८ मंसिर २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

दुर्घटनाको देश !

नेपालमा फेरि ठुलो सडक दुर्घटना भएको छ। तनहुँको आबुखैरेनीमा शुक्रबार भएको दुर्घटनामा भारत, महाराष्ट्रका २७ भारतीय पर्यटकको मृत्यु भएको छ। दुई महिना मात्र अघिको सिमलताल दुर्घटनाको पीडा आलो छँदै घटित यो दुर्घटनाले मुलुकलाई नराम्ररी झस्काएको छ। मुग्लिन–नारायणगढ सडक खण्डमा रहेको सिमलतालमा पहिरोका परेर दुईवटा बस त्रिशूली नदीमा खसेका ३५ यात्रु अझै हराइरहेका छन्। आफन्तहरू शवसमेत नपाएको शोकमा छन्। दुर्घटनाको यो सिलसिला सडकमा मात्र रहेन। गत साउन ९ गते सौर्य एयरलायन्सको विमान त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुँदा विमानचालकबाहेक सबै १८ जनाको मृत्यु भयो। गएको साउन २३ गते मात्र एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिकामा दुर्घटनाग्रस्त भेटियो, जसमा नेपाली चालक र चार चिनियाँ नागरिकले ज्यान गुमाए।

सडक होस् या आकाश, नेपाली भूमिमा भएका शृंखलाबद्ध यी दुर्घटनाले देशभित्र र बाहिर कस्तो सन्देश गइरहेको छ। यसबारे खासै छलफल, बहस भएको देखिन्न। तर, स्वाभाविक रूपमा आकलन के गर्न सकिन्छ भने खासगरी विदेशी पर्यटकहरूलाई नेपालका सडक मात्र होइन, आकाशसमेत असुरक्षित रहेको निष्कर्षमा पुग्न बल पुग्दैछ। यसको प्रमाण पोखरामा २०७९ माघ १ गते ७२ जनाको ज्यान जानेगरी भएको यति एयरलायन्सको दुर्घटनापछि देशले र सबैभन्दा बढी पोखराको पर्यटन क्षेत्रले भोगेको क्षतिलाई पनि लिन सकिन्छ। दुर्घटना सिलसिलाले देशभित्रकै नागरिकमा पनि यात्रा भनेकै जोखिमको पर्याय बनिरहेको छ। तर विकल्प नहुँदा ज्यान माया मारेरै भए पनि यात्रा गर्नुपर्ने बाध्यता जो छ।

यी त भए मानवीय दुर्घटना। यस वर्षका वर्षाका यी महिनाहरूले हामीलाई खतराको अर्को कारकसँग पनि साक्षात्कार गराएको छ, जसको चर्चा बढी तर प्रमाण कम देखिएको थियो। जलवायु परिवर्तनलाई धेरै समय पश्चिमा भाष्य भन्दै बेवास्ता गरिरहेका कतिपय हामी नेपालीलाई गत साउन ३२ को थामे बाढीले त्रसित बनाएको छ। बढ्दो तापक्रम र वर्षाले हिमनदी विस्फोट भएकै कारण थामेमा विनाश भएको बताइएपछि अब जुनसुकै बेला बाढी, पहिरो र यसका संकटहरूसँग संघर्ष गर्न देशवासी तयार भएर बस्नुपर्ने अवस्था उत्पन्न भएको छ। किनकि, हिमालको देश नेपालमा यस्ता थुप्रै हिमनदी छन्, जसको हलचलले ठुल्ठुला बाढी र पहिरो निम्त्याउन सक्छन्। र, यसले हामीले आफ्नो जीवनकालमै नदेखेको विपत्हरू सामना गर्नुपर्ने हुन सक्छ। थामेले हामीलाई भविष्यको सम्भावित क्षतिलाई थाम्न गर्नुपर्ने तयारीबारे पाठ सिकाएको छ।

