२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

दपेटिएको लोकतन्त्र

आज लोकतन्त्र दिवस। वर्ष हिसाब गर्ने हो भने लोकतन्त्र १८ वर्ष लागेको छ। १८ वर्ष एक नागरिकका लागि मतदानयोग्य उमेर हो। संयोग के भने मतदान लोकतन्त्रमा मात्र सम्भव छ। त्यसकारण पनि लोकतन्त्रले २०८१ को वैशाख ११ देख्न पाउनु मुलुकका लागि खास अर्थ राख्छ। किन पनि भने, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम आरोप लगाउँदै सत्ताको बागडोर आफ्नै हातमा लिएका हठी राजा ज्ञानेन्द्र अचेल देशका नेता मात्रै होइनन्, वर्तमान व्यवस्थामै खराबी देख्नुपर्ने बताउन थालेका छन्। उनले यसो भन्नु नयाँ संविधान र यसमा निहित गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्धको अभिव्यक्ति हो भनेर बुझ्न गाह्रो छैन।

पूर्वराजा ज्ञानेन्द्रलाई सार्वजनिक रूपमा यस्ता अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रकै कारण सम्भव भएको हो भन्ने पत्तो हुनुपर्छ। तर, यसलाई बिर्सेर बेलाबेला उनी जनताको नासो लोकतन्त्र फर्काएर आफूले ठुलो त्याग गरेको तर अहिले यसको अवमूल्यन भएको बताउन थालेका छन्। यसो भनेर उनले लोकतन्त्रको हत्यारा आफूलाई लोकमै सम्मानका साथ बस्न दिइनु, बोल्न दिइनु, जनतामाझ सांस्कृतिक र सामाजिक कार्यमा सहभागी हुन रोक नलगाइनुलाई राज्यको कमजोरीका रूपमा बुझिरहेका त छैनन् भन्ने आशंका उत्पन्न भएको छ। यदि यसो हो भने उनी र उनको परिवारले आफ्नो सीमितता समयमै बुझ्नु श्रेयस्कर हुनेछ।

पूर्वराजा मात्र होइनन्, उनी निकट समूहले धर्मनिरपेक्षता र संघीयतालाई मुलुक अविकासको कारण ठानेर लोकतन्त्रको मर्म र यसका संस्थाहरूमाथि आक्रमण गर्न थालेका छन्। पूर्वपञ्च, पञ्चायतमा पोषित परिवारका सन्तान, धर्ममा राजनीति गर्न चाहनेहरू लोकतन्त्र र संविधानविरोधी हुनु स्वाभाविक मान्न सकिएला तर पछिल्लोसमय विभिन्न अराजनीतिक र कतिपय सन्दर्भमा अराजक दुर्गा प्रसाईंजस्ताहरूको भिडले लोकतन्त्रको हुर्मत लिने कोसिस गरिरहेको छ। वास्तविकता के हो भने लोकतान्त्रिक व्यवस्थाविरोधी शक्तिहरू हिजोको तुलनामा आज बढेका छन्। संगठित भएका छन्। परिणाम, व्यक्ति होइनन्, व्यवस्था नै अनुपयुक्तजस्ता तर्क मुखर हुन थालेका छन्।

के मुलुकको लोकतन्त्र खतरामा छ? छ भने किन र कसबाट छ र यसलाई कसरी सामना गर्न सकिन्छ? यसबारे सघन र स्वस्थ बहस आजको आवश्यकता हो। तर विडम्बना, यस्तो विमर्शको महसुस सायदै कतैबाट भएको छ। बरु लोकतन्त्रमा मात्र अस्तित्व जनाउने राजनीतिक दलहरू आरोप–प्रत्यारोपमा व्यस्त छन्। एकले अर्कालाई को कति लोकतान्त्रिक भनाउन तत्पर देखिन्छन्। तर, व्यवहारमा आफूलाई लोकतान्त्रिक भन्ने अधिकांश ठुलासाना दलहरू ‘अलोकतान्त्रिक’ छन्। दलहरूको सिद्धान्त र व्यवहार आपसमा पटक्कै मेल खाँदैन। दलभित्रको आन्तरिक लोकतन्त्रको अवस्था त झनै बिजोग छ।

