नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को सफलता दिलाएको छ। नेपाली क्रिकेट टोलीले बिहीबार घरेलु मैदानमा अविश्वसनीय नतिजा निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनायो। पछिल्लो दुई सातायता नेपाली क्रिकेटले दिएको दोस्रो खुसी हो यो। गत फागुन २० गते नेपाली युवा टोलीले आइसिसी यु–१९ विश्वकपमा स्थान बनाएको थियो। त्यसको १४ दिनपछि नै सिनियर राष्ट्रिय टोलीले पनि अर्को खुसी खेलप्रेमीलाई दिए। घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) माथि सात रनको रोमाञ्चक जितसहित नेपाल आठ वर्षपछि यु–१९ विश्व कपमा पुगेको छ।
संयोग नै मान्नुपर्छ नेपाली क्रिकेटका दुवै सफलतामा पराजित टोली युएइ नै रह्यो। सिनियर टोलीले पनि युएइलाई हराउँदै विश्वकप छनोटमा स्थान बनाए। दुवै नतिजा अविश्वसनीय रह्यो। दुवैले हारको संघारमा पुगेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै सफलता दिलाए। ३११ को विशाल लक्ष्य पछ्याएको नेपाल ३७/३ को नाजुक अवस्थामा रहँदा जित कठिन थियो। यद्यपि, नेपाली खेलाडीले धैर्य गरे र इनिङको अन्त्यसम्म खेल्दा नाटकीय जित प्राप्त भयो। ४४ ओभरमा नेपाल २६९/६ को अवस्थामा रहँदा खराब प्रकाशका कारण बाँकी खेल सम्भव भएन। घरेलु टोली डिएल मेथडका आधारमा विजेता घोषित भयो। यो नतिजासँगै विश्व कप लिग–२ को तेस्रो स्थानमा रहँदै नेपालले सोझै विश्व कप छनोटमा स्थान बनायो।
आइसिसीको पहिलो संस्करणको विश्व कप लिग–२ करिब साढे तीन वर्ष चल्यो। यसबीचमा नेपाली क्रिकेटमा उतारचढाव रहे। अन्ततः नतिजा सुखद आयो। एक समय नेपाल २४ खेलबाट १८ अंकसहित सात राष्ट्र सम्मिलित लिग–२ को छैटौँ स्थानमा थियो। यस्तो अवस्थामा एकदिवसीय मान्यतासँगै सोझै विश्व कप छनोट खेल्ने सम्भावना संकटमा पुग्यो। यद्यपि, पछिल्लो एक महिना नेपाली क्रिकेटको सफलता अद्भूत रह्यो। जहाँ नेपालले मोन्टी देशाईको प्रशिक्षणमा पछिल्ला १२ खेलबाट ११ जित निकाल्यो र तब सम्भव भयो जिम्बाब्वेमा हुने विश्व कप छनोट यात्रा। लिग–२ मा स्कटल्यान्ड, ओमान र नेपाल शीर्ष तीनमा रहँदै विश्व कप छनोटका लागि छनोट भए।
नेपालले अब जुन १८ देखि जिम्बाब्वेमा सुरु हुने १० राष्ट्र सम्मिलित विश्व कप छनोट खेल्नेछ। त्यहाँ नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउँछ। यो छनोटमा नेपालले टेस्ट राष्ट्रका साथै विश्व क्रिकेटका बलिया र अनुभवी टोलीसँग प्रतिस्पर्धा गर्नेछ। जुन नेपाली टोलीका लागि ठूलो अवसर हो। यद्यपि, सधैँ हामी सिक्नका लागि मात्र जाने होइन। आफूले पनि सोहीअनुरूप तयारी गर्नुपर्नेछ। यो अवसरलाई सदुपयोग गर्दै विश्व क्रिकेटमा आफूलाई थप स्थापित गर्ने माध्यमका रूपमा यसलाई लिनुपर्छ।
नेपाली क्रिकेटको सफलतामा सारा नेपाली रमाएका छन्। खेलाडीको मेहनत र समर्थकको खुसीलाई राज्यले पनि समयमै बुझ्नुपर्छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा बिहीबार ९ः३० बजेदेखि खेल सुरु हुने तालिका थियो। तर, खेल सुरु हुनु भन्दा करिब डेढ घन्टाअगाडि बल्खु चोकमा समर्थकको घुइँचो थेगिसक्नु थिएन। नेपाली खेलकुदले विरलै देख्न पाउने दर्शक त्यो खेलमा आए। टियु क्रिकेट मैदानमा आवश्यक संरचना छैन। त्यहाँ दर्शकको क्षमता मुस्किलले ११ हजार हाराहारीको हो।
