१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

कागबेनीको चेतावनी

हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका ४ मा गत साउन २८ आइतबार राति आएको बाढी र यसले गरेको ठूलो क्षतिले सबैको ध्यान तानेको छ। धार्मिक तथा पर्यटकीय महत्वको कागबेनी, सामान्य खोलामा आएको बाढीले बगर बनेको छ। कैयन् घर नष्ट भएका छन्। समयमै माथिल्लो भेगका बासिन्दाले खबर गरेका कारण मानविय क्षति नभए पनि पनि करोडौँको आर्थिक क्षति भएको छ। आर्थिक मात्र होइन, यसले गैरआर्थिक क्षति पनि गरेको छ। वर्षौँदेखि बाँचेको थातथलोबाट स्थानीय विस्थापित भएका छन्। धर्मशाला र मन्दिरसमेत बाढीले बगाएको छ।

मुक्तिनाथ क्षेत्रबाट बगेर आउने कागखोलामा यति धेरै स्तरको बाढी आउने र गाउँ बगर बन्न सक्ने अनुमान कसैले गरेका थिएनन्। स्थानीयबासीका लागि पनि यो असामान्य घटना थियो। तर, पछिल्ला केही वर्षमा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा ठूलो स्तरमा वर्षा र बाढीका घटना बढेका छन्। वर्षा छाया क्षेत्र (रेनस्याडो एरिया) मानिने यहाँ सरदर भन्दा धेरै वर्षा हुन थालेको छ र यसअघि असामान्य मानिएको घटना सामान्य हुन् थालेका छन्। आइतबार कागखोलाको माथिल्लो तटीय क्षेत्रमा पहिरोले खोला थुनिएर पानी जम्मा भई ताल बनेको र यो फुट्दा एक्कासि गेग्रान बहाव भई लेदोसहितको बाढीले यो नोक्सान गरेको सरकारी तर्क छ।

जलवायुजन्य हानि तथा नोक्सानीसम्बन्धी राष्ट्रिय ढाँचा–२०२१’ले नेपालमा जलवायु परिवर्तनजन्य जोखिमलाई आत्मसात गरेर क्लाइमेट स्मार्ट विकास र जलवायु उत्थानशीलतालाई महŒव दिएको छ। तर, यो नीतिगत व्यवस्थाको कार्यान्वयन अत्यन्त कमजोर छ। 

कागबेनीसँगै किन यस्ता घटना बढ्न थाले भन्ने विषयमा कारण खोजी हुन थाल्नु स्वाभाविक हो। विज्ञबीच विषयमा मतैक्य नरहे पनि अधिकांशले यो जलवायु परिवर्तनका कारण सिर्जित घटना हुन सक्ने बताएका छन्। दुई वर्षअघि मुस्ताङको छिमेकी जिल्ला मनाङमा आएको भीषण वर्षा र बाढीले ठूलो क्षति गरेको थियो। यस्ता विषम मौसमी घटनाको निरन्तरतामा जलवायु संकट कारक रहेको विज्ञ मान्छन्। बाढी आउनुअघि त्यो क्षेत्रमा सरदर भन्दा बढी २५ मिलिमिटर पानी परेको थियो। घना वर्षालाई मुस्ताङको फुसफुसे माटोले थेग्न नसक्ने र पानी पर्दा यो बगेर जाने र यसले प्रवाह गर्ने गेग्रानले तल्लो तटमा अधिक क्षति गर्ने विज्ञको ठहर छ।

विश्व तापमान बढ्दै जाँदा यसले पृथ्वीको प्राकृतिक प्रणालीलाई बिथोलेको छ। भीषण वर्षा, खडेरी, जंगली आगो, पहिरो तथा डुवानका घटना बढ्दो क्रममा छन्। विज्ञले वायुमण्डलमा तातोपना बढ्दा यसले मनसुनी हावालाई हिमालपारिसम्म धकेल्दा यसप्रकारको अतिवृष्टि हुने तर्क गरेका छन्। औद्योगिक क्रान्तिअघिको तुलनामा पृथ्वीको तापक्रम १.२ डिग्रीले बढिसकेको छ। यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा झन् बढी परेको छ। हिमनदीमा हिउ ह्वात्तै घटेको छ, हिमताल बिष्फोटको खतरमा छन्। यसले आगामी दिनमा बाढी, पहिरो र डुबानका घटना झन् बढ्ने प्रष्ट छ।

नेपाल सरकारले जारी गरेको ‘जलवायुजन्य हानि तथा नोक्सानीसम्बन्धी राष्ट्रिय ढाँचा–२०२१’ ले नेपालमा जलवायु परिवर्तनजन्य जोखिमलाई आत्मसात गरेर क्लाइमेट स्मार्ट विकास र जलवायु उत्थानशीलतालाई महत्व दिएको छ। तर, यो नीतिगत व्यवस्थाको कार्यान्वयन अत्यन्त कमजोर छ। यो विषयमा तीनै तहका सरकार तथा नागरिक समाज सचेत र सजग हुन नसक्दा कागबेनी जस्ता घटनाको पुनरावृत्ति हुने देखिन्छ। त्यसैले भविष्यमा आउने यस्ता संकट सम्बोधन गर्न, संकट पर्दाको अवस्थामा प्रभावकारी अनुकूलन र प्रतिकार्य क्षमताको विकासमा कुनै कसर बाँकी राख्नु हँुदैन। यसो गरेमा मात्र विपद्ले गर्ने भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिन्छ।

प्रकाशित: ३२ श्रावण २०८० ००:२३ बिहीबार

Download Nagarik App
Download Nagarik App