२ पुस २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

गुटको प्रकोप

कुनै खास उद्देश्य लिएर केही व्यक्तिको पक्ष, मत वा स्वार्थका आधारमा बनेको सानो दल या जमात चिनिन्छ गुट भन्नाले। जसलाई पारस्पारिक मतभेद वा रागद्वेषका कारणले कुनै ठूलो संगठन वा समूहभित्र तयार भएको सानो संगठन ठान्छ नेपाली बृहत् शब्दकोशले। यसरी हेर्दा नै थाहा हुन्छ कि गुट मूलधारले अपनाएको सिद्धान्त, उसका व्यवहार वा गतिविधिप्रति मतभिन्नताले सिर्जना हुने गर्छ। जसको उद्देश्य त्यो संगठनको माहोल आफ्नो अनुकूल तुल्याउने वा नभएमा बरु तहसनहन नै पारिदिनेसमेतको हुने गरेको पाइन्छ।

नेपालका ठूलादेखि सानासम्मका संस्था अहिले गुटीय स्वार्थको गन्धले भरिभराउ देखिएका छन्। यसबीचमा राजनीतिक दलहरू झनै सताइएका छन्। यतिबेला विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी जस्ता दल गुट नामक भाइरसले ग्रस्त छन् जसको उपचार सामान्य एन्टिबायोटिकले मात्र सम्भव देखिएको छैन। नेपाली राजीतिमा मौलाएको यो गुटीय भाइरस यति बलियो हुँदै गएको छ कि जसले सबै दललाई स्वस्थ रहन अवरोध सिर्जना गरेको छ।

सत्ता साझेदार दल नेकपा एमालेले त दसौँ महाधिवेशनपछि पहिलोपटक आफ्नो दलमा गुटबन्दी भएको सार्वजनिकरूपमै स्वीकार गरेको छ। उसले कार्यशालाका लागि देशभरबाट काठमाडौँ बोलाइएका तीन सय एक नेताबीच गुटबन्दी रोक्न सुझावै मागेपछि अप्रत्यक्ष रूपमा दलभित्र मौलाएको गुटले पार्टी नेतृत्व कति पिरोलिएको रहेछ भन्ने पुष्टि भएको छ जबकि एमालेका कैयौँ जिम्मेवार नेताले यसअघि सार्वजनिक खपतकै लागि किन नहोस्, आफ्नो पार्टीमा गुट रहेको वास्तविकता अस्वीकार गर्दै आएका थिए।

खासमा राजनीतिक दलहरू कुनै विचार, सिद्धान्त, धारणा र सोचका साथ गठन भएका हुन्छन्। यसको उद्देश्य, पथ र गन्तव्य गठन हुनुअघि नै प्रष्ट पारिएको हुन्छ। जो यस्तो दलमा सक्रिय वा आबद्ध हुन चाहन्छ उसले उक्त दलको विधान, घोषणापत्र जस्ता सबै जन्मकुण्डली अध्ययन गरेर मात्र लाग्नुपर्छ। त्यसैले यी सब बुझेर लागेपछि उक्त दलका सिद्धान्त, विचार र धारणा मन परेन भन्दै त्यहीँभित्र गुट बनाउन थाल्नु स्वस्थ गतिविधि हुन सक्दैन।

नेपालमा गठित कुनै पनि दलको विचार, सिद्धान्त नराम्रा छैनन्। फरक यति हो कि कुनैका सिद्धान्त कसैलाई मन नपर्न सक्छ। कुनैलाई कसैको मन पर्न सक्छ। हो, ती दलका नेता वा शीर्षस्थ तहका व्यक्तिको व्यवहार र भूमिका भने पक्षपाती, शंकास्पद र असभ्य हुन सक्छ। यस्तो अवस्थामा त्यस्ता नेता वा शीर्ष व्यक्तिलाई उसका यस्ता पक्षमा खबरदारी गर्ने हो। त्यो पनि सार्वजनिकरूपै गर्नुपर्छ। तर यसो गर्दा तथ्य र प्रमाण भने आवश्यक हुन्छ। नत्र बाँकी दुनियाले पत्याउन मुस्किल हुन्छ। अहिले भने यहाँ केही नेताका व्यवहार वा उसको शैली मन नपरेका केही व्यक्ति मिलेर सिंगो दलप्रति नै विष वमन गर्ने, दलकै हितविरुद्ध गतिविधि गर्ने जस्ता कार्य तीव्ररूपमा भइरहेका देखिन्छन्। जुन हाम्रो जस्तो दलीय व्यवस्थाका लागि सबै कोणबाट हानिकारक छ।

नेताका गलत क्रियाकलापविरुद्ध खबरदारी गर्नैपर्छ। कुनै एउटा दलमा आबद्ध हुँदैमा नेताप्रति प्रश्न गर्नै नपाइने हुन सक्दैन। खासमा प्रश्न गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो र यसैले मात्र सम्बन्धितहरूलाई जिम्मेवार र उत्तरदायी बनाउँछ। तर प्रश्न गर्ने पनि शैली हुन्छ, तरिका हुन्छ, मर्यादित हुनुपर्छ। यस्तो अवस्थाले प्रश्नकर्ताको मर्यादा जोगिन्छ। उसको प्रतिभाको कदर हुन्छ। तर सार्वजनिक रूपमा तथ्य र प्रमाणसहित उपस्थित हुन नसक्ने तर भित्रभित्रै करौँती रोप्ने चाहनाले उसैलाई बढी हानि हुन्छ।

गुट खासमा त्यस्तो भाइरस हो जुन प्रायः देखिँदैन तर यसले भित्रभित्र शिथिल बनाइसकेको हुन्छ र अन्त्यमा एकदिन यस्तो अवस्था आउन सक्छ जतिबेला उपचार पनि असम्भव भइसक्छ। त्यसैले चित्त दुखाइ छ भने अर्थात् आफूलाई परेको अन्याय खुलेयाम राख्नुपर्छ। सिद्धान्तविपरित गएमा खबरदारी पनि सार्वजनिकरूपमै गराउन सकिन्छ तर गुट बनाएर सिध्याउँछु भन्ने हो भने आफैँ पनि सकिन्छ। किनकि समुद्रमा अघि बढिरहेको डुंगामा साथीलाई डुबाउने मनसायले प्वाल पारिदिने हो भने त्यो डुब्दा आफू पनि सँगै डुबिन्छ भन्ने हेक्का गुटीयकर्ताले राख्नै पर्छ।

कतिपयको मतमा पार्टीभित्रको गुटबन्दी प्रकोपकै कारण विगतमा माओवादी सशस्त्र संघर्षलाई फैलन बल पुगेको हो, राजालाई अलोकतान्त्रिक कदम चाल्न पनि यसलै पुट दिएको हो। तर, यहाँनेर गुटबन्दी पार्टीभित्रकै आन्तरिक लोकतन्त्रको अभ्याससँग पनि गाँसिन्छ, अलोकतान्त्रिक नेतृत्वमै गुटबन्दी फस्टाउँछ। त्यसैले गुटबन्दी रोक्ने भनेकै अझ बढी लोकतान्त्रिक र पारदर्शी बन्नु हो। तर, दलका नेतृत्वमा यस्तो चरित्र नदेखिनु अहिलेका लागि सबैभन्दा ठुलो खतरा हो। र, यो खतरा अन्ततः दलमात्र होइन लोकतन्त्रकै लागि घातक छ। 

प्रकाशित: २ पुस २०८१ ०५:१५ मंगलबार

Download Nagarik App
Download Nagarik App