नेपाली कांग्रेस मुलुककै सबैभन्दा पुरानोमध्येको एक दल हो। यो सबैभन्दा ठूलो लोकतान्त्रिक दलसमेत हो। यसको सिद्धान्त, व्यवहार, अहिलेसम्मका गतिविधि र यसले अपनाएका नीतिहरू यसका प्रमाण हुन्।
लोकतान्त्रिक भएकै कारण यसका गतिविधि लचकदार मात्र छैनन्, उदार पनि छन्। अनि तुलनात्मकरूपमा धेरैलाई समेट्नेखाले छन् भने समकक्षी दलहरूसँग गरिने व्यवहार पनि नरम छन्। यसर्थ पनि यो दलमा छिर्न र निस्कनसमेत न कुनै साइत कुनुपर्छ न त धेरै सर्त राख्न र खेप्नै पर्छ।
यतिबेला यही दल स्थापना दिवसको सेरोफेरोमा छ। दलको नाम, झण्डा र विधान टुंगो लगाउन २००३ सालको माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा अधिवेशन भएको थियो। सोही अधिवेशनलाई कांग्रेसको प्रथम अधिवेशन मानिन्छ र स्थापना दिवसका रूपमा समेत लिइन्छ।
यसरी करिब आठ दशकअघि नागरिक अधिकार र जनउत्तरदायी शासन व्यवस्था स्थापनार्थ गठित यो दलबारे यतिबेला चर्चा हुनु अस्वाभाविक हुन्न। विशेषगरी अहिले कांग्रेसले आफ्नो स्थापनाकालीन मार्ग भुलेको आरोप लाग्दै आएको छ। जुन आरोपलाई पुष्टि गर्न उसका गतिविधि आफैँ अग्रसर छन्।
राणा शासनदेखि पञ्चायती व्यवस्था फाल्नसमेत नेतृत्वदायी भूमिका निर्वाह गरेको र विसंगतिविरुद्धका थुप्रै आन्दोलनको नेतृत्व गरेको यो दल यतिबेला लोकतन्त्रले मन नपराउने गतिविधिविरुद्ध सहभागी हुनुले यसका समर्थक मात्र हैन, शुभचिन्तकसमेतलाई चिन्तित बनाएको छ। सोझो अर्थमाभन्दा कांग्रेस जस्तो इतिहास निर्माता दल लोकतन्त्रविरुद्धको अभियुक्तका रूपमा चित्रित हुनु मुलुककै दुर्भाग्य हो।
राजनीतिको मुख्य उद्देश्य सत्ता नै भएकामा दुई मत छैन। सबै नीतिको माउ नीति राजनीति भएकाले दलहरूले अपनाएका सिद्धान्तलाई व्यवहारमा उतार्न पुग्नै पर्ने ठाउँ पनि सत्ता हो। त्यसैले राजनीति र सत्ता एकअर्काका पर्याय भएकामा द्विविधा आवश्यक छैन। तर यसको मतलव यो होइन कि आफ्ना सिद्धान्त, नीति र विचार लागु गर्न जसरी पनि सत्तामा पुग्नै पर्छ। यतिबेला नेपालका दलहरूमा भने यही रोग देखापरेको छ। जसका कारण गठबन्धन बनाउने र यसमा पनि कित्ता फेरिरहने कार्य सामान्य हुन पुगेको छ।
कांग्रेस अहिले सक्रिय सबै दलमध्ये दाजु हो उमेरका हिसाबले। त्यति मात्र हैन, अनुभवका आधारमा परिपक्व दल हो भने सफल नेतृत्वका दृष्टिकोणमा अभिभावक पनि। त्यसैले राजनीतिमा देखिएका विकृतिहरू न्यूनीकरणमा उसको ठूलो भूमिका हुन्छ। तर ऊ आफैँ सत्ताकेन्द्रित अभियानमा लागेका कारण अन्य दलले समेत सिको गर्ने मौका पाएका छन्। यस्तो अवस्थामा कांग्रेसले अरू दललाई समेत मार्गनिर्देश गर्ने सम्भावना क्षीण भएको छ। यो भनेको लोकतन्त्रका लागि सुखद विषय होइन।
खासमा वामपन्थी र नेपाली कांग्रेसको विचार, सिद्धान्त, मान्यता सबैमा आकाश–जमिनको फरक छन्। यस्तो अवस्थामा वामपन्थी दलहरू सत्ताका लागि मिल्नुलाई एकप्रकारको सामान्य प्रक्रियाका रूपमा लिन सकिन्छ तर कांग्रेस सत्तामा जानकै लागि कहिले वामपन्थीसँग त कहिले राजा चाहिन्छ भन्ने दलसँग मिल्नु कुनै पनि दृष्टिकोणबाट पुष्टि हुने कार्य होइन। र, यसो गरिनुमा सत्ता सुख एक मात्र उद्देश्य देखिन्छ। जसले कांग्रेसभित्रका केही व्यक्तिलाई फाइदा पुगे पनि सिंगो कांग्रेस दललाई फिटिक्कै फाइदा पुगेको छैन भने लोकतन्त्रलाई पनि फाइदा पुगेको देखिन्न।
कांग्रेसको आफ्नै विधान छ। सिद्धान्त छ। नारा छ। गन्तव्य छ। तर विडम्बना, जब सत्तामा जाने कुरा आउँछ, त्यतिबेला यी कुनै पनि कुराको उसले हेक्का राख्दैन। त्यतिबेला न बिपी सम्झन्छ न त देशको माटो नै हात लिएर सोच्छ। के मुलुकको सबैभन्दा ठूलो, जेठो, परिपक्व र अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दलको एक मात्र उद्देश्य जसरी पनि सत्तामा रहनु मात्रै हुन सक्छ? यस्तो हो भने उसका सिद्धान्त, उद्देश्य र गन्तव्यका अर्थ के रहे? त्यसैले स्थापना दिवस मनाइरहँदा उसले आठ दशकअघिको दस्ताबेज हेनुपर्छ कि पर्दैन? सिद्धान्त र सत्तामध्ये केलाई प्राथमिकतामा राख्ने भन्ने विषयलाई थाती राखेरै गरिने यात्राले कांग्रेसको गन्तव्य प्रष्ट होला? सोचनीय छ।
प्रकाशित: १४ माघ २०८१ ०६:०५ सोमबार