१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सात महिनामा त्रियुगाको बजेट खर्च ३७ प्रतिशत

त्रियुगा नगरपालिका प्रशासकीय भवन। तस्बिरः महेश्वर चामलिङ राई

सदरमुकाम गाईघाटस्थितत्रियुगा नगरपालिकाले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको ३७ प्रतिशत खर्च गरेको छ। आर्थिक वर्ष ०८२÷८३ को माघ मसान्तसम्म नगरपालिकाले पुँजीगत र चालु दुवैतर्फ उक्त अनुपातमा बजेट खर्च गरेको हो।

नगरपालिकाले चालु वर्ष १ अर्ब ५७ करोड १९ लाख ६५ हजार ७ सय ७३ रुपैयाँको बजेट परिचालन गरिरहेको छ। नगरसभाबाट पारित उक्त बजेटमध्ये पुँजीगततर्फ ५५ करोड ९५ लाख ६७ हजार २ सय ७१ रुपैयाँ र चालुतर्फ १ अर्ब १ करोड २३ लाख ९८ हजार ५ सय २ रुपैयाँ विनियोजन गरिएको छ।

गत साउनदेखि माघ मसान्तसम्म नगरपालिकाले चालुतर्फ ४० करोड ८९ लाख ५२ हजार १ सय २ रुपैयाँ खर्च गरेको छ, जुन चालु बजेटको ४०.३९ प्रतिशत हो। लेखा अधिकृत बिनया बस्नेतका अनुसार पुँजीगततर्फ हालसम्म १७ करोड ९२ लाख ४३ हजार २४ रुपैयाँ खर्च भएको छ, जुन कुल पुँजीगत बजेटको ३२.४२ प्रतिशत हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले भने पुँजीगततर्फको वास्तविक काम प्रगतिअनुसार खर्च प्रतिशतभन्दा बढी भएको दाबी गरे। विकास निर्माण तथा भौतिक पूर्वाधारसम्बन्धी काम सम्पन्न भए पनि भुक्तानी प्रक्रिया बाँकी रहेकाले खर्च हिस्सा कम देखिएको उनले बताए।

उनका अनुसार आर्थिक वर्ष सुरु भएदेखि योजना सम्झौता र कार्यान्वयन प्रक्रिया तीव्र भइरहेको बेला भएको ‘जेनजेड आन्दोलन’ ले विकास निर्माणका काममा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारेको थियो। आन्दोलनका क्रममा कार्यालयमा आगजनी तथा क्षति हुँदा केही समय काम प्रभावित भएको उनले उल्लेख गरे।

यस्तै, फागुन २१ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचन घोषणा भएसँगै लागू भएको निर्वाचन आचारसंहिताले पनि विकास निर्माणका काम प्रभावित भएको उनले बताए। ‘निर्वाचनपछि कामले तीव्र गति लिने अपेक्षा गरेका छौं,’उनले भने।

यसैबीच, चालु आर्थिक वर्षको सात महिनामा नगरपालिकाले १ करोड ७१ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App