२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

महिला उद्यमी संघ गण्डकी गठन, अध्यक्षमा रेग्मी

महिला उद्यमशीलता बढाउन निरन्तर लागिपरेका छौंः ज्ञवाली

महिला उद्यमी संघ नेपालले गण्डकी प्रदेश शाखा गठन गरेको छ। गण्डकी प्रदेशका महिला उद्यमीको सोमबार पोखरामा भएको भेलाले पार्वती पौडेल रेग्मीको अध्यक्षतामा महिला उद्यमी संघ गण्डकी गठन गरेको हो।

संघको उपाध्यक्षमा निर्मला मल्ल, सचिवमा रिता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने (पुनम) सर्वसम्मत चयन भएका छन्। त्यस्तै, सदस्यमा शारदा बराल (सरु), चन्द्रकला राना, भीमा कोईराला, सुकुन रसाईली विक र विनिता अधिकारी चयन भएको नवनिर्वाचित अध्यक्ष पार्वती पौडेल रेग्मीले जानकारी दिईन्।

महिला उद्यमीको भेलालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिला उद्यमशिलता विकासका लागि महिला उद्यमी महासंघसँग मिलेर काम गर्ने वचन दिए। ‘गण्डकी सरकारले एक हिसाबले महिला उद्यमशिलता विकासका लागि काम गरिरहेकै छ,’ उनले भने, ‘तर यसका लागि विशेष रुपमा नीजि क्षेत्रले नै गर्नुपर्छ।’  

उनले गण्डकी प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहित हुने खालको नीति लिएको स्पष्ट पारे। ‘नीति बनाईदिने र उद्यमशिलता विकासका लागि सहजीकरण गर्नुपर्ने काम सरकार हो । त्यो गरिरहेकै छौं’ उनले भने। मुख्यमन्त्री पाण्डेले महिला उद्यमीलाई प्राथमिकता दिएर प्रोत्साहित हुने गरी कार्यक्रमहरु आयोजना गर्दै आएको पनि उल्लेख गरे।  

महिला उद्यमीहरुको चाहना र आग्रह अनुसार नै कोसेली घर सञ्चालन ल्याएको बताउँदै उनले भने, ‘सरकारको तर्फबाट गर्न सकिने र गर्नुपर्ने नीति, नियम बनाउनेदेखि सहकार्यमा गर्ने कार्यक्रमका लागि आगामी दिनमा पनि निरन्तरता दिनेछौं।’ उनले गण्डकी प्रदेश आएका पर्यटकले कोसेलीका रुपमा गण्डकी प्रदेशकै उत्पादन लिएर जाने वातावरण बनाएको बताए।

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमी महासंघले महिला उद्यमशिलता विकाससँगै महिलाको क्षमता अभिवृद्दि, सीप विकास तालिम आयोजनादेखि उत्पादित वस्तुको बजारीकरणसम्म काम गर्दै आएको बताईन्। वर्षमा एकपटक अन्तर्राष्ट्रिय महिला उद्योग व्यापार मेला आयोजना गरेर महिला उद्यमीहरुले उत्पादन गरेको वस्तुको बजारीकरणमा सघाउने गरेको उल्लेख गर्दै उनले भनिन्,‘जहाँ नेपाली महिला उद्यमीसँगै विदेशी महिला उद्यमी पनि आफुले उत्पादन गरेका वस्तु लिएर आउँछन्।’  

सो मेलामा महिला उद्यमीले उत्पादन गरेका वस्तुहरुको प्रदर्शनी गर्नुका साथै उत्पादित वस्तुको गुणस्तरबारे बुझ्न र अनुभव लिन पाउने प्लेटफर्म बनेको उनले बताईन। मेला नेटवर्किङ बनाउन पनि सहयोगी बनेको उनको भनाई छ। ‘मेलालाई सामान किन्ने र बेच्ने थलो मात्रै बनाउँदैनौं,’ उनले भनिन्, ‘महिला उद्यमशिलतामा देखिएका चुनौति, बजारमा के कस्ता वस्तुहरुको डिमाण्ड छ? उत्पादनलाई कसरी सस्तो र गुणस्तरीय बनाउने? भन्नेबारेमा बहस र छलफल गर्छौं।’ साथै वित्तीय क्षेत्रमा कसरी पहुँच पुर्याउने, बैंक ब्याजको व्यवस्थापन, जलवायु परिवर्तनले महिला उद्यमीहरुलाई पारेको असर, यसले ल्याएको चुनौतिबारे छलफल गरेर एउटा निकास दिने प्रयास हुने गरेको उनले जानकारी दिईन्।

अध्यक्ष ज्ञवालीले पछिल्लो दुई वर्षदेखि मेलामा विदेशी कुटनीतिज्ञलाई बोलाएर नेपालका विभिन्न जातजातिहरुको भेषभुषा लगाईदिने गरेको बताईन्। यसले उनीहरुमार्फत अन्तर्राष्ट्रिय जगतमा नेपाली सांस्कृतिक भेषभुषाको प्रचार भएको उनको भनाई थियो। कार्यक्रममा अध्यक्ष ज्ञवालीले प्रदेश सरकार तथा जिल्लास्थित कार्यालयहरुले महिला उद्यमी महासंघसँग सहकार्य नगरेको प्रति असन्तुष्टि जनाईन्।

‘राष्ट्रिय रुपमा सरकारले निजी क्षेत्रको पोलिसी बनाउँदा होस् वा महिला उद्यमशिलताको विकासका कार्यमा बोलाएर छलफल गर्नेगरेको छ,’ उनले भनिन्, ‘तर प्रदेश, जिल्ला र पालिकामा त्यसरी बोलाएर छलफल गरेको पाईंदैन, अबदेखि त्यतातिर पनि ध्यान दिनुहोला।’

नवनिर्वाचित अध्यक्ष पार्वती पौडेल रेग्मीले महिला उद्यमशिलता विकासका लागि बलबुताले भ्याएसम्म काम गर्ने प्रतिबद्दता जनाईन्। उनले भनिन्,‘म महिला उद्यमशिलता विकासका लागि गण्डकी प्रदेशका सबै जिल्ला, पालिका, वडा र टोलसम्म पुग्ने वाचा गर्छु।’

प्रकाशित: २ भाद्र २०८२ १७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App