२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रः ‘फेक बुकिङ’ले पर्यटन क्षेत्र त्रसित

नयाँनयाँ चूनौती थपिएका छनः व्यावसायी

प्रविधिको उच्चतम प्रयोग, जलवायु परिवर्तन, विभिन्न मुलुकबीच बढ्दो द्वन्द्व लगायतका घटनाक्रमले विदेशी पर्यटक आउजाउमा प्रभाव पार्न थालेको भन्दै पर्यटन क्षेत्रले चिन्ता जनाएको छ। आगामि दिनमा पर्यटन क्षेत्रमा नयाँनयाँ शैलीका चूनौती थपिने चिन्ता पनि व्यवासायीको छ।  

चूनौती बढ्दै जाँदा पर्यटक आउजाउ घट्ने हो की भन्ने चिन्ता व्यावसायीमा पलाएको छ। पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका व्यावसायी टिकाराम सापकोटाका अनुसार पर्यटन क्षेत्रमा साइबर थ्रेटको चूनौती थपिन थालेको छ। कतिपय विदेशी पर्यटकले ठूला होटलको बुकिङ ह्याक गर्नेसम्मका काम गर्न थालेका छन। त्यस्तै अनावश्यक रुपमा बुकिङ गर्ने तर, नआउने गतिविधि पनि पर्यटन क्षेत्रमा थपिएको उनले बताए। ‘फेक बुकिङको समस्या देखिन थालेको छ। बेलैमा ख्याल नगर्ने हो भने भविश्यमा अझ अप्ठेरो पर्न सक्छ,’ सापकोटाले भने।

‘होटलको कोठा बुकिङ गर्ने, तर, नआउने गर्दा व्यावसायीलाई अप्ठेरो पर्छ। बुकिङ भएपछि पाहुना आउने अपेक्षा हुन्छ। तर, अन्तिम समयमा कुनै कारण देखाएर पाहुना आउँदैनन,’ उनले भने, ‘एकपटक बुकिङ देखिएको कोठा थप बुकिङ गर्न मिल्दैन। तर, पाहुना नै नआएपछि अन्तिम समयमा कोठा नै पाहुनाविहीन अवस्थामा राख्नुपर्छ।’ होटलका साइट ह्याक गरेर बुकिङ प्रभावित पार्नु बढी चिन्ताको विषय रहेको उनले सुनाए।

त्यस्तै पछिल्लो समय पर्यटन क्षेत्रमा प्राकृतिक प्रकोपका घटनाले चूनौती थप्न थालेका छन। जलवायु परिवर्तनका कारण अधिक गर्मी बढ्नु, भीषण वर्षा र बाढी पहिरो निम्तितु, पर्यटकहरु यस्तै घटनामा पर्नु जस्ता कारणले पनि पर्यटन क्षेत्रमा चूनौती थपिएको सापकोटाको भनाई छ। ‘प्राकृतिक विपद्का घटनामा पर्दा कतिपय पर्यटकले ज्यानै गुमाउनुपरेको छ,’ उनले भने, ‘यो राम्रो सन्देश होईन। यस्ता घटनाका कारण पर्यटक तसिर्ने जोखिम रहन्छ। विभिन्न जिल्लामा पछिल्ला समय भएका प्राकृतिक विपद्का कारणले पनि पर्यटकको आगमन रोकिने गरेको छ।’

पोखराका पर्यटन क्षेत्रको सुरक्षाबारेको छलफलमा सापकोटाले पछिल्लो समय कोरोना भाइरस संक्रमणले गर्दा पर्यटन क्षेत्रमा सबैभन्दा कठिन अवस्था आइपरेको बताए। कोरोनाका कारण आगमन झन्डै शुन्यमा झरेको र त्यो आकार बल्ल अहिले उकासिन थालेको उनले बताए। ‘कोरोनाको प्रभाव बेलाबेला अहिले पनि सुनिन्छ। कतै पहिलेकै जस्तै अवस्था आउने हो की भन्ने त्रास पनि छ,’ उनले भने, ‘कोरोनाको जस्तै त्रास आगामि दिनमा पनि फैलिनेमा चिन्ता गर्ने बेला भएको छ। कुनैपनि बेला फरक रोगको संक्रमण बढ्ने जोखिम उत्तिकै छ।’

सापकोटाका अनुसार युवाको विदेश पलायनले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति अभाव भएको, पर्यटन क्षेत्रमा सूचना आदानप्रदानमा संयोजन हुन नसक्नु, विभिन्न मुलुकबीच द्वन्द्व चर्किदा पनि पर्यटन क्षेत्र प्रभावित हुने क्रम बढेको उनले बताए। युद्धका कारण पर्यटक आउजाउ नै रोकिने अवस्था आएको समेत उनले बताए।

‘अहिलेका चूनौती यसअघि थिएनन। तर, जब प्रविधि, जलवायु परिवर्तन, विदेश पलायनको गति, अन्तर्राष्ट्रियस्तरका द्वन्द्व, विभिन्न प्रकारका संक्रामक रोगले पछिल्लो समयमा पर्यटन क्षेत्रमा चूनौती बढाईरहेका छन,’ उनले भने, ‘यी समस्या आगामि दिनमा अझै थपिनेमा दुईमत छैन। अहिले देखिएको समस्या समाधान हुने भन्दा पनि बढ्ने चिन्ता छ।’

