११ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

बढ्दैछ पोखरामा पर्यटकीय चहलपहल

होटलको अकुपेन्सी ५० प्रतिशतः व्यावसायी

पोखराको लेकसाइडस्थित फेवाताल किनारको चहलपहल। तस्बिरः सन्तोष पोखरेल/नागरिक

पर्यटकीय क्षेत्र लेकसाइडमा पछिल्लो समय केही चहलपहल बढेको छ। विदेशी पर्यटक भित्रिने मुख्य सिजन सुरु हुनै लाग्दा जेनजी आन्दोलन भएको र बाढीपहिरोका कारण दसैंताका पोखरा आउने पाहुना निकै नै कम थिए। पाहुना आउन नपाउँदा पर्यटकीय सिजनको बेलाको पोखरा करिब सुनसान झैं थियो।  

तर, अहिले भने चहलपहल बढ्न थालेको व्यावसायीले बताएका छन्। आन्तरिक पाहुनाको आकार थपिएको छ भने विदेशीको आगमनले पनि बिस्तारै आकार बढाउँदै लगेको व्यावसायीको भनाई छ। व्यावसायीका अनुसार ठूला आकारका होटलले ५० प्रतिशत अकुपेन्सी हाराहारीमा पाहुना पाउन थालिसकेका छन। मध्यम र साना आकारका होटलले पनि पाहुनाको आकार बढाएका छन।  

‘अघिल्लो महिना भने पर्यटन क्षेत्र निकै नै सुस्तायो। झन्डै शुन्यमा अवस्थामा झरेको थियो। दसैंताका त निकै नै कम पाहुना थिए। तर, अहिले भने त्यो आकारले गति लिएको छ,’ लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराई भन्छन, ‘आन्तरिक र विदेशी पाहुनाको आगमनमा सुधार भएकै हो। सेप्टेम्बरको सुरुवातमा आन्दोलन हुँदा विदेशी आउन तर्सिए। बाढीपहिरोका कारण दसैंताका आउने आन्तरिक पाहुना प्रभावित भए, तर, अहिले गति लिँदैछ।’

उनका अनुसार पोखराले अपेक्षा गरेभन्दा राम्रो आकारमा पाहुना पाएपनि पाहुनाको आगमन भने एकैनासको छैन। अघिल्ला सिजनमा यो बेला पाहुनाको आगमन एकैनासको हुने गरेकोमा अहिले कुनैदिन पाहुना आगमनको आकार ह्वात्तै उकालो लाग्ने गरेको छ भने कुनैदिन निकै नै कम संख्यामा पाहुना हुन्छन। 

‘कुनैदिनमा ६०–६५ प्रतिशत अकुपेन्सी हुन्छ भने कुनैदिन ४० प्रतिशतमा झर्छ। पाहुना आगमन एकैनासको छैन। हाराहारीमा ५० प्रतिशत अकुपेन्सी चलिरहेको छ,’ उनले भने, ‘जेनजी आन्दोलनका कारण झन्डै शुन्यमा झरेको पाहुना आगमनले छोटो समयमा गति लिएको देखिएको छ। आन्तरिक पाहुना पनि थपिँदा हामीलाई राहत मिलेको छ।’

‘साताको तीनदिन निकै नै राम्रो आकारमा पाहुना हुन्छन, त्यसपछिका चारदिन एकाएक तल हुन्छ,’ एकनासको आगमन भएको भए व्यवासायीलाई सहज हुन्थ्यो। तरपनि पाहुना नआएको भन्न मिल्दैन,’ उनले भने। उनका अनुसार पछिल्लो समय आन्तरिक पाहुनाका कारण पनि पर्यटन क्षेत्र बढी चलायमान बनेको छ। जेनजी आन्दोलनका कारण विदेशी पाहुनाको आगमनमा असर परेको भएपनि स्वदेशीका आगमनलाई त्यो आन्दोलनको भन्दा पनि बाढीपहिरोको असर बढी परेको थियो।  

‘विदेश बसेकाहरु घर फर्केको र उनीहरु पदयात्रामा जानका लागि आउँदै गर्दा अहिले पाहुना थपिएका छन,’ उनले भने, ‘निजी गाडीमा आन्तरिक पाहुना भित्रिएका छन। पोखरा–मुग्लिन राजमार्गको सहजताले पनि अहिले पाहुना आउन सहज भएको छ। निजी गाडीमा यतिबेला साढे ५ घण्टामै काठमाडौंबाट पोखरा आउन सकिने भएपनि आउजाउ सहज बनेको छ।’ अहिलेको आगमनमा कुनै बाधा अवरोध नआउने हो भने नोभेम्बरको अकुपेन्सी अनुपात ७० प्रतिशत हाराहारीमा उक्लिने उनको अनुमान छ।  

