१२ आश्विन २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

पठन संस्कृतिमा परिस्कार

हामीले भर्खरै १६औँ पुस्तकालय दिवस मनायौँ। विभिन्न ठाउँमा बसेर लेख्ने र पढ्नेहरू छलफल गरे। सुन्ने र सुनाउनेले पुस्तकलाई ज्ञानसँग जोडे र नपढी बुद्धि विवेकको विकास नहुने धारणा राखे। कहीँ पुस्तकालय परिसरमै यस्ता छलफल/बहस भए भने कहीँचाहिँ पुस्तकालयको सपना साँच्दै त्यही सपनालाई साक्षी राखेर गन्थन/मन्थन भए। जे होस्, वर्षमा एकदिन भए पनि पुस्तकलाई केन्द्रमा राखेर छलफल हुनु सकारात्मक मान्नुपर्छ।

नेपालको कुरा गर्दा मल्लकालदेखि नै पुस्तकालयप्रति अभिरुचि देखिन्छ। खासमा पुस्तक संग्रह गरिने ठाउँ पुस्तकालय हो तर पुस्तकालय नै नभने पनि त्यसपछिका विभिन्न कालखण्डमा पनि पुस्तकालयको संख्या कुनै न कुनै रूपमा बढेको भने देखिन्छ, भलै त्यो आवश्यक मात्रामा किन नहोस्। यतिखेर संघीय राजधानीदेखि देहातका गाउँसम्म पुस्तकालय खोलिएका छन्। यो संख्या र यसको प्रयोग पर्याप्त भए/नभएकोबारे बहस गर्न सकिने ठाउँ छ।

पुस्तकले ज्ञान दिन्छ। पुस्तकले खेर जाने समयलाई सदुपयोग गर्न मद्दत गर्छ। यसले लेखनशैली र सिप तिखार्न मद्दत गर्छ। यसले भाषाको शब्द भण्डार वृद्धि गराइ व्याकरणगतरूपमा समेत शुद्ध लेख्न सिकाउँछ। हाम्रा इतिहास, संस्कृति, संस्कार, नैतिक मूल्य/मान्यता आदिको महत्व दर्शाइ त्यसलाई अनुशरण गर्न प्रेरित गर्छ। त्यसैले पुस्तक ज्ञानको खानी हो। यस्ता खानीहरू संग्रहित हुने ठाउँ पुस्तकालय ज्ञानको महासागर हो भन्नेमा द्विविधा नै छैन।

पछिल्लोपटक मोबाइल फोनको बढ्दो प्रयोगसँग पठन संस्कृति धरापमा पर्न थालेको छ। मानिस सुत्ने समयबाहेक प्रायः यसैमा झुण्डिरहँदा पुस्तकालय जाने र पुस्तक पढ्ने फुर्सद कसैलाई छैन। मोबाइलप्रतिको नसाका कारण अरू धेरै पक्षमा जस्तै पठन संस्कृति अवरुद्ध हुन पुगेको छ। मोबाइलको चकाचौधभित्र शब्द संसारमा विचरण गर्न मानिसले बिर्सन थालेको अवस्था छ। नयाँ प्रविधिसँग पनि साक्षात्कार हुँदै जानुपर्छ तर कुनै पनि विषयमा लत लाग्नु आफैँमा सकारात्मकता हैन भने यसको असर ज्ञान आर्जनमा पर्नु त झनै खराब कुरा हो।

ठीकै छ, मानिससँग पुस्तकालयसम्म धाउने र त्यहाँ बसेर पाना पल्टाइ पल्टाइ पुस्तक पढ्ने समय छैन अर्थात आदतसमेत छैन। यस्तो अवस्थाको पनि उपाय छ–डिजिटल लाइब्रेरीको प्रयोग। विज्ञान र प्रविधिले अन्य क्षेत्रमा प्रगति गरे जस्तै पुस्तकालयको क्षेत्रमा पनि फड्को मारेको छ। त्यसैले डिजिटल माध्यममा रमाउनेहरूका लागि पनि यसैमा पाइने इ–लाइब्रेरीहरू उपयुक्त हुन सक्छन्। मुख्य कुरा पुस्तकप्रति सम्मान गर्ने प्रवृत्तिमा ह्रास आउनुभएन भन्ने हो। ज्ञान आर्जनको प्राथमिकता पुछारतिर धकेलिनुभएन भन्ने हो। आजको पुस्ताले यही पक्षमा कम ध्यान दिएको देखिएको छ जसका कारण ज्ञान र अझ त्यसमा पनि व्यावहारिक ज्ञानको खडेरी देखिन थालेको छ।

मोबाइल, सामाजिक सञ्जाल, अन्य डिजिटल माध्यममा भुलेर पुस्तकालय र पुस्तक बिर्सिने क्रम बढ्दै गएकोप्रति सबै क्षेत्र चिन्तित हुनु जरुरी छ। विशेषगरी स्थानीय सरकारहरूले आफ्नो गाउँठाउँमा विकासका लागि योजना तर्जुमा तथा बजेट विनियोजन गर्दा भौतिक पूर्वाधार, बाटो, भ्यु टावर आदिलाई मात्र प्राथमिकतामा नराखी पठन संस्कृतिका लागि पनि ध्यान दिनु आवश्यक छ। पढ्ने बानी भएन भने ज्ञान आर्जनको प्रक्रिया अवरुद्ध हुन्छ। जोसँग ज्ञानै छैन उसले केमा सफलता हासिल गर्ला ? सोचनीय विषय छ।

सहर/बजारमा भएको पुस्तकालयलाई डिजिटल लाइब्रेरीमा परिणत गर्दै जाने, देहातमा नभएका ठाउँमा पुस्तकालय स्थापना गर्ने, भएका तर दयनीय अवस्थाकालाई स्तरीय बनाउने तथा ठीकै चलिरहेकालाई थप प्रभावकारी बनाउन सरकारी तवरबाटै योजना र बजेट विनियोजन हुनुपर्छ। यसो भएमा मात्र पुस्तकालय दिवस कर्मकाण्डमा मात्र सीमित हुँदैन। 

प्रकाशित: १७ भाद्र २०८० ००:३० आइतबार

Download Nagarik App
Download Nagarik App