पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा-मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा घोषणा गरेकै समयसीमाभित्र ट्रयाक निर्माण सकिएसँगै आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालनमा आउने भएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ।
भोलिसम्म ग्राभेलको काम पूरा गरी बिहीबार बिहानबाटै पूर्ण रूपमा दुईतर्फी सवारी सञ्चालन गरिनेछ। यसअघि गत भदौ २८ गतेदेखि नै ग्यास बुलेटसहितका अत्यावश्यक सवारी साधनलाई परीक्षणका रूपमा बिहान र बेलुका आउजाउ गर्न दिइएको थियो।
सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूको सुझावअनुसार कृष्णभीरको कडा पहरो काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाइएको हो।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सहजीकरणमा प्राविधिकसहित ५० जनाको टोलीले दैनिक १२ देखि १६ घण्टासम्म काम गरेको थियो। ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर काम सुरु भएको १०औं दिनमै यो ट्रयाक तयार पारिएको मन्त्रालयले जनाएको छ।
गत भदौ १० गतेको बाढीले सुरक्षा पर्खालमा क्षति पुर्याएकोमा भदौ १४ गतेको अर्को बाढीले पर्खाल पूर्ण रूपमा बगाएपछि यो सडकखण्ड ठप्प बनेको थियो। मन्त्रालयले ४ दिनको द्रुत प्राविधिक अध्ययनपछि भदौ १९ गतेदेखि रूख कटान गरी ट्रयाक निर्माण थालेको थियो।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी र राहत व्यवस्थापनबारे गत भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौभित्रै कृष्णभीरको अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए।
प्रकाशित: ३० भाद्र २०८३ १५:५१ मंगलबार





