२३ भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

सिमसार चिन्ता

सिमसार क्षेत्रले नेपालको झन्डै ६ प्रतिशत भूभाग ओगटेको छ। जनजीविका, जैविक विविधता तथा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सिमसारको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभागलाई सिमसार मानिएको हिसाबले पनि यसको उपयोगिता प्रस्टिन्छ। 

जलवायु परिवर्तनका कारण नेपाललगायत विश्वमा पानीको अभाव बढ्दो छ भने बाढीपहिरो, खडेरी तथा डुबानजस्ता विपद्हरू बढ्दो क्रममा छन्। यही बहुमूल्य पानीको स्रोतका रूपमा रहेको सिमसार क्षेत्रको संरक्षणमा नेपालले अपेक्षित प्रयास नगरेको र यसको संरक्षणमा तीनै तहका सरकार उदासीन रहेको समाचार सार्वजनिक भएका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण–२०२२ ले पछिल्ला २५ वर्षमा नेपालका पँधेरा, कुवा तथा पानीको मुहानमा पानीको अभाव हुँदै गएको, खोला तथा खोलानालामा पानीको प्रवाह प्रभावित भइरहेको देखाएको थियो। सर्वेक्षणमा सहभागी ७८.३ प्रतिशत घरधुरीले खोला र खोलानाला सुक्दै गएको बताएका थिए। पानीको मूल सुक्नु, पोखरीहरू सुक्दै जानु, जमिनमुनिको पानीको तह घट्दै जानु चिन्ताको विषय हो। सिमसार क्षेत्रको पुनःस्थापना र व्यवस्थापनले भूमिगत पानीको संरक्षण गर्न सकिन्छ।

हुन पनि नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्रहरू रहेका छन्। रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्त्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति तथा स्थानीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारहरूलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ। यो क्रममा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदिशपुर जलाशय, बिसहजारी ताल समूह, राराताल, फोक्सुन्डो ताल, गोसाइकुण्ड ताल, गोक्यो ताल समूह, माइपोखरी र पोखराका तालहरू गरी जम्मा १० वटा सिमसारहरू सूचीकृत छन्। यसबाहेक रामसार क्षेत्र तोकिएकाबाहेक पनि नेपालमा अन्य कैयन् सिमसारहरू रहेका छन्।

जैविक विविधताका हिसाबले पनि संकटापन्न अवस्थामा रहेका वनस्पति तथा जीवहरू सिमसार क्षेत्रमा बास गर्छन् भने बसाइँसराइ गर्ने चराहरूका लागि सिमसार क्षेत्र महत्त्वपूर्ण मानिन्छ। पछिल्ला वर्ष वर्षाको प्रकृति र प्रवृत्तिमा परिवर्तन आएको छ। कहीं अधिक वर्षा, कहीं अल्पवृष्टि हुँदा बाढीपहिरोदेखि खडेरीको जोखिम बढेको छ। जीवनयापन र जैविक विविधताबाहेक नेपालका सबै धर्म र संस्कृतिमा सिमसार क्षेत्रको उत्तिकै महत्त्व छ। पोखरी, ताल, नदीकिनार विभिन्न चाडबाड र धार्मिक कार्यहरूमा पवित्र मानिन्छन्। मिथिला संस्कृतिअन्तर्गत मानिने छठ पर्व यसको उदाहरण मान्न सकिन्छ, जसअन्तर्गत नदी, ताल तथा पोखरीको किनारमा बसेर व्रतालुहरूले सूर्यलाई अघ्र्य दिने गर्छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने पानी र सिमसार क्षेत्रबीचको सम्बन्ध नङ र मासुजस्तै छ । पानी भएन भने सिमसार क्षेत्रको अस्तित्व नै धरापमा पर्छ। अर्कातिर सिमसार क्षेत्र नै नरहे पानी जम्मा हुने ठाउँ नै हुँदैन। यस अवस्थामा सिमसार क्षेत्रबाट प्राप्त हुने विभिन्न वस्तु तथा पारिस्थितिकीय सेवाहरू नै समाप्त हुने र मानव सभ्यता नै खतरामा पर्न सक्छ। प्राकृतिक सन्तुलनमा अतुलनीय योगदान दिइरहेको यो क्षेत्रको संरक्षण र क्षयीकरण रोक्न अपेक्षित प्रयास नहुनु सुखद संकेत होइन।

