजपाका लागि। अर्कोतर्फ २७ वर्षमा यो दलले दिल्ली सरकारको नेतृत्व गर्न पाएपछि केन्द्रदेखि राजधानीसम्मै शासन गर्ने उसको धोको पूरा भएको छ। त्यसैले विभिन्न आरोप लागेको र मतादेश घट्दै गएको भन्ने विपक्षीहरूको आलोचनाबिच दिल्ली विजय भाजपाका लागि ‘कोसे ढुंगा’ सावित भएको छ।

आप, केजरीवाल र उनीपछिका नेताहरूको पराजय तथा गिर्दो जनविश्वास भाजपाका लागि सकारात्मक भए पनि भारतको मध्यम वर्गका लागि भने खुसीको खबर हुन सकेको छैन। भारत जति उन्नत, लोकतान्त्रिक र आर्थिकरूपमा सबल हुँदै गइरहेको छ, त्यत्तिकै मात्रामा छाडापन, हिंसात्मक गतिविधि र भ्रष्टाचारजन्य गतिविधिहरू पनि उकालो लागिरहेका छन्। यस्तो अवस्थाबाट वाक्कदिक्क भएका र मुक्तिसमेत चाहिरहेका यो वर्गले विशेषगरी विकल्प खोजिरहेका थिए। त्यही विकल्पस्वरूप उदाएको थियो आप। जसको जन्म नै भ्रष्टाचारविरोधी अभियानबाट भएको थियो।

विडम्बना भन्नुपर्छ, जुन दलको जन्म भ्रष्टाचारविरोधी अभियानबाटै भयो त्यही दलका शीर्ष नेताहरू भ्रष्टाचारकै आरोपमा कारागार परे। यसबाहेक अन्य विवादमा पनि परिरहे। यसमा उनीहरूको आफ्नो हात कति हो र षड्यन्त्रले कति काम गरेको छ अध्ययनको विषय हो। तथापि, स्थिति यस्तोसम्म भयो कि आप जन्मिएको भ्रष्टाचार विरोधी अभियानका श्रीगणेशकर्ता अन्ना हजारेले समेत आप र यो दलका नेताहरूप्रति नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैंमा दुःखद हो। यसले केही न केही हिसाबले राम्रो काम भएको थिएन भन्ने बुझाउँछ। त्यसैले अहिलेको विधान सभा निर्वाचनको दयनीय परिणामका लागि यही दलका नेता प्रमुख जिम्मेवार भएकामा शंका छैन। जसले आपलाई शून्य भ्रष्टाचारका हिमायती र गरिबको दल बनाउने प्रतिबद्धतामा ठेस लगाएको छ।

अघिल्लो कार्यकालदेखि नै सत्तामा रहेको तथा देशव्यापी सांगठनिक संरचना भएको भाजपा पक्कै पनि चुनावमा बहुरणनीतिसाथ उत्रेकै हो। साम, दाम, दण्ड, भेद चुनावका लागि कसैले पनि बाँकी राख्दैन। भाजपाले पनि राख्ने कुरै भएन। यस अर्थमा भाजपाका अगाडि आपको चुनावी प्रचारप्रसार र आरोपहरूको प्रतिरक्षा क्षमता कमजोर हुनु अनौठो भएन। तर पनि मुख्य कुराचाहिँ आप यसरी ह्वात्तै तल झर्नुमा उसकै गतिविधिहरू मुख्य जिम्मेवार भएकामा शंकै छैन।

आपले आफ्नो शासनकालमा दिल्लीका जनताको मन नजितेको हैन। मध्यम वर्गसँगै ऊ मजदूर वर्गको पनि आशाको मियो बनेकै हो। तर उसका धेरै काम ‘कल्याणकारी’ खालका थिए। जुन दिन सक्दासम्म वाहवाही पाइन्छ, जुन दिनबाट दिन सकिन्न, त्यो दिनदेखि आफैँलाई घाँडो हुन्छ र उल्टै प्रत्युत्पादक हुन्छ। आप यो सवालमा चुकिसकेको त थिएन तर केन्द्रीय सत्ता हाँकिरहेको भाजपा र विशेषगरी यही पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदी चुनाव प्रचारका क्रममा यसरी प्रस्तुत भए कि यस्ता कल्याणकारी काम केन्द्रीय सत्ताको समेत बागडोर सम्हालेका कारण उनको दलले अझ प्रभावकारीरूपमा सञ्चालन गर्न सक्छ। फलस्वरूप, ‘मोदी इन, केजरीवाल आउट’ को स्थिति सिर्जना भयो।

भारतमा कंग्रेस आई, कम्युनिस्टहरू, भाजपा र अन्य केही दलका पृष्ठभूमि लामा छन्। कसैलाई मन परे पनि नपरे पनि उनीहरू कुनै न कुनै वाद र सिद्धान्तबाट प्रेरित छन्। त्यसैले कुनै एकपटक वा दुई/तीनपटकको चुनावमा हार्दा पनि यही कारण उनीहरूको पत्तासाफ हुँदैन। अर्थात् संख्या धेरथोर घटबढ भए पनि ठूलो कार्यकर्ता पंक्ति, मतदाता र समर्थक रहिरहन्छन्। विभिन्न असन्तुष्टिका कारण कतिपय अवस्थामा ती सक्रिय नहोलान् तर ती अन्यत्र लाग्ने सम्भावना कम हुन्छ। तर ठूला र पुराना राजनीतिक दलका केही कमजोरीका कारण असन्तुष्ट मतदाताबाट विजयी भएका तर आफ्नै पृथक वैचारिक धरातल भने नभएका दलहरू भने एकपटक सत्ताबाट हटेपछि धरासायी नै हुन्छन्। तिनलाई सम्हाल्ने र थेग्ने कोही हुँदैनन्। अहिले कतिपय सन्दर्भमा आपले भोगेको स्थिति पनि यही हो।

नेपालमा पनि अहिले केही दलले आफूलाई नयाँ त भनेका छन् तर के अर्थमा नयाँ भन्नेचाहिँ प्रमाणित गर्न सकेका छैनन्। केही सिटमा जितेकै आधारमा उनीहरूको दम्भ यति चुलिएको छ कि त्यसलाई व्यवस्थापन गर्न राज्य शक्तिलाई समेत हम्मेहम्मे पर्न अवस्था देखिँदैछ। त्यसैले सबैभन्दा पहिले आफ्नो राजनीतिक विचारधारा, मार्गचित्र र गन्तव्य प्रष्ट पारेर अघि बढ्दा मात्र दीर्घ होइन्छ। अन्यथा आपको नियति अवश्यम्भावी छ। 

प्रकाशित: २९ माघ २०८१ ०६:०५ मंगलबार

Download Nagarik App
Download Nagarik App