७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

छठ पर्वको शुभकामना

नेपाल रीतिरिवाज, पर्व तथा संस्कृतिको कुवेर हो भन्नेमा शंका छैन। भर्खरै सकिएका ठूला पर्व दसैँ र तिहारपछि यतिबेला पूरै देश छठ पर्वको उल्लासमा रमाइरहेको छ। चार दिनसम्म धूमधामले मनाइने यो पर्व विशेषगरी मधेसको मुख्य पर्व हो।जहाँ यतिबेला सूर्यको पूजाआजा गर्ने, आफन्तजनलाई बोलाइ प्रसाद खाने÷खुवाउने, प्रगतिको कामना गर्ने प्रचलन छ।

यो पर्वको आफ्नै पृथक विशेषता छ। जसअनुसार पञ्चमीका दिनदेखि व्रत बसिन्छ। बेलुकी सखर हालेको खिर प्रसादका रूपमा खाइन्छ। छठका दिनचाहिँ साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी अर्घ दिइन्छ। त्यो पनि खोला, सरोवर जस्ता जलाशयमा उभिएर। यसरी अर्घ दिएपछि रातभर जलाशयकै किनारमा जाग्राम बस्ने र भजनमार्फत सूर्य भगवानको अर्चना गरिन्छ। बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विसर्जन हुन्छ।

हामीले मनाउने हरेक पर्व, रीति आदिका आफ्नैखाले महŒव छन्। छठ पर्वको पनि विशेष महŒव छ। यो पर्वमा विशेषगरी सूर्य भगवानको आराधना गरिन्छ। अस्ताउँदा होस् या उदाउँदा, उनकै स्तुति गान गाइन्छ। जसको अर्थ विशाल छ– पहिलो त, सूर्यले आफूले प्रदान गर्ने प्रकाश र ताप सबैलाई समानरूपमा वितरण गर्छन्। अर्थात उनको नजरमा कोही धनी÷गरिब छैन, कोही बलियो÷निर्धो छैन र कोही योग्य÷अयोग्य छैन। त्यसैले सबैलाई समान व्यवहार गर्ने सूर्यलाई पुज्नुको अर्थ उनको यही महानताको कदर त हुँदै हो, मानव समुदायलाई पनि यस्तै व्यवहारका लागि उत्साहित तुल्याउनु पनि हो।

दुनिया स्वार्थी छ। विकासको चुली चुम्दै गर्दा पनि धनाढ्यहरू झन् धनी हुने तर गरिबहरू झन् हरितन्नम हुँदै जाने क्रम जारी छ। यस्तो अवस्थामा सबैले बलेको आगो मात्र ताप्छन्। तर यो पर्व यस्तो हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा÷अर्चना गरिन्छ। यसो गर्नुको अर्थ कसैलाई पनि राम्रो अवस्थामा मात्र वा सम्पन्न भएका बेला मात्र नभएर जुनसुकै अवस्थामा पनि उत्तिकै समान र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ भन्ने हो। यसरी हेर्दा छठ पर्व र यतिबेला पुजिने तौरतरिकाले मानव जातिलाई निकै उपयोगी र व्यावहारिक सन्देश प्रदान गर्छ। यसबाहेक पनि संसारलाई उज्यालो प्रदान गर्ने, सृष्टि सम्भव तुल्याउने तथा समानताको जननी सूर्य भगवानप्रति अगाध आस्था प्रकट गर्ने यो पर्व वास्तवमै अनुकरणीय छ।

कुनैबेला छठ मधेसमा मात्र मनाइन्थ्यो। अन्य क्षेत्रका बासिन्दाले त यो पर्वबारे सुनेका पनि थिएनन्। अहिले समय फेरिएको छ। यो पर्व नमाइने कुनै ठाउँ छ्रैन। मात्र आकार सानो÷ठूलो होला। विशेषगरी काठमाडौँका रानीपोखरी, वाग्मती, मनोहरा, विष्णुमती जस्ता नदीमा देखिने भक्तजनको भीडले छठ राष्ट्रियकरण भएको पुष्टि गर्छन्। यसरी हेर्दा यो पर्व राष्ट्रिय एकताको मूल आधारसमेत बन्न पुगेको छ। काठमाडौँलगायत ठूला सहरमा बस्ने मधेसका बासिन्दा छठमा मूल थलो फर्कने क्रमसमेत बिस्तार न्यून हुँदै आएको छ। यसको कारण पनि छठको फैलावट र स्वीकारोक्ति दुवै हो। जुन सिंगै मुलुकका लागि गर्वको विषय हो।

यो पर्वप्रति मानिस कति विश्वस्त छन् भन्ने थाहा पाउन उनीहरूले गर्ने भाकल नै काफी छ। सन्तान प्राप्ति होस् या कुनै पनि रोग निको पार्न, पति होस् वा घर÷परिवारका अन्य सदस्यको दीर्घायुको कामना गर्न छठ पूजाको सहारा लिनेहरू दिनानुदिन बढ्दो छन्। जसले छठ पर्वप्रति आकर्षण झन् बढाएको छ। शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो जसले स्वास्थ्यलाई फाइदा पु¥याउन सघाइरहेको हुन्छ। त्यसैले हाम्रा पर्व, चाड, रीति आदिलाई धूमधामसँग मनाउने त छँदैछ साथै यसका नाममा निम्त्याइने छिटफुट विकृतिलाई छिमोल्दै यस्ता पर्वलाई सामाजिक सद्भाव कायम गराउने अवसरका रूपमा वृद्धि गर्दै लानुपर्छ। छठ पर्वको उपलक्ष्यमा सम्पूर्णलाई शुभकामना  

प्रकाशित: ४ मंसिर २०८० ००:४० सोमबार

Download Nagarik App
Download Nagarik App