चार महिनामै मुलुकको व्यापार घाटा पाँच खर्ब पुगेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकसम्म व्यापार घाटा पाँच खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। पोहोरको तुलनामा व्यापार घाटा करिब १२ प्रतिशतले बढेको छ। पोहोरको सोही अवधिमा व्यापार घाटा चार खर्ब ६० अर्ब रुपैयाँ थियो। कुल वैदेशिक व्यापार २४ प्रतिशतले बढेको छ। यो वर्ष चार महिनामा वैदेशिक व्यापार सात खर्ब नाघेको छ। पोहोर सोही अवधिमा पाँच खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ४.४१ प्रतिशत घटेर ८६.७० प्रतिशतमा कायम भएको छ भने निर्यातको हिस्सा ४२.९४ प्रतिशतले बढेर १३.३० प्रतिशतमा कायम भएको भन्सार विभागले जनाएको छ। यो अवधिमा ९ प्रतिशतले आयात बढेको छ भने बढ्दा निर्यात करिब ७७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। वस्तुको निर्यात ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। चार महिनामा उक्त मूल्य बराबरका वस्तु नेपालबाट विदेश निर्यात भएका हुन्।
यो अवधिमा ६ खर्ब नौ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। पोहोर सोही अवधिमा पाँच खर्ब १३ अर्ब रुपैयाँका वस्तु आयात भएको थियो। यो अवधिमा सबैभन्दा धेरै ९२ अर्ब ४२ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ।
त्यसैगरी खाद्य घ्यु–तेलजन्य वस्तु ५० अर्ब १७ करोड रुपैयाँको, आइरन र स्टिलको आयात ४४ अर्ब, ३७ अर्ब ६९ करोड रुपैयाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको विभागको तथ्यांकले देखाउँछ। त्यसैगरी १२ अर्ब ९९ करोडको मोबाइल फोन, पौने १६ अर्बको सुन आयात भएको छ।
नेपालबाट सबैभन्दा बढी ३८ अर्ब ४३ करोड रुपैयाँबराबरको सोयाविन तेल निर्यात भएको छ। १८ करोड ५२ लाख ५५ हजार किलो तेल भारतमा निर्यात भएको छ। कफी, चिया तथा मसला पाँच अर्ब ९१ करोड रुपैयाँको निर्यात भएको छ। त्यसैगरी करिब चार अर्बको अलैंची निर्यात भएको छ। १८ लाख २३ हजार किलो अलैंची भारतमा निर्यात भएको भन्सार विभागले जनाएको छ।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। भारतबाट तीन खर्ब ३७ अर्ब रुपैयाँको वस्तु आयात हुँदा ७६ अर्ब ५० करोड रुपैयाँको वस्तु मात्र भारत निर्यात भएको छ। त्यसैगरी चीनबाट नेपालमा एक खर्ब ३२ अर्बको वस्तु आयात हुँदा नेपालबाट २९ करोड रुपैयाँको वस्तु मात्र चीन निर्यात भएको छ।
सरकारले स्वदेशमा खपत हुने वस्तुको उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउँदै लैजाने बताउँदै आए पनि नेपालको सय बढी मुलुकसँग व्यापार घाटा रहेको छ। सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापारमा उत्साह आउन सकेको छैन। स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवद्र्धनका लागि निजीक्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरे पनि परिणाम आउन सकेको छैन।
प्रकाशित: ८ मंसिर २०८२ ०८:११ सोमबार