नेपाल जैविक विविधताका हिसाबले धनी छ। विश्वको कुल भूभागको ०.१ प्रतिशत ओगटेको नेपाल जैविक विविधताका हिसाबले २५औं स्थानमा छ । वन तथा वातावरण मन्त्रालयका तथ्यांकअनुसार विश्वमा पाइने कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत नेपालमा पाइन्छन् भने विश्वमा पाइने कुल जीवका प्रजातिमध्ये १.१ प्रतिशत नेपालमा पाइन्छन्। यसरी वर्तमान विश्वले बेहोरिरहेका जैविक विविधता ह्रास र जलवायु परिवर्तन जस्ता चुनौतीलाई सम्बोधन गर्न सिमसारको महत्त्व उत्तिकै छ। यति धेरै गम्भीर विषयमा राज्य निरपेक्ष हुन सक्दैन।

सिमसार क्षेत्रको संरक्षणमा सलग्न विभिन्न निकायबीच रहेको नीतिगत अस्पष्टता, व्यवस्थापनमा जिम्मेवारी अभाव, अपर्याप्त प्राविधिक, संस्थागत तथा वित्तीय क्षमताका कारण संरक्षणमा चुनौती देखिएको छ। यसको संरक्षणका अन्य चुनौतीहरूमा कृषि एवं बस्ती विस्तार, भौतिक पूर्वाधार निर्माण, सिँचाइका लागि पानीको उपयोग, प्रदूषण, मिचाहा प्रजातिका वनस्पतिको आक्रमण, क्षमताभन्दा बढी प्राकृतिक संसाधनको दोहन, व्यावसायिक मत्स्यपालन तथा कृषि र सहरी पूर्वाधार निर्माणका लागि जमिनको उपयोगमा भएको परिवर्तनले यो क्षेत्रलाई नराम्ररी प्रभाव पारेको मानिएको छ।

यो पृष्ठभूमिमा यो क्षेत्रको संरक्षणका लागि चेतनाको विकास, यथेष्ट अनुसन्धान तथा संरक्षण सुनिश्चित गर्न कानुनी प्रावधानको व्यवस्था गर्नुपर्छ। वन ऐन तथा नियमावली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्य संरक्षत ऐन तथा नियमावली, राष्ट्रिय सिमसार नीति–२०६९, राष्ट्रिय रामसार रणनीति तथा कार्य योजना (२०१८–२०२४) तथा रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्गदर्शनलगायतका दस्ताबेजले नेपालमा रहेका सिमसार तथा रामसार क्षेत्रहरूको संरक्षण तथा समुचित उपयोगमा जोड दिए पनि संघीय नेपालको सन्दर्भमा सिमसार क्षेत्रको संरक्षण, बुद्धिमत्तापूर्ण उपयोग र व्यवस्थापनमा निर्दिष्ट कानुनी व्यवस्था हुन सकेको छैन। भए गरेका कानुन र नीतिहरू यत्रतत्र छरिएका छन्। 

राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्रभित्र मात्रै नभै यो क्षेत्रबाहिरसमेत ठुलो संख्यामा सिमसारहरू रहेको सन्दर्भमा संरक्षणका लागि एकत्रित कानुन र एकीकृत योजनाको आवश्यकता रहेको छ। यसमा सबै निकाय र सरोकारवाला गम्भीर हुनैपर्छ। 

प्रकाशित: ७ श्रावण २०८१ ०६:१० सोमबार

Download Nagarik App
Download Nagarik App