उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा शनिबार भएको मतदातामा उत्साह देखिएन् । कुल मतदाता दुई हजार ३१९ मध्ये एक हजार ५४३ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा दुईवटा प्यानल बनाएर उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो । उम्मेदवारहरुले कम्तीमा एक हजार नौं सय हाराहारी मत खस्ने अनुमान गरे पनि मतदान अपेक्षाभन्दा कम भएपछि यसको प्रभाव निर्वाचन परिणाममा समेत पर्ने देखिएको छ । ‘७७६ जना मतदाता मतदान गर्नै नआउनुमा एकातिर असार महिनाको व्यस्त समय, व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाको ब्याज बुझाउनुपर्ने दबाब र असार मसान्तको हिसाब–किताब मिलाउने (क्लोजिङ) चटारो नै हो,’ पूर्व अध्यक्ष भीम पौडेलले भने । शनिबार गर्मी भएका कारण पनि केही मतदाता मतदान गर्न नगएको अनुमान गरिएको छ ।
‘यतिधेरै मतदाता नआउनु चाँहि अचम्भलाग्दो भो,’ वर्तमान अध्यक्ष जीवन पराजुलीले भने, ‘व्यवसायीले मतदान गर्न चाँसो नै नदिएको पाइयो ।’ यसरी मतदाता मतदानमै कम सहभागी हुँदा भविष्यमा उद्योगी व्यवसायीमाँझ उद्योग वाणिज्य संघको औचित्यमाथि नै प्रश्न उठ्ने खतरा रहन सक्छ ।
तीन वर्षे नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले र गायत्री कट्वाल भण्डारी समूह प्यानल बनाएर प्रतिष्पर्धा गरेका हुन् । शनिबार सकिएको निर्वाचनको मतगणना भने आइतबार बिहान ९ बजेदेखि हुनेछ । इटहरी वडा नं. ५ ज्योती माध्यमिक विद्यालयमा निर्वाचन भएकोमा मतगणना भने इटहरी वडा नं. ४ मा रहेको उद्योग वाणिज्य संघकै कार्यालयमा हुने मुख्य निर्वाचन अधिकृत टंक दुलालले बताए । उनका अनुसार मतपेटिका उद्योग वाणिज्य संघको कार्यालयमा लगेर राखि सकिएको छ । त्यसलाई प्रहरीले निगरानी गर्नेछ । ।
प्रकाशित: २७ असार २०८३ २०:५३ शनिबार





