८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

सुरक्षित सडकको सपना

बढ्दो सडक दुर्घटनाका धेरै कारण छन्। सवारीचालकले मादक पदार्थ सेवन गरेर चलाउने, यात्रुले आफ्नो दायित्व पूरा नगर्ने, सडकका दूरवस्था तथा सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता आदि। जे होस्, हाम्रा सडक धेरैका  लागि कालको पर्याय बन्दै आएकोमा दुईमत छैन।

यही परिवेशमा ट्राफिक प्रहरीले नाचगानसहित ट्राफिक सचेतना कार्यक्रम थालेको छ। मंगलबारदेखि थालिएको यस्तोखाले ट्राफिक सप्ताहका क्रममा संगीतमार्फत सर्वसाधारणको ध्यान आकर्षित गरिन्छ। जब मानिस जम्मा हुन्छन् उनीहरूलाई दुर्घटनाबारे आफू बच्ने र अरूलाई पनि बचाउन सकिने उपायबारे सूचित गरिन्छ। नेपाल प्रहरी म्युजिकल स्कुलका कलाकारको यो प्रस्तुतिले धेरैको ध्यान तानेको पनि छ। ट्राफिक सप्ताहलाई नै केन्द्रित गरी सडक किनारामा टाँगिएका चेतनामूलक ब्यानर/बोर्ड आदिले पनि ट्राफिक चेतना बढाउन धेरथोर सहयोग पुर्‍याएको छ।

अर्कोतर्फ यति नै बेला सरकारले राष्ट्रिय सडक सुरक्षा ऐन, २०८१ को मस्यौदा पनि तयार पारेको छ। जसले सडक दुर्घटना हुन नदिने, भइहालेमा क्षति कम गर्ने तथा यस्तो दुर्घटनाबारे चेतना फैलाउने जस्ता पक्षमा जोड दिन्छ। यो ऐनको मस्यौदामा उल्लेख भएअनुसार देशको कुनै पनि भूभागमा सडक दुर्घटना भएमा बढीमा एक घण्टाभित्र उद्धार गरी घाइतेलाई नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्ने हुन्छ। सडक दुर्घटना न्यूनीकरणलाई नै केन्द्रमा राखिएको ऐन नभइरहेका बेला यस्तो ऐनको मस्यौदा तयार हुनु राम्रै मान्नुपर्छ।

धेरैलाई भ्रम छ-सडक सवारी साधनका लागि मात्र हो। उनीहरूले दया गरेर छाडिदिएको ठाउँमा मात्र यात्रु हिँड्ने हो। खासमा सडक सबैका लागि हो। अझ गहिराइमा जाने हो भने सडकमा यात्रुको अग्राधिकार कायम रहन्छ। यही कुरा नबुझ्नु दुर्घटनाका धेरै कारणमध्ये एक हुन पुगेको छ। त्यसैले पनि ट्राफिक सप्ताहले यात्रु र चालक दुवैलाई यो वास्तविकता बोध गराउन सक्नुपर्छ। यसो गर्दा दुवै पक्षले आआफ्नो  काम, कर्तव्य र अधिकार बुझ्नेछन् र पछ्याउन प्रयास गर्नेछन्। जसले सडक दुर्घटनाको आकार खुम्च्याउने आशा गर्न सकिन्छ।

हाम्रा सडकमा यात्रुका लागि बाटो पार गर्न सबै ठाउँमा सहायक मार्ग छैनन्। त्यसैले जेब्राक्रसको सहायता लिनुपर्छ। जेब्राक्रस बाटो पार गर्नका लागि हो। तर सवारीचालकहरूलाई यत्ति ज्ञान पनि भएको पाइँदैन। अर्कोतर्फ यही जेब्राक्रस पनि आवश्यक सबै ठाउँमा छैन। अनि ट्राफिक लाइटसमेत सबैतिर देखिन्न। एकातिर जेब्राक्रस, ट्राफिक लाइट जस्ता ट्राफिक व्यवस्थापनसँग सम्बन्धित चिजबिज नै छैनन् भने अर्कोतिर भएका ठाउँमा पनि सकभर यसलाई कसरी नटेर्ने, छल्ने भन्ने प्रतिस्पर्धा नै चल्छ चालकबीच। अझ विशेषगरी सार्वजनिक यातायातका चालकहरू अर्को बसलाई ओभरटेक गर्न, उसको यात्रु आफू हाल्न तथा आफूलाई ‘सुपर’ देखाउन अनावश्यक होडमा तल्लीन हुन्छन्। जसका कारण पनि दुर्घटना निम्तिइरहेको छ।

ऐनले दुर्घटनाको एक घण्टाभित्रै उद्धारको व्यवस्था राख्नु सकारात्मक कुरा हो तर यस्तो व्यवस्थाभन्दा पनि दुर्घटना नै नहुने परिस्थिति निर्माणमा ध्यान पहिलो प्राथमिकतामा पर्नुपर्छ। दुर्घटना नै भएन भने उद्धारको प्रश्नै आउँदैन। यस्तो अवस्थामा चालक, सडक, नीति, कानुन, मादक पदार्थ, सवारीको उमेर आदि केहीको पनि तनाव लिनुपर्दैन। भनाइको मतलव दुर्घटनापछिको उपकार र उपचारमा भन्दा सडकलाई नै सुरक्षित बनाउन मुख्य ध्यान जानुपर्छ। चाहे त्यो मस्यौदा तयार भएको ऐनमा होस् या मनाउँदै गरिएको ट्राफिक सप्ताहका क्रममा।

सडकका दायाँबायाँ छाडिएका सहायक मार्ग पैदल यात्रुका लागि हुन्। यस्ता सडकमा आँखा नदेख्नेदेखि ज्येष्ठ नागरिक र अशक्तहरूसमेत हुन्छन् भन्ने हेक्का धेरैले राखेको देखिँदैन। सानोतिनो जाम हुँदासाथ यही सहायक मार्गमा साम्राज्य खडा गर्ने मौका हेरेर बसेका मोटरसाइकल चालकदेखि नगर प्रहरीलाई छल्दै यही मार्गमा रजाइँ गरिरहेका सडक व्यापारीसम्मले यात्रुले प्रयोग गर्ने सडकलाई असुरक्षित बनाएका छन्। जबसम्म सानो विषय ठानेर यो पक्षमा ध्यान दिइन्न, तबसम्म दुर्घटनाको तन्किँदो ग्राफलाई चाहेर पनि कसैले रोक्न सक्दैन। 

प्रकाशित: ७ वैशाख २०८१ ०५:१३ शुक्रबार

Download Nagarik App
Download Nagarik App