१३ पुस २०८२ आइतबार
image/svg+xml
सम्पादकीय

तीजको लहर

सौभाग्य र समृद्धिको कामनासहित मनाइने नेपाली नारीहरूको महान् पर्व तीजको रौनक छ यतिबेला मुलुकभर। धार्मिक परम्पराअनुसार शिव/पार्वतीको उपासना र पूजा गरिने यो पर्वलाई हरितालिका पनि भनिन्छ। दिनभर निराहार व्रत बसिने यो पर्वमा व्रतको अघिल्लो दिन राति दर खाने चलन अझै कायम छ। यसअन्तर्गत राति परिवारका सदस्य र छोरीचेली जम्मा भई रमाइलोसाथ हैसियतअनुसार मिठोमसिनो खाने गरिन्छ। जसलाई नेपाली संस्कृतिको एक अभिन्न अंगको संरक्षण गरिरहेको अर्थमा बुझ्नु उचित हुनेछ।

पूजाआजाबाहेक नाचगान र एकापसमा सम्बन्ध नवीकरण यो पर्वको अर्को विशेषता हो। बिहे गरेर, व्यवसायका सिलसिला वा पढाइ र अन्य प्रयोजनका क्रममा पूर्व/पश्चिम, उत्तर/दक्षिण पुगेका विशेषगरी छोरीहरू एकै ठाउँमा जम्मा भएर रमाइलो गर्नु यो पर्वको सुन्दर पक्ष हो। विविध कारणले वर्षौं भेट नभएका दिदी/बहिनी विशेषगरी बाबु/आमा भएको ठाउँमा जम्मा हुने चलनले आपसी मित्रता र सद्भाव वृद्धिमा सहयोग पुर्‍याउनेमा शंका छैन। त्यसैले अरूबेला भेट नभए पनि ‘तीजमा भेट्ने’ प्रायः चेलीको वाचा धेरै हदसम्म पूरा हुने गर्छ।

निश्चित समयको व्रतलाई सबै विज्ञानले स्वीकार गरेका छन्। त्यसैले रोगी, अशक्त, ज्येष्ठ नागरिक, सुत्केरी आदिबाहेक अरूका लागि व्रत नराम्रो होइन। यसले स्वास्थ्य निखार ल्याउँछ। आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै संस्कृतिको संरक्षण गर्ने कुरा नराम्रो होइन। बरु धर्म प्राप्त नहुने विश्वासमा स्वास्थ्यलाई ख्याल राखिएन भने त्यसले थप समस्या निम्त्याउन सक्छ। यस्तो पक्षमा भने विचार पुर्‍याउनु सबैको हितमा छ।

कुनै पनि पर्व, मेला, नीति, संस्कार स्थिर रहन सक्दैन। यो प्रकृतिको नियम हो। तीजमा पनि केही परिवर्तन आएको पक्कै हो। एक महिनाअघिदेखि दर खानेले तीजका नाममा विकृति ल्याए भन्ने आरोप पछिल्लो समय नारीमाथि लाग्दै आएको छ। तर सहकारी, सामाजिक संघ/संस्था, टोल विकास समिति, क्लब, विद्यालय र आफन्तले गर्ने दर कार्यक्रममा सहभागी हुनु नै विकृतिको कारण बन्न सक्दैन। यसलाई महिलाले अभ्यास गर्न पाएका खुला वातावरणका रूपमा बुझ्ने हो भने समस्या हुँदैन। आखिर पुरुषले वर्षैभर पार्टी प्यालेस, रेस्टुरेन्ट र तारे होटलहरूमा ‘रमाइलो’ गरेकै छन्। यसर्थ पुरुषले वर्षैभर रमाइलो गर्दा विकृति नआउने तर महिलाले केही दिन रमाइलो गर्दा त्यसले विकृति ल्याउँछ भन्ने हो भने त्यस्तो सोचलाई श्रद्धाञ्जली दिनु नै उपयुक्त हुन्छ।