क्षमताभन्दा दुई गुणा समर्थक नेपाललाई समर्थन गर्न पुगेपछि सुरक्षा बललाई पनि समाल्न कठिन भयो। तार र सानो पर्खाल नाघेर नै केही समर्थक भित्र प्रवेश गरे। जसको कारण टिकट काटेका दर्शक पनि प्रवेश गर्न पाएनन्। कतै एउटा रुखमा चढेर १०/१५ जनासम्मले नेपालको झन्डासहित जोखिमपूर्णतवरबाट नेपाललाई समर्थन गरेको दृश्य पनि देखियो। जितपछि नेपालका प्रशिक्षक मोन्टीले एसोसिएट क्रिकेटमा नेपालको जस्तो समर्थक कहीँ नदेखेको भन्दै प्रशंसा गरे। उनी मात्र होइन, विश्व क्रिकेटको अन्तर्राष्ट्रिय संस्था आइसिसीले पनि नेपाली समर्थकलाई लिएर प्रशंसा गरिरहेको छ।
नेपाली खेलाडीको सफलतामा राज्यका विभिन्न निकायबाट बधाई र प्रशंसाको ओइरो आए। केन्द्र र प्रदेश सरकारबीच पुरस्कार घोषणा गर्ने होडबाजी नै चलेको छ। पुरस्कार दिनु नराम्रो होइन तर नेपाली क्रिकेट र खेलाडीलाई पुरस्कार भन्दा पनि खेलमा टिकिरहने माध्यम अहिलेको आवश्यकता हो। सरकारले प्रत्येक टोलीलाई तीन लाख दिने घोषणा गर्दा वाग्मती प्रदेश सरकारले पनि एक लाख दिने बताएको छ। घोषणा गर्ने तर २÷३ वर्षसम्म पनि खेलाडीलाई घोषित पुरस्कार नदिने परिपाटी पनि छ। यसले खेलाडीलाई झन् निरुत्साहित गर्ने काम गर्छ।
बिहीबार खेलाडीलाई प्रोत्साहन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सफलतापछि शुक्रबार बिहानै बधाई कार्यक्रम राखे। राष्ट्रपति रामचन्द्र पौडेलले पनि खेलाडीको सफलतालाई प्रशंसा गरे । यसरी खेलाडीको सफलतामा क्षणिक उत्साह प्रदान गर्नु भन्दा पनि उनीहरूका लागि राज्यले स्वतन्त्रपूर्वक खेल्ने वातावरण सिर्जना गर्नु नेपाली खेलकुदका लागि अर्थपूर्ण रहनेछ। एउटा गतिलो स्टेडियम नहुनु, सीमित सेवा/सुविधा र खेलभित्र राजनीतिक स्वार्थपूर्ण वातावरणका बीच पनि खेलाडीले जुन सफलता दिलाए, त्यो प्रशंसनीय छ। त्यो सफलताप्रति मुक्त कण्ठले प्रशंसा गरेर मात्र पुग्दैन। क्रिकेट र फुटबल नेपाली खेलकुदका लोकप्रिय खेल हुन्। यसको सफलतामा देशभर चर्चा हुने गर्छन्। त्यस कारण पनि राज्यका विभिन्न निकायले त्यो चर्चामा आफूलाई सँगै उभ्याउने प्रयास गरिरहन्छन्।
खेलकुद विकासमा भने कसैको ध्यान पुगेको देखिँदैन। वर्षौँसम्म पनि खेल संरचना बजेट अभावमा अलपत्रै पर्छन्। त्यो मात्र होइन, बजेट अभावकै कारण नियमित हुनुपर्ने प्रतियोगिता र अन्तर्राष्ट्रिय सहभागी पनि प्रभावित हुने गरेका छन्। राज्य र अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा थोरै भए पनि तलब र सेवा/सुविधा पाउने खेलाडी फुटबल र क्रिकेटका नै हुन्। अन्य खेलका खेलाडीले त त्यो पनि पाउने अवस्था छैन। विदेशमा प्रतिस्पर्धा गर्न जाँदासम्म पनि राष्ट्रिय टोलीका खेलाडीले आफ्नै लगानीमा जानुपर्ने तितो यथार्थ छ। यो अवस्थालाई राज्यले हटाउन पहल गर्नुपर्छ। तब मात्र समग्र खेलकुदलाई विश्वमाझ स्थापित गर्न सकिन्छ। समग्र खेलबाट हामीले गौरव गर्न पाउनेछौँ।
प्रकाशित: ५ चैत्र २०७९ ०६:०६ आइतबार