कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाली लगाउने मुख्य याममा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारले हरसम्भव प्रयास गरिरहेको बताएकी छन्।
मन्त्रालयको नेतृत्व सम्हालेको १०० कार्यदिन पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले रासायनिक मलको आपूर्ति, वितरण प्रणाली तथा देशभरबाट प्राप्त किसानका गुनासाको प्रत्यक्ष निगरानी भइरहेको जानकारी दिएकी हुन्। उनले मलको कृत्रिम अभाव, कालोबजारी र बिचौलियाको चलखेल रोक्न छड्के अनुगमन र ‘स्टिङ अपरेसन’ सञ्चालन गरिएको बताउँदै किसानका समस्या तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उल्लेख गरिन्।
यो पनि पढ्नुहोस्
मल अभावले सर्लाहीका खेत बाँझै, भारतबाट मल ल्याउँदा दुई नेपाली पक्राउ
मन्त्री चौधरीका अनुसार चालु आर्थिक वर्षको चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ५३ हजार ७१६ मेट्रिकटन तथा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ३५ हजार ४७८ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री–वितरण गरिएको छ। साथै दुवै संस्थामार्फत तीन लाख ५० हजार मेट्रिकटन मल खरिदका लागि बोलपत्र आह्वान गरिएको र आगामी साउनभित्र थप दुई लाख १० हजार मेट्रिकटन मल आयात गरी किसानलाई उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनले बताइन्।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले उखु किसानको भुक्तानी, वन व्यवस्थापन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा बाघ सर्वेक्षणलगायत क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको जानकारी दिए। उनका अनुसार उखु किसानले पाउनुपर्ने रकममध्ये करिब ९२ प्रतिशत भुक्तानी भइसकेको छ भने सरकारी अनुदानबापतको रकम पनि किसानको खातामा पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
मन्त्रालयले वन संरक्षण, वन्यजन्तु व्यवस्थापन तथा कृषि क्षेत्रको सेवा प्रवाहलाई आगामी दिनमा थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
प्रकाशित: २५ असार २०८३ २०:०२ बिहीबार




