पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीडभाड छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सडकको आउजाउ नै रोकिने गरेको तथा तिब्रगतिमा सवारी हुइँक्याउने गर्दा दुर्घटनाको जोखिम बढेपछि प्रहरीले भारतीय पर्यटक सवार सवारीका लागि सचेतनामुलक कार्यक्रम थालेको छ।
त्यसका लागि कास्की प्रहरी सहित ट्राफिक प्रहरीले लेकसाइड क्षेत्रमा भारतीय सवारीका चालकलाई जानकारी दिन थालेको हो। लेकसाइड लगायतका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै सडक तथा सवारी व्यवस्थापन र सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सचेतनामूलक अभियान सञ्चालन गरिएको प्रहरीको भनाई छ। भारतीय सवारीका चालकलाई भेटेरै पोखराको ट्राफिक व्यवस्थापन, पार्किङस्थल, एकतर्फी सडक तथा गाडीको स्पीडबारे जानकारी गराएको प्रहरीको भनाई छ।
उक्त अभियान अन्तर्गत पर्यटकीय क्षेत्रका सडकको अवस्था, ट्राफिक नियम, सवारी पार्किङ व्यवस्थापन तथा कुनै पनि घटना वा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने हेल्पलाइन नम्बरको बारेमा समेत जानकारी दिलाइएको छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका एसपी गोबिन्दराज काफ्लेले पोखरामा अहिले अधिक मात्रामा भारतीय पाहुना भित्रिएको र ती पाहुना लिएर आएका सवारी साधनलाई जथाभावि पार्किङ गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको गुनासोपछि अनुगमन गर्दै भारतीय सवारीका चालकका लागि सचेतनामूलक कार्यक्रम गरिएको बताए।
‘यो पटक पाहुना लिएर आएका भारतीय गाडीको संख्या अधिक नै बढेको छ। लेकसाइडको सडक यसैपनि साँघुरो छ। त्यसैमाथि जथाभावि पार्किङ गर्ने, लामो समय सवारी रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ,’ उनले भने, ‘ट्राफिक प्रहरीलाई पनि व्यवस्थापनमा चूनौती बढेको छ। त्यसैमाथि दुर्घटनाको त्रास बढेको छ।’ प्रहरीका अनुसार लेकसाइडमा यतिसम्म भद्रगोल तरिकाले सवारी पार्किङ गर्न थालिएको छ की कतिपय ठाउँमा त पैदल हिड्ने बाटो समेत छैन। सवारीलाई फुटपाथमै उकालेर पार्किङ गर्ने गरिएको छ।
‘पाहुना आगमन हुनु सकारात्मक हो। तर, त्यो सँगै सवारीको भीडले अस्तव्यस्त भएको छ। लेकसाइडका सवारी जाम लागेर अरु सर्वसाधारणको यात्रा नै अवरुद्ध हुने गरेको छ। यस्तो अस्तव्यस्तताले अत्यावश्यक सवारीको यात्रालाई झनै चुनौती बढाएको छ,’ उनले भने, ‘मुख्य सडकमा मात्र नभई भित्री गल्लीमा पनि उस्तै अस्तव्यस्त छ। ठूला आकारका सवारी भित्री गल्लीमा जबर्जस्ती लैजाँदा सडक नै ढाक्ने गरेको छ।’
‘व्यावसायीले पाहुनालाई होटलमा राख्ने, तर, गाडीको पार्किङका लागि ठाउँ नदिँदा समस्या भएको हो। त्यसमा व्यावसायी पनि जिम्मेवार हुनुपर्छ। व्यावसायीले व्यवस्थापनमा सघाएको भए त्यो समस्या यत्तिसारो हुने थिएन,’ उनले भने, ‘कतिपय होटलका पार्किङस्थल खालि छन्। तर, त्यही होटलका पाहुनाका सवारी सडकमा राख्ने गरिएको छ। त्यसैले व्यवस्थापन अस्तव्यस्त भएको हो।’
