नेपाल कुनैबेला धान निर्यात गर्थ्याे। अन्य धेरै उत्पादन आफ्ना जनतालाई खुवाउँथ्यो र बाँकी रहेको अरू मुलुकका जनतालाई पनि पठाउँथ्यो। तर यतिबेला समय फेरिएको छ। अब नेपाल अनाज निर्यात गर्दैन। उल्टै आयात गर्छ। कृषिप्रधान मुलुकका लागि यो खुसीको खबर पक्कै होइन तर पनि समय परिवर्तनशील छ र सबै कुरा सधैँ एकैनाशको रहँदैन भन्ने प्रमाण हो यो।
विगत जपेर कहीँ पनि पुगिँदैन। समयअनुसार चल्न सक्यो भने विगतको पेन्सनमा मात्र भर पर्नुपर्दैन। समयको गति पछ्याउन सकिएन भने हामी मात्र हैन, जोकोही पनि डायनोसार हुने निश्चित छ। अहिले विश्वमा जति पनि मुलुकले उच्चतम प्रगति गरेका छन्, ती सबैको पहिलो सूत्र समयानुसार चल्नु नै हो। यसो भनिरहँदा विगतप्रति पश्चाताप गर्ने र विगतका सबै कुरा गलत थिए भन्न खोजेको हैन। तर विगतबाट सिक्दै अघि बढ्न सकिएन भनेचाहिँ ‘कुवाको भ्यागुत्तो’ हुनेमा शंका छैन।
कुरा हो सूचना प्रविधि (आइटी)को। नेपालले वार्षिक सवा खर्ब रूपैयाँ बराबरको आइटी सेवा निर्यात गर्छभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। टनका टन धान र अन्य अनाज पठाउने मुलुकले देख्दै नदेखिने यस्तो सेवाबाट यति धेरै आम्दानी गर्न सक्नु सबैले चाल पाउने विषय पनि हैन। तर सूचना प्रविधि क्षेत्र नै यस्तो हो कि जसले नपत्याउँदोतवरले पैसा कमाउँछ। त्यसैले पनि यो बिनातामझाम, मात्र जुक्ति र दिमागका भरमा कमाइ हुने गतिलो क्षेत्र हो। नेपाललाई करिब तीन खर्बको लाभ दिन सक्ने हैसियत यसको ज्वलन्त प्रमाण हो।
नेपाल उद्योग परिसंघको आइटी काउसिन्सलका अध्यक्षले नै बताएका छन् कि नेपालबाट औपचारिक तथा अनौपचारिकरूपमा वार्षिक करिब एक अर्ब डलरको आइटी सेवा निर्यात भइरहेको छ। कम्पनीबाट मात्र नभएर व्यक्तिगतरूपमा समेत यस्तो सेवा बाहिरिएर नेपालले फाइदा कमाइरहेको छ। नेपालमा ८० हजार जना आइटी क्षेत्रमा कार्यरत छन्। यसबाट पनि देखिन्छ कि यो क्षेत्रले राम्रै रोजगारी दिइरहेको छ। नत्र भने किन यति धेरै मानिस, खासगरी युवाहरू यो क्षेत्रतर्फ आकर्षित हुन्थे र भन्ने प्रश्न पनि गर्न सकिन्छ।
सूचना प्रविधि खासगरी इन्टरनेटसँग सम्बन्धित क्षेत्र हो। एउटा कम्प्युटर, एउटा मोबाइल, एकजना मात्र बस्ने मिल्ने ठाउँ, खासै ठूलो लगानी नपर्ने जस्ता कारण यो क्षेत्र अहिले धेरैको रोजाइमा पर्न थालेको छ। विशेषगरी विश्वभर बढ्दो मागका कारण विशेषगरी युवाहरू यो क्षेत्रमा आकर्षित भइरहेका छन्। थोरै काम गरेर अर्थात थोरै समय गरेर धेरै पैसा कमाइने र तोकिएकै ठाउँमा गएर गर्नुपर्ने बाध्यतासमेत नभएका कारण सूचना प्रविधि क्षेत्रले धेरैको मन जित्न सकेको हो।
यो क्षेत्रमा रमेकाहरूले हार्डवेयर, सफ्टवेयर निर्माण, ग्राफिक डिजाइन, एनिमेसन, टेलिमेडिसिन, अनलाइन मार्केटिङलगायतका सेवा विदेश निर्यात गरिरहेका छन्। नेपालमै बसेर विश्व शक्ति अमेरिका तथा सम्पन्न मुलुक भारत, चीन, अस्ट्रेलिया र अन्य युरोपियन मुलुकमा निर्यात भइरहेको नेपालको आइटी उत्पादन आर्थिक समृद्धिका हिसाबले निकै राम्रो क्षेत्र हुनेमा शंका छैन। युवाहरू रोजगारीका लागि धमाधम विदेशिइरहेका बेला हजारौँ युवा आइटी क्षेत्रबाट आफ्नो र मुलुकको मुहार फेर्ने अभियानमा लाग्नु वास्तवमै खुसीको कुरा हो।
जोसँग जे छ, त्यसैको अधिकतम उपयोग र प्रयोगमार्फत खुसी र समृद्ध हुन खोज्नु दुःख निवारणको मुख्य खुडकिलो हो। हामीसँग नभएका पेट्रोलियम खानी, सुन खानी आदिको खोजीका लागि अर्बौँ रूपैयाँ खर्चनुभन्दा भएकै चिजलाई उपयोग गर्न सक्दा समृद्धिको मार्ग छोट्टिन सक्छ। भनाइको मतलव हाम्रो देशमा रोजगारी अभाव छ। रोजगार खोज्नेहरू भने प्रत्येक दिन बढ्दो संख्यामा छन्। देशकै कलकारखानामा सबैलाई रोजगारी दिने सम्भावना छैन न त धेरै उद्योग तत्काल खुल्ने सम्भावना नै छ।
त्यसैले यस्तो अवस्थामा युवाहरूलाई सूचना प्रविधितर्फ अग्रसर गराउने वातावरण तयार पार्ने हो भने न रोजगारीका लागि मरुभूमिसम्म भौतारिने बाध्यता आइलाग्छ न त स्वदेशमै पनि पुर्पुरोमा हात राखेरै बस्नुपर्छ। यो वास्तविकतालाई मुलुक सञ्चालन गर्नेहरूले बुझ्न सके भने युवाहरूको मात्र हैन, मुलुककै आर्थिक कायापलट सम्भव छ।
प्रकाशित: १७ मंसिर २०८१ ०६:०९ सोमबार

