साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ।
अघिल्लो दिन सोमबार ८३ अंकले बढेको बजार आज २.६१ अंकले ओरालो लागेर २७५७.४० विन्दुमा कायम भएको छ।
आज सेन्सेटिभ इन्डेक्स ०.७८, फ्लोट इन्डेक्स ०.२७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३२ अंकले घटेका छन्।
परिसूचका साथै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ। सोमबार १० अर्ब ९२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आज जम्मा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार कित्ता सेयर कुल ८१ हजार ५८२ पटक किनबेच भएका छन्।
आज कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ। कुल १३ उपसमूहमध्ये ४ वटाको सूचक उकालो लाग्दा ९ वटा ओरालो लागेका छन्।
होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ। यसैगरी, अन्य ०.७१, हाइड्रोपावर ०.१५ र बैंकिङ उपसमूह ०.०४ प्रतिशतले उकालो लागेका छन्।
यता, व्यापार उपसमूह सर्वाधिक १.८८ प्रतिशतले घटेको छ। साथै, विकास बैंक ०.६२, लगानी ०.४६, जीवन बीमा ०.४५, फाइनान्स ०.४१, निर्जीवन बीमा ०.३३, माइक्रोफाइनान्स ०.१९ र उत्पादन तथा प्रशोधन उपसमूह ०.०५ प्रतिशतले घटेका छन्।
समग्र बजार घटे पनि ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरूमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्। त्यस्तै, त्रिशूली जलविद्युतको मूल्य ८.६३ प्रतिशतले बढेको छ।
गुमाउने तर्फ, एनआईबिएल ग्रोथ फन्डको एकाइ मूल्य सर्वाधिक ७.०८ प्रतिशतले घटेको छ भने सेयरतर्फ झापा इनर्जीको मूल्य ३.९६ प्रतिशतले ओरालो लागेको छ। मूल्य घटेका अन्य कम्पनीहरूको गिरावट दर ४ प्रतिशतभन्दा कम छ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा छ। यस कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
रिलायन्स स्पिनिङ मिल्सको २४ करोड र आँखुखोला जलविद्युतको साढे २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
धेरै कारोबार हुने अन्य कम्पनीमा एसवाई प्यानल र नेसनल हाइड्रोपावर पनि रहेका छन्।
प्रकाशित: २४ चैत्र २०८२ १६:२१ मंगलबार