अहिले पोखरमा भारतीय पाहुना लिएर आएका सवारी तिब्रगतिमा भित्री सडकमा कुँदाउदा त्यसले दुर्घटनाको जोखिम पनि बढाएको उनले बताए। प्रहरीको यो अभियानले गण्डकी प्रदेशको समग्र पर्यटन प्रवद्र्धन तथा पर्यटकको सुरक्षित यात्रामा सकारात्मक योगदान पुग्ने उनले बताए। बजारभित्र मात्र नभई आसपासका पर्यटकीय गन्तव्यमा पनि भारतीय सवारीको उत्तिकै भीडभाड रहेको छ।

‘यो अभियानकै रुपमा लिएर अघि बढाउने प्रयास भएको छ। व्यावसायीले व्यवस्थापन गर्न नजान्दा पनि समस्या छ। पाहुनाका लागि मात्र ठाउँ दिएर भएन, सवारी कहाँ रोक्न हुन्छ वा हुँदैन भनेर जानकारी पनि दिनुपर्छ। कुन बाटोमा सवारी लैजान हुने की नहुने भनेर पनि व्यावसायीले चालकलाई जानकारी दिनुपर्छ।’ सडकलाइ नै पार्किङस्थल बनाइएको यो अवस्थमा सवारी कहाँ जान पाउने वा नपाउने भन्ने थाहा नहुँदा पनि अस्तव्यस्त भएको उनले बताए।
सवारी पार्किङ गर्ने ठाउँ नभएपछि जग्गा भाडामा लिएर भएपनि व्यवस्थापन गर्न भनेको उनले बताए। ‘पोखरा भित्रका पार्टीप्यालेसको पार्किङस्थल पनि उपयोग गर्न सकिन्छ। पोखराका केही पार्टीप्यालेसको पार्किङस्थल उपयोग गर्न सक्यो भने त्यसले सहज बनाउँछ। त्यसबाहेक सार्वजनिक जग्गालाई उपयोग गरेर भएपनि पार्किङस्थल बनाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘होटलले पाहुनालाई पनि सचेत गराउनुपर्छ। व्यवस्थापनमा व्यावसायीले पनि सघाउनुपर्छ।’
पर्यटन व्यावसायी पनि यो पटक अनुमान गरे भन्दा बढि संख्यामा भारतीय पाहुना आउँदा व्यावस्थापनमा केही कमजोरी भएको बताउँछन्। ‘चालकलाई भेटेर उनीहरुलाई सम्झाउने र बुझाउने गरिएको छ। पाहुना लिएर बारम्बार आएका चालकले पार्किङस्थलबारे जानकारी पनि पाउनुपर्छ। पहिलो पटक आउनेलाई के गर्न हुने र नहुने भनेर प्रहरीले सम्झाएको छ। यसको व्यवस्थापनमा हामी व्यावसायी पनि सक्रिय हुनुपर्ने अवस्था छ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने। उनले पनि पोखरामा यतिबेला अधिक मात्रामा भारतीय पाहुना आउँदा यहाँ भारतीय सवारीको भीड अधिक बढेको बताए।
‘हामीले सोचभेन्दा बढि पाहुना आएकोले व्यवस्थापनमा केही समस्या थपिएको हो। व्यावसायीले भारतीय सवारीका चालकलाई कहाँ जान हुने र जान नहुने भनेर जानकारी पनि दिनुपर्छ। नजिकैका गन्तव्यमा जाने हो भने सवारी लिएर जानुपर्ने जरुरी छैन। कतै पार्किङ गरेरै हिड्दै जाँदा पनि फरक पर्दैन भनेर चालकलाई सचेत बनाउने काम व्यावसायीको हो,’ उनले भने, ‘योपटक भीड बढेकोले केही समस्या भएकै हो। यसलाई व्यवस्गथापन गर्नका लागि व्यावसायी पनि सक्रिय हुनेछन।’
प्रकाशित: ४ असार २०८३ १८:४५ बिहीबार





