१ असार २०८३ सोमबार
image/svg+xml
अर्थ

बेमौसमी वर्षाले घटायो चितवनको मह उत्पादन

चितवनमा यस वर्ष मह उत्पादन घटेको छ। बेमौसमी वर्षा, बढ्दो चिसो र मौरीका लागि आवश्यक चरन क्षेत्रको अभावका कारण अघिल्ला वर्षको तुलनामा मह उत्पादनमा कमी आएको हो। घारको संख्या बढ्दै गए पनि उत्पादन भने निरन्तर ओरालो लागेको मौरीपालक किसानको अनुभव छ।

रत्ननगर नगरपालिका–४ स्थित सिर्जना टोलका मौरीपालक किसान सूर्य मानन्धरले २०५२ सालदेखि मौरीपालन गर्दै आएका छन्। हाल उनीसँग २०० गोला मौरी छन्। अघिल्ला वर्षहरूमा प्रतिगोला ३० देखि ३२ केजीसम्म मह उत्पादन हुने गरेकोमा यस वर्ष प्रतिगोला औसत २२ केजी मात्र उत्पादन भएको उनले बताए।

‘यसपालि बेमौसमी पानी धेरै पर्‍यो, चिसो पनि बढ्यो। पाँच दिनसम्म लगातार चिसो हुँदा पनि उत्पादनमा ठूलो असर पर्छ’, उनले भने। अघिल्लो वर्ष करिब चार टन मह उत्पादन गरेका मानन्धरले यस वर्ष तीन टनमा सीमित हुनुपरेको बताए। उनका अनुसार पछिल्ला केही वर्षयता उत्पादन घट्दै गएको छ।

खैरहनी नगरपालिका–४ का सुरेश बस्नेतको अनुभव पनि उस्तै छ। २०६४ सालमा वैदेशिक रोजगारीबाट फर्किएपछि दाजुसँग सिप सिकेर १३ घारबाट मौरीपालन सुरु गरेका बस्नेतसँग अहिले ३६० गोला मौरी छन्। उनले यस वर्ष उत्पादनमा उल्लेख्य गिरावट आएको बताए।

‘दाङमा दुई लट मह निकालिन्थ्यो। अहिले एक लट मात्र निकालियो। पूरै घाटा भयो। पहिले चितवनमै वर्षमा तीन लटसम्म मह काढिन्थ्यो, अहिले दुई लटमै सीमित भएको छ’, उनले भने, ‘सर्लाहीलगायतका जिल्लामा लैजाँदा पनि अपेक्षित उत्पादन भएन।’ उनले प्रत्येक वर्ष आठ पटकसम्म मह निकाल्ने गरे पनि अहिले ६ पटक मात्र मह काढ्न सकेको बताए। अनुसार अघिल्ला वर्षहरूमा प्रतिगोला ३५ केजीसम्म मह उत्पादन हुने गरेकामा यस वर्ष करिब २२ केजीमा झरेको छ।

बस्नेत उत्पादन घट्नुका कारणमध्ये चरन क्षेत्रको कमीलाई पनि मुख्य मान्छन्। ‘मौरीको संख्या बढेको छ तर फूल फुल्ने क्षेत्र त्यति बढेको छैन। चरन नपुग्दा उत्पादन घट्ने गरेको छ’, उनले भने। उत्पादन नहुँदा अहिले मौरीलाई चिनी खुवाएर पाल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। एउटा गोलाले महिनामा तीनदेखि चार केजीसम्म चिनी उपभोग गर्ने गरेको उनले बताए।

मौरीपालक किसानको अनुभवलाई सरकारी तथ्यांकले पनि पुष्टि गरेको छ। मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईंले अनुसार जिल्लामा यस वर्ष चार सय ५० मेट्रिक टन मह उत्पादन भएको छ। गत वर्ष यो परिमाण पाँच सय ४० मेट्रिक टन थियो। उनका अनुसार चितवनमा एक वर्षमै उत्पादन १६.६६ प्रतिशतले घटेको छ।

जिल्लामा हाल १७ हजार ५०० घार मेलिफेरा मौरी पालिएका छन्। घारको संख्या बढ्दै गए पनि बेमौसमी वर्षाले मह उत्पादनमा प्रत्यक्ष असर पारेको उनले बताए। ‘तोरी र चिउरी दुवै मह उत्पादनका प्रमुख स्रोत हुन्। यस वर्ष बेमौसमी वर्षाका कारण फूलमा पर्याप्त रस बन्न सकेन’, अम्गाईंले भने, ‘पहिले तोरीबाट एक सिजनमा तीन पटकसम्म मह काट्ने किसानले यस वर्ष बढीमा दुई पटक मात्र काट्न सके। चिउरी फुल्ने पाँच पटकसम्म मह काढ्ने गरेकोमा यस वर्ष तीन पटकमै सीमित भयो।’

उनका अनुसार गत वर्ष जिल्लाका करिब ७० प्रतिशत व्यावसायिक मौरीपालकले वर्षमा ६ पटकसम्म मह संकलन गरेका थिए। यस वर्ष बेमौसमी वर्षाका कारण ३० प्रतिशत किसानले मात्र ६ पटकसम्म मह निकाल्न सकेका छन्।

चितवनमा हाल करिब चार सय ५० जना व्यावसायिक मौरीपालक किसान सक्रिय छन्। जिल्लामा उत्पादन हुने महमध्ये करिब ८० प्रतिशत हिस्सा चिउरी र तोरीको फूलको मह रहेको छ भने बाँकी २० प्रतिशत रुदिलो, फापर, लिचीलगायतका स्रोतबाट उत्पादन हुने गरेको छ।

बागमती प्रदेशमा आठ सय २५ टन मह उत्पादन हुँदै आएको छ। त्यसको ७० प्रतिशत हिंस्सा चितवनले मात्र ओगट्ने गर्दछ। हाल किसानले महको प्रकारअनुसार प्रतिकेजी तीन सय ७५ रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा होलसेल बिक्री गर्दै आएका छन्। चिउरी महको मूल्य प्रतिकेजी ५०० रुपैयाँसम्म पुग्ने गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८३ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App