खासमा अहिले जति तीजका पार्टी भएका छन्, त्योभन्दा कैयन् गुणा ठुला पार्टी हरेक दिन रेस्टुराँ र पबमा हुन्छन्। कैयन विकसित मुलुकमा यसरी पबमा रमाउनुलाई जीवनकै एक हिस्सा मानिन्छ। जुन समाजले रमाइलो गर्न जानेको हुन्छ, त्यसले काम पनि गर्छ। रमाउने बेलामा रमाउन नसक्नेले काम पनि गर्दैन। जहाँसम्म नारीहरू धेरै दिन घरबाहिर हिँड्दा घरको व्यवस्था बिग्रने, समाज भाँडिने, छाडापन बढ्ने सवाल छ, त्यो धारणा पनि अब मिति नाघिसकेको औषधिजस्तो हो। आफ्नो घरको व्यवस्थापन कसरी गर्नुपर्छ भन्नेबारे सबैभन्दा जानकार कोही हुन् भने महिला नै हुन्। भैँसीलाई घाँस जोहो गर्नेदेखि छोराछोरीलाई खाना खुवाएर खाजाको व्यवस्थासमेत गरिदिने हुँदै पतिको जुत्ता र कपडा ठीक ठाउँमा राखिदिने जिम्मा पनि तिनकै काँधमा छ। बरु पतिदेवहरूले घरेलु कामको जिम्मेवारी आफूले पनि लिएर महिलाहरूलाई फुर्सदमा राख्ने कि ? आफ्ना सारा व्यवस्थापन मिलाएर केही समय निकालेर रमाइलो गर्न जाँदा उनीहरू स्फूर्त हुन्छन् भने साथीसंगी र आफन्तसँगको भेटघाटले सम्बन्ध मजबुत भएको महसुस भई हरेक कुरामा आत्मविश्वास वृद्धि हुन्छ। त्यसैले महिलाले दर खाने कार्यक्रमका लागि केही दिन खर्च गर्दा त्यसबाट कोही पनि अत्तालिनु आवश्यक छैन।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले त एक सूचना निकालेर तीज पर्व  भड्किलो ढंगले नमनाउन भन्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरे/गराए कारबाही गर्ने चेतावनी दिएको छ। पहिलो कुरा त महिलाले खाने दर कार्यक्रममा अपवादबाहेक मदिराजन्य पदार्थ राखिएको हुँदैन। यो नराखेपछि भोजन खासै खर्चिलो हुने कुरै हुन्न। मदिराजन्य पदार्थ त यहाँ हरेकजसो पार्टीमा राखिएको हुन्छ। त्यसैका कारण भड्किलो भयो भन्ने हो भने त्यसलाई बनाउन नै नदिऔं। राज्यलाई त्यसैको राजस्व चाहिएको छ। केही महिलाले कहिलेकाहीं पार्टीमा रमाइलो गरेको तस्बिर देखेर उतर्सिनु पर्दैन। यसको आवश्यक परिणामको हेक्का पुरुषलाई जति त्यसैका कारण भड्किलो भयो भन्ने हो भने त्यसलाई बनाउन नै नदिऔं। राज्यलाई त्यसैको राजस्व चाहिएको छ। केही महिलाले कहिलेकाहीं पार्टीमा रमाइलो गरेको तस्बिर देखेर उतर्सिनु पर्दैन। यसको आवश्यक परिणामको हेक्का पुरुषलाई जति महिलालाई हुँदैन भन्ने होइन। त्यसैले महिलाको दर कार्यक्रमलाई लक्षित गरी प्रशासनले निकालेको सूचना पुरुषप्रधान समाजको दम्भले कति काम गरेको छ, आफैं विचार गर्नु उचित हुन्छ।

एकथरि छन् जो तीज मनाउनेलाई सत्तोसराप गर्छन्, अन्धविश्वासीको बिल्ला भिराउँछन् र अनपढसमेत भन्छन्। तर आफ्नो संस्कृति, संस्कार मनाउन पाउनु र आफ्नो रोजाइका गतिविधि कानुनसम्मत गर्न पाउनु उनीहरूको अधिकार हो भन्ने यिनीहरू बिर्सन्छन्। स्वास्थ्यमा ख्याल गर, बुझेर मात्र अघि बढ, कसैलाई हानि हुने काम नगर भनेर सुझावसम्म दिन सकिएला तर अरूको इच्छाप्रति अनावश्यक प्रहार पनि विकृति नै भन्नुपर्ला र?

महान् चाड तीजको व्रत अवधि शुक्रबार सुरु भइसकेको छ। व्रत बस्ने र नबस्ने स्वेच्छाको विषय हो। बसे पनि नबसे पनि स्वास्थ्यको ख्याल गर्नु र पर्व मनाउनु सबैको अधिकारको कुरा हो। सबै जातजाति, भूगोल, सम्प्रदाय, धर्मावलम्बी मिलेर बसेका हाम्रो सानो सुन्दर मुलुकमा एकले अर्काको पर्व/संस्कृतिको सम्मान गर्ने परम्परा सनातनदेखि नै रहिआएको छ। यो पर्वलाई पनि यसैगरी सहिष्णुतासाथ आफूलाई सहज हुनेतवरले मनाउन सक्दा सबैको भलो हुनेमा शंका छैन।

सम्पूर्ण नेपाली नारीलाई हरितालिका तीजको हार्दिक शुभकामना!

प्रकाशित: २१ भाद्र २०८१ ०५:४७ शुक्रबार

Download Nagarik App
Download Nagarik App