पोखरा भ्रमण वर्षका संयोजक गोपि भट्टराई पनि पर्यटन क्षेत्रमा केहीवर्ष अघिसम्म नदेखिएका चूनौती अहिले सबैभन्दा बढी टड्कारो रुपमा देखिएको बताउँछन। ‘जलवायु परिवर्तनको असर यतिसम्म बढ्दै गएको छ की कुन ठाउँमा कुनबेला हिमपहिरो र बाढी आउने भन्ने यकिन छैन। पर्यटकीय क्षेत्रमा घटना हुँदा त्यसको असर पर्यटकमा पर्छ,’ उनले भने, ‘राजनीतिक अस्थिरता पनि उत्तिकै समस्या छ। नेपालमा झनै बेलाबेला हुने गरेका राजनीतिक घटनाक्रमका कारण विभिन्न मुलुकले पर्यटकलाई घुम्नै नजाउ भनेर ट्राभल एड्भाइजरी नै जारी गर्नुपनि परेको छ।’

पर्यटन क्षेत्रमा देखिएका सुरक्षाका नयाँ चूनौतीलाई सहजै समाधान गर्नका लागि सरकार मात्र नभई स्वयं पर्यटन व्यावसायी पनि सक्रिय हुनुपर्ने उनले बताए। ‘कुन बेला पर्यटकलाई घुम्न पठाउनु हुन्छ र हुँदैन भन्नेमा स्वयं पर्यटन व्यावसायी पनि सचेत हुन जरुरी छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा सुरक्षको भूमिका महत्वपूर्ण हुन्छ। तर त्यही सुरक्षा चूनौती थपिएको छ। हरेक वर्ष नयाँनयाँ खालका घटनाक्रम हुन थालेका छन। ती घटनाक्रमले अन्त्यमा पर्यटन क्षेत्रमै असर पारेको छ।’

पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो समय होटल क्षेत्रमा फेक बुकिङको समस्या बढिरहेका छन। ‘चल्तीका होटलको बुकिङ साइट ह्याक गरेर कोठा खालि नरहेको भनेर झुक्याउने गरिएको छ। होटलको बुकिङमा कोठा खालि नभएपछि पाहुना अन्यत्र जाने गरेका छन । तर, वास्तवमा ती होटलका सबै कोठा बुकिङ भएका हुँदैनन,’ लामिछानेले भने, ‘त्यत्ति मात्र नभई नयाँनयाँ साइटहरु खोलेर बुकिङ लिने, पैसा असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने पनि गुनासो बढिरहेको छ। फेक बुकिङको चिन्ता बढिरहेको छ।’ पाहुनासँग रकम असुल्न नक्कली कम्पनि नै खडा गर्ने र बुकिङ लिने अनि पैसा असुल्ने गर्दा पर्यटक पनि ठगिएको उनले बताए।

त्यसबाहेक पछिल्लो समय फूड सेक्यूरिटीको समस्या पनि बढ्दै गएको उनले बताए। पोखराकै चल्तीका होटलले दक्ष जनशक्ति अभावमा गुणस्तरीय खाना पस्किन नसक्ने अवस्था लामिछानेले बताए। ‘अनुभवि सेफजति विदेश पलायन भएका छन। नयाँपुस्ताले कामै गर्न छाडेको छ। अनुभव अभावमा होटल तथा रेस्टुरेन्टले पस्केको खाना स्वस्थ नभएको गुनासो आउन थालेको छ,’ उनले भने, ‘आगामि दिनमा यो समस्या अझ बढ्दो छ। किनकी अनुभवी सेफ पाउनै मुस्किल छ। गुणस्तरहीन खाना खाएकै कारण पर्यटक बिरामी पर्न थालेको गुनासो आउनु पर्यटन क्षेत्रमा नयाँ चूनौती हो।’  

लामिछानेका बिचारमा पछिल्लो समय जलवायु परिवर्तनको असर पनि उत्तिकै बढेको छ। कुन बेला कुन ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाउँछ भन्ने अवस्था नरहेको उनले बताए। अनुमान नै नभएको ठाउँमा बाढी र पहिरो आउनु थप चूनौती रहेको उनले बताए। ठाउँठाउँमा वेदर स्टेशन नहुँदा पर्यटकले सही सूचना पाउन नसकेर समस्यामा पर्ने गरेको पनि उनले बताए।  

‘मौसमबारे बेलैमा जानकारी पाउने हो भने पर्यटकले त्यो रुट नै परिवर्तन गर्न सक्छन। तर, सूचना प्रवाहमा पनि समस्या छ। मौसमी जानकारी बेलैमा पाउन नसक्दा बाढीपहिरोको चपेटामा परेर पर्यटकले बाटोमा लामो समय बिताउनुपरेको छ,’ उनले भने। पर्यटन क्षेत्रमा देखिएका सुरक्षा समस्या समाधान गर्नका लागि व्यावसायी देखि सरकार सक्रिय हुनुपर्ने, प्रविधिमा निगरानी बढाउनुपर्ने, सूचना प्रवाहमा तदारुकता देखाउनुपर्ने उनले बताए। पछिल्लो समय देखिएका यस्ता समस्या आगामि दिनमा झनै बढ्नै जाने अवस्था रहेकोले सचेत हुनुपर्ने लामिछानेको सुझाव छ।

प्रकाशित: २९ श्रावण २०८२ १८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App