आकारमा ठुला तर सिद्धान्त र नैतिकतामा कमजोर दलहरूको रस्साकस्सीका कारण देशमा सत्तामुखी राजनीतिले प्रधानता पाएको छ। जसरी हुन्छ सत्ता हत्याउने र यसको आडमा शक्ति हासिल गर्ने प्रपञ्च बढ्दो छ। बदलिँदो सत्ता समीकरण र गठबन्धनले राजनीति यति अस्थीर भएको छ कि विकास कछुवा गतिमा छ, कर्मचारीतन्त्रमा मनोबल खस्कँदो छ। जनतालाई राज्य संयन्त्रप्रति नै भरोसा हराएको छ, सरकार हराएको छ। सबैभन्दा ठुलो रोगचाहिँ भ्रष्टतन्त्रले घर गर्न थालेको छ। दलका नेताकार्यकर्ता ‘बिचौलिया’ बनेका छन्, ‘भागशान्ति’मा मग्न छन्। इमान अस्ताएको र बेइमान उदाएको छ। खराब राजनीतिक नेतृत्वबाट कर्मचारी संयन्त्र पनि छाडा र भ्रष्ट भएका छन्। दुःखको कुरा, पैसा नभई कतै केही नहुने कुसंस्कार बसेको छ।

अर्कातर्फ प्राकृतिक स्रोतको दोहन पैसा आर्जन गर्ने नयाँ धन्दा बनेको छ। प्रकृतिविद् तीर्थबहादुर श्रेष्ठका शब्दमा ‘हाम्रो चुरे भत्किँदो छ, महाभारत छियाछिया परेको छ अनि हिमाल नाङ्गिँदो छ।’ दोहन विरुद्ध उत्रनेले जीवन गुमाउनुपरेको छ। नदीखोला उत्खनन गर्दा बनेका खाल्डोमा परेर थुप्रै बालबालिकाले ज्यान गुमाएका छन्। तर, नदी, खोला, वन, पहाड, हिमालसँग जोडिएको जैविक विविधता मास्ने कुकृत्य खुलेआम छ।

यी सारा विसंगतिका लागि पूर्वराजा, पूर्वपञ्च वा ‘स्वतन्त्र’का नाममा मनपरीतन्त्रको राजनीति गरिरहेकाहरू होइनन्, परम्परागत दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी नै जिम्मेवार छन्। राजनीतिक परिवर्तनको सफल नेतृत्व गर्ने तर लोकतान्त्रिक संस्थालाई मजबुत बनाउन चुक्ने दलहरूको अक्षमता दोहोरिँदा त्यसको सिकार लोकतन्त्र नै हुने गरेको छ। अनुभवले सुध्रने पनि दलहरू नै हुन्। दलका नेतृत्वमा रहेको असमझ, अहंकारले समयका पदचाप नचिन्दा आफ्नो सान्दर्भिकता मात्र गुमाइरहेका छैनन्, निराशा र अन्योल पनि बढाइरहेका छन्। विद्रोहका लागि अनुकूल यस्तो घडीमा जनअपेक्षाबाट खरो उत्रन दलहरूले अन्तिम प्रयास नगर्ने हो भने लोकतन्त्र कसैले जोगाउन सक्दैन।

तथ्य के हो भने आजका लोकतान्त्रिक भनिएका दलहरूबाटै लोकतन्त्रलाई खतरा छ। त्यसैले लोकतन्त्र जोगाउनुपर्ने अभिभारा पनि उनीहरूलाई नै छ।

लोकतन्त्र दिवसको शुभकामना!

प्रकाशित: ११ वैशाख २०८१ ०६:२३ मंगलबार

Download Nagarik App
Download Nagarik App