७ वैशाख २०८१ शुक्रबार
सम्पादकीय

कोही किन अपराधी होस् !

काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित वैराग टोलमा बुधबार राजु घिमिरे भनिने काजी बिकले पत्नी, छोरी र नातिनीको हत्या गरे। त्यसपछि आत्महत्या गरे। केहीअघि इलामको माईजोगमाई–२ टारसिंहका पिताम्बर खतिवडाले पत्नीको हत्या गरी आफैंलाई सिध्याए। अनि केही वर्षअघि बैतडीका एक पुरुषले पत्नी हत्यापछि आत्महत्या गर्दा तिनका तीन सन्तानको बिचल्ली भएको थियो।द्वन्द्वकालमा राज्य र गैरराज्य दुवै पक्षबाट मृत्युको होडबाजी थियो।

माओवादी शान्ति प्रक्रियामा आएसँगै विस्तारै हिंसा–हत्याको त्यो श्रृंखला रोकियो। मानव अधिकारका नजरमा मात्र हैन, आपराधिक गतिविधि नरुचाउनेहरूका नजरमा पनि यो सुखद खबर हो। कुनै एउटा जिन्दगी पनि मारिनु हुँदैन भन्ने मान्यतालाई यसले जोड दिएकै हो। राज्यका सुरक्षा निकायमा पनि मानिसको बाँच्न पाउने अधिकारप्रतिको प्रतिवद्धता बलियो हुँदै गएको छ। अन्तर्राष्ट्रिय दृष्टि पनि यसका निम्ति परेकै छ।

विडम्बना यतिबेला राज्य पक्ष संलग्न हुने हत्या/अपराधका घटना न्यून हुँदै गए पनि गैरराज्य पक्षबाट हुने घटना नघट्नु चिन्ताको विषय हो। पशुले बाली खाइदिएको, हजुरआमाले ज्येष्ठ नागरिक भत्ता नदिएको, प्रेमिकालाई घुरेर हेरेको र आफूलाई आँखा तरेर अपमान गरेको जस्ता निहुँमा समेत आफन्त, साथीभाइ अनि छिमेकको ज्यानै लिनेसमेतका घटना भइरहेका छन्। सामान्य आवेगसमेत थाम्न नसक्ने अवस्थामा हाम्रो समाज किन अगाडि बढ्दै छ ? कानुन हातमा लिएर कसैको जीवन समाप्त पार्दाको बाँकी अन्धकारमय समयको किन ख्याल आइरहेको छैन ?

अझ माथि उल्लेख भएझैँ आफन्त नै आफन्तको हत्या गर्न तम्सिएका घटनाले हाम्रो समाज कता डोरिँदैछ भन्ने संकेत गरेको छ। यसरी हत्या गर्नेहरू बुझेका/पढेलेखेका नै भएका पाइएको छ किनकि यसरी अपराधमा संलग्न भएबापत भोग्नुपर्ने सजाय अर्थात् बोध गर्नुपर्ने पश्चातापका कारण उनीहरू स्वयं पनि आत्महत्याको बाटो रोज्न अग्रसर भएका देखिन्छ। जसले नेपाली समाजमा झांगिदै गएको आपराधिक सोच बुझ्न मद्दत गर्छ।

मानव अधिकारवादी संस्था इन्सेकका अनुसार सन् २०२३ मा ३२३ जनाको हत्या भयो जसमा राज्य पक्षबाट मात्र ६ जना मारिए भने बाँकी ३१७ जना अन्य पक्षबाट मारिए। राज्य पक्षबाट मारिनेमा ६ जना पुरुष थिए भने अन्य पक्षबाट मारिएकामा महिला पुरुषभन्दा ५५ जना बढी थिए। यो तथ्यांकबाट थाहा हुन्छ कि एकातिर राज्य पक्षभन्दा अन्य पक्ष हत्या जस्तो जघन्य अपराधमा बढी संलग्न छ भने अर्कोतिर यसरी मारिनेमा महिला बढी छन्।

सामान्यतया अपराध शक्तिवानले निर्धोमाथि गर्ने गर्छ। राज्यसँग सेना, शक्ति, प्रहरी जस्ता सबै चिज हुन्छन्। संगठित वैध/अवैध समूहसँग पनि शक्ति र सम्पत्ति हुने गर्छ। अर्कोतर्फ जो तुलनात्मकरूपमा शक्ति सम्पन्न छ, व्यक्तिगतरूपमा हेर्दा पनि अपराध गर्न हौसिने उही हुने गर्छ। यसरी हेर्दा जहिले पनि पीडित हुनेमा निर्धो नै पर्छ। माथि उल्लिखित तथ्यांकमा महिला बढी मारिनु यही कारण अस्वभाविक हैन। यो तथ्यांकले भन्न खोजेको अर्को कुरा के पनि हो भने समाजमा अपराध बढोस् वा यसका रूप फेरिउन्, जे गरे पनि त्यसको सबैभन्दा बढी मार पर्नेचाहिँ कमजोर वर्गलाई नै हो।

यस्तो अवस्थामा राज्यले, विशेषगरी सुरक्षा निकायले अपराध न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्छ। अझ त्यसमा पनि बढ्दो र बदलिँदो शैली नियन्त्रणका लागि कदम चाल्न आवश्यक छ। किन मानिस प्राण जत्तिकै प्यारा आफन्तलाई सिध्याउने अभियानतर्फ प्रेरित हुँदै जाँदो छ भन्ने प्रश्न गम्भीर छ। यसको उत्तर खोजिनुपर्छ। त्यति मात्र पनि हैन, ऊ आफैँ पनि सकिन किञ्चित अप्ठेरो नमान्ने कारक के हो भन्ने पनि खोतल्न आवश्यक छ।

जीवनमा जतिसुकै ठूलो समस्या आए पनि त्यसको निराकरण सम्भव छ। त्यतातिर नगई अर्काको जीवन लिनेसम्मका घटनामा उद्यत हुनु आफैंमा विचारणीय पक्ष हो। हाम्रो समाजमा गहिरिँदै गएको आपराधिक सोचबाट निस्किन ध्यान दिन ढिला भइसकेको छ। जबसम्म यस्तो आपराधिक प्रवृत्तिको कारण पत्ता लाग्दैन, तबसम्म उक्त रोगको सही उपचार सम्भव छैन। त्यसैले पछिल्लो समयमा नेपाली समाजमा हुर्कँदै गएको यो आपराधिक सोच र गतिविधिबारे बेलैमा उपचार खोजिनुपर्छ। 

प्रकाशित: १० फाल्गुन २०८० ०६:०५ बिहीबार

Download Nagarik App
Download Nagarik App