यसै पनि प्राकृतिक रूपमा संवदेनशील भूगोल मानिने नेपालले २०७२ सालमा ठुलो भूकम्पसँग पनि जुध्नुप¥यो । नेपालमा ठुलो भूकम्प जान सक्छ भन्ने वैज्ञानिक चेतावनीका बाबजुद हाम्रो कमजोर तयारीले झन्डै नौ हजार मानिसको मृत्युसँगै लाखौं घाइते, अकल्पनिय भौतिक सम्पत्ति र सम्पदाको क्षति मुलुकले बेहोर्नुप¥यो । भूकम्पले परिवारजन गुमाउनेहरूको क्षतिको परिपूरणमा लामो समय लाग्ने नै भयो, यहाँ त भौतिक क्षतिको पुनर्निर्माणसमेत सकिएको छैन । भूकम्पबाट पाठ सिक्छौं र यसलाई मुलुक पुनर्निर्माणको अवसर बनाउँछौं भन्ने हाम्रा नीतिनिर्माता, राजनीतिकर्मी अहिले केमा व्यस्त छन् भन्ने हेर्ने मात्र हो भने पनि उनीहरू कति झुट बोलिरहेका थिए भन्ने प्रमाणित हुन्छ।

कुनै पनि प्रकोप प्राकृतिक हुँदैन, त्यसको कारण मानवीय क्रियाकलाप नै हुन्छ भन्ने पछिल्लो ज्ञानलाई मान्ने हो भने हाम्रा दुर्घटना, विपत्हरूमा हामी स्वयं नै जिम्मेवार छौं। भलै जलवायु संकटमा हामी हाम्रा कारणभन्दा पनि पश्चिमा विकसित देशहरूको गल्तीको सजाय पाइरहेका छौं तर आफूलाई जोगाउने जिम्माबाट हामी पन्छिरहेका छौं अर्थात् विगतबाट चेतिरहेका छैनौं। सडक तथा हवाई दसर्घटना, बाढीपहिरो, भूकम्प वा अन्य आपत्, हामीसँग यसलाई रोकथाम, नियन्त्रण गर्ने न पर्याप्त समझ देखिन्छ न भइसकेपछिको उद्धार र राहतमा प्रभावकारी पहल।

लाग्दैछ, प्राकृतिक रूपमा अतुल्य सुन्दर र उत्थानशील जनताको साथ पाएको देश नेपाललाई हाम्रा राजनीतिक दलका नेता, प्रशासनतन्त्र ‘दुर्घटनाको देश’ अर्थात् ‘असफल राष्ट्र’ बनाउने दिशामा छन्। एक त देशमा माथि उल्लेख गरिएका दुर्घटनाहरू तारन्तार भइरहेका छन्, अर्कातिर देशको जर्जर अर्थतन्त्रले युवालाई जतिसक्दो चाँडो देश छाड्ने बनाइरहेको छ। युवाविहीन देशमा न विकास सम्भव हुन्छ न विद्रोह। वृद्ध शीर्ष नेताहरू त्यही अविकास र एक हिसाबको मुर्दाशान्तिमा गठबन्धनको दाउ खेलिरहेका छन्। तर सहनुको पनि हद हुन्छ, सीमा हुन्छ। देश र जनताका अहं मुद्दालाई आलटाल गरेर सधैं सत्तालाई नै केन्द्रमा राख्ने घृणित खेल अब पनि जारी राख्ने हो भने मुलुकमा ‘राजनीतिक दुर्घटना’ हुनबाट कसैले रोक्न सक्दैन, जसको घानमा कमसेकम प्रमुख शीर्ष तीन दलको नेतृत्व पर्नेछन्। सुध्रने समय घर्किनुअघि नै बँच्ने मेलो खोज्न सके युगले सम्मान दिनेछ, नत्र इतिहासले कलंकित पात्रका रूपमा परिभाषित गर्ने पक्का छ। 

प्रकाशित: ९ भाद्र २०८१ ०६:०२ आइतबार

Download Nagarik App
Download Nagarik App