१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

सिजनमै आकाशियो तरकारीको भाउ, उपभोक्ता मारमा

सांकेतिक तस्बिर।

नेपालमा सामान्यतया हिउँदको सुरुवातसँगै तरकारीको उत्पादन बढ्ने र मूल्य घट्ने अपेक्षा गरिन्छ।

तर, यस वर्ष सिजन सुरु भइसक्दा पनि बजारमा तरकारीको मूल्यले आकाश छोएको छ। आम उपभोक्ता चर्को मूल्यवृद्धिको मारमा परेका छन्।

उत्पादनको मुख्य सिजनमै तरकारीको भाउ अस्वाभाविक रूपमा बढेपछि उपभोक्ताको भान्सा महँगिएको छ भने दैनिक गुजारा चलाउन थप सकस भएको छ।

बजारको यो अवस्थाले उपभोक्तामा निराशा छाएको छ। शनिबार बिहान काठमाडौंको तिनकुनेस्थित तरकारी बजारमा भेटिएका नयाँ बानेश्वर निवासी यज्ञराज जोशीले मूल्यवृद्धिको प्रत्यक्ष अनुभव सुनाए।

खुद्रा पसलभन्दा केही सस्तो पाइने आशामा मन्डी पुगेका उनी त्यहाँको मूल्य सुनेर खिन्न भए। ‘अहिले त तरकारीको सिजन हो नि ? सिजनमा पनि यति महँगोमा किन्नुपरेको छ। अब त तरकारी किनेर खानै नसकिने भयो,’ उनले गुनासो गरे।

पसलेले सबैतिर मूल्य उस्तै रहेको बताएपछि जोशीले थोरै मात्रामा मात्र तरकारी किन्न बाध्य भए। ‘सस्तो भए दुई-चार दिनलाई पुग्ने गरी लैजाउँला भनेर आएको थिएँ, तर यहाँ पनि उस्तै रहेछ। नखाई पनि हुँदैन, त्यसैले आधा-आधा किलो मात्र लौका, परवल र भान्टा लिएर फर्किएँ,’ उनले आफ्नो विवशता पोखे।

यो केवल जोशीको अनुभव मात्र होइन, राजधानीका हजारौं उपभोक्ताको दैनिक संघर्ष यस्तै यस्तै छ।

उपभोक्ताको अनुभवलाई कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आधिकारिक तथ्यांकले पनि पुष्टि गर्दछ। समितिले शनिबारका लागि सार्वजनिक गरेको कृषि उपजको न्यूनतम थोक मूल्यसूचीले अधिकांश तरकारीको मूल्य उच्च रहेको देखाउँछ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकमा दैनिक तरकारीको मूल्य बढेको उल्लेख छ।

यस्तो छ प्रमुख तरकारीको थोक मूल्य (प्रति किलोग्राम)

समितिले शनिबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य लेखिएको सूची राखेको छ। जस अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, आलु रातो प्रतिकिलो ५८, आलु रातो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ छ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो १००, लोकल बन्दा प्रतिकिलो ५०, काउली स्थानीय प्रतिकिलो १००, सेतो मूला (लोकल) प्रतिकेजी ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ६०, भन्टा डल्लो प्रतिकिलो ७०, तने बोडी प्रतिकिलो १६०, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ छ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १४०, घिउ सिमी (राजमा) प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो १४०, तीतो करेला प्रतिकिलो १३०, लौका प्रतिकिलो ९०, पर्वल (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, घिरौँला प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ३५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७०, र बरेला प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ।

पिँडालु प्रतिकिलो ७०, स्कुस प्रतिकिलो २० रुपैयाँ, रायोसाग प्रतिकिलो १३०, पालुंगो साग प्रतिकेजी २००, चमसुर प्रतिकेजी १५०, तोरीको साग प्रतिकिलो ८०, मेथीको साग प्रतिकिलो २००, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, र कुरिलो प्रतिकिलो ८५० रुपैयाँ निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो १४०, चुकुन्दर प्रतिकिलो ९०, रातो बन्दा प्रतिकिलो १३०, जिरीको साग प्रतिकिलो ३५०, सेलरी प्रतिकिलो २५०, पार्सले प्रतिकिलो ४००, सौफको साग प्रतिकिलो २००, पुदिना प्रतिकिलो ४५०, इमली प्रतिकिलो १७० र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार मूल्यवृद्धिको मुख्य कारण मौसमी परिवर्तन र उत्पादनमा आएको ह्रास हो।

उनका अनुसार बर्खे तरकारीको सिजन सकिन लागेको तर हिउँदे तरकारी पूर्ण रूपमा बजारमा आइनसकेको ‘सिजनको सङ्क्रमणकालीन’ अवस्थाले मूल्य बढाएको हो।

‘बर्खे तरकारीको उत्पादन अन्तिम चरणमा छ, जसले गर्दा आपूर्ति घट्दै गएको छ। उता, हिउँदे तरकारी भर्खर बजारमा भित्रिन सुरु भएको छ, तर मागअनुसार आपूर्ति हुन सकेको छैन,’ श्रेष्ठले भने।

यस वर्ष वर्षायाम लम्बिएका कारण पनि तरकारी खेतीमा नकारात्मक असर परेको उनको विश्लेषण छ। ‘लामो समयसम्मको वर्षाले कतिपय ठाउँमा लगाएको तरकारी बालीमा क्षति पुग्यो, जसले गर्दा उत्पादन घट्यो र बजारमा तरकारीको अभाव देखियो,’ उनले थपे।

आलुजस्ता केही तरकारीको मूल्य घट्न थाले पनि गोलभेँडा, काउली, लौका जस्ता मुख्य हिउँदे तरकारीको आपूर्ति सहज नभएसम्म मूल्य घट्ने सम्भावना कम रहेको उनी सुनाउँछन्।

अबको अपेक्षा: कहिले घट्छ मूल्य ?

सूचना अधिकारी श्रेष्ठले आगामी केही हप्तामा हिउँदे तरकारीको आयात र उत्पादन बढ्दै गएपछि मूल्य क्रमशः घट्दै जाने आशा व्यक्त गरे।

‘जब बजारमा मागअनुसार आपूर्ति सहज हुन्छ, तब मूल्य स्वतः नियन्त्रणमा आउँछ। हामीलाई आशा छ, हिउँदे तरकारीको उत्पादन बढेसँगै उपभोक्ताले राहत महसुस गर्न पाउनुहुनेछ,’ उनको भनाइ थियो।

यद्यपि, तत्कालका लागि भने उपभोक्ताहरूले आफ्नो भान्साको बजेटलाई सन्तुलनमा राख्न संघर्ष गर्नुपर्ने देखिन्छ।

प्रकाशित: २९ कार्तिक २०८२ २१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App