अर्का होटल व्यावसायी धर्मराज पन्थी पनि विदेशी र आन्तरिक पाहुनाको आगमनले गति लिँदा लेकसाइडको चहलपहल थपिएको बताउँछन। उनका अनुसार मध्यमस्तरका होटलले पनि अहिले ५० प्रतिशत अकुपेन्सी ओगट्नेगरि पाहुना पाएका छन। ‘जेनजी आन्दोलनको प्रभाव हेर्दा यतिछिटै यो अवस्था आउला भनेका थिएनौ। तर, केही विदेशी पनि आएका छन। आन्तरिक पाहुनालाई बाढीपहिरोले रोकेको हो। मौसम सुधार हुनासाथ आन्तरिक पाहुना आउन थालेका हुन,’ उनले भने।  

उनका अनुसार लेकसाइडमा अहिले विभिन्न समूह बनाएर घुमघामका लागि आउने आन्तरिक पाहुना थपिएका छन। बेलुकीपखको चहलपहल पनि बढेको छ। फेवातालमा डुंगा सयरदेखि हिडडुलका पर्यटक पर्याप्त मात्रामा देखिन्छन। ‘बाढीपहिरोको त्रासले दसैंताका सुस्ताएको पर्यटन क्षेत्र अहिले भने केही उकासिँदैछ। आन्तरिक पाहुना आएपछि त चहलपहल बढिहाल्छ। अहिले आन्तरिक पाहुनाको आगमनले लेकसाइडलाई केही राहत दिएको छ,’ पन्थीले भने,‘छठसम्मको बिदामा आन्तरिक पाहुनाको आगमन बढ्ने अपेक्षा छ। त्यसो हुँदा व्यवासायमा केही राहत मिल्छ।’ उनका अनुसार ठूला आकारका होटलले पनि अहिले राम्रै आकारमा पाहुना पाएका छन।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि छोटो समयमा लेकसाइडले पर्यटनमा गति लिएको बताउँछन। उनका अनुसार भारतीय पाहुना भने यो बेला निकै नै कम संख्यामा छन। जेनजी आन्दोलनपछि बढी नै प्रभावित भएको भारतीय पर्यटकको आगमन अझै सहज बनिसकेको छैन। आन्दोलनपछि भारत सरकारले आफ्ना नागरिकलाई नेपाल घुमघाममा आउन सचेत बनाएकोले पनि भारतीय पाहुनाको आगमनले अझै गति लिन नसकेको व्यावसायीको भनाई छ।  

‘भारतीय पाहुना कम भएपनि तेश्रो मुलुकका अरु विदेशी पनि छन। एनआरएनहरु परिवारै सहित घुमघाममा निस्कदा पनि पर्यटनमा पाहुना थपिएका छन,’ पराजुली भन्छन, ‘आन्तरिक पाहुना पनि थपिएका छन। आन्तरिक पाहुना नआएको भए यो बेला गाह्रो हुन्थ्यो। तर, अहिले आन्तरिक पाहुनाको आगमन दसैंपछि बढेको छ। दसैंताका बाढीपहिरोले आन्तरिक पाहुना आउन सकेका थिएनन। तर, अहिले आन्तरिक पनि आउँदा पर्यटन क्षेत्रले गति लिएको छ।’

पर्यटन व्यावसायीका अनुसार पछिल्लो समय नेपालमा तेश्रो मुलुकका विदेशी पाहुनाको आगमन थपिन थालेको छ। जेनजी आन्दोलनको प्रभावले गर्दा तत्कालिन अवस्थामा पाहुना आउन डराएको भएपनि अहिले भने समूहमा आउन थालेका छन।

‘यो बेला नेपाल आउनका लागि समूहका पर्यटकले अग्रिम बुकिङ गरेका हुन्छन। अग्रिम बुकिङ गर्ने क्रममा होटल देखि ट्राभल एजेन्सीलाई एडभान्समा पैसा पनि बुझाएका हुन्छन। केही गरि पाहुना आउन नपाउँदा त्यो पैसा फिर्ता पठाउन समस्या हुन्छ। आउनै नसक्ने अवस्था भए फरक कुरा हो, नत्र पाहुना आउँछन,’ एकजना व्यावसायीले भने। अहिले समूहमा आएका पाहुना अग्रिम बुकिङ गरेरर पैसा तिरेका पाहुना भएको ती व्यावसायीको भनाई छ। सामान्यतया ठूला आकारका होटलका पाहुनाले त्यसरी अग्रिम पैसा तिरेर पाहुनाको बुकिङ लिने ती व्यावसायीको भनाई छ।  

प्रकाशित: २ कार्तिक २०८२ १६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App