२१ असार २०८३ आइतबार
image/svg+xml
अर्थ

गोलभेडा सस्तो, किसानको दुःख महँगो

किसान, भन्छन्: ‘मजदुरलाई ज्याला दिन पनि पुग्दैन’

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितपोलमा व्यावसायिक रूपमा गोलभेडा खेती गर्दै आएका किसान रिखेश्वर भट्टराईको बारीमा अहिले सबैतिर लटरम्म राताराता गोलभेडा फलेका छन् । फागुन १० गतेदेखि रोपेको गोलभेडा सबैतिर लटरम्म फल्दा उनको मुख हँसिलो हुनुपर्ने थियो । तर विडम्बना, त्यसो हुन सकेको छैन, बरु उनको अनुहारमा गहिरो निराशा देखिन्छ ।

हरियालीले ढाकिएको गोलभेडाको बारी हेर्दा यसपालि राम्रो आम्दानी हुने आशा पलाएको थियो । तर फलेको गोलभेडा अहिले प्रतिकेजी १२ रुपैयाँमा बेच्नुपर्दा उनलाई चित्त दुखेको छ । “१२ रुपैयाँमा गोलभेडा बेच्नु भनेको उत्पादन बेच्नु होइन, घाटा बेच्नु हो,” उनी भन्छन्, “यति मूल्यले त मजदुरलाई गोलभेडा टिप्न दिएको ज्याला पनि पुग्दैन । बरु खेतमै कुहिन दिनु नै सस्तो पर्छ जस्तो अवस्था आएको छ ।”

यति गोलभेडा फलाउन उनले बीउदेखि मल, विषादी, सिँचाइ, प्लास्टिक टनेल, डोरी, बाँस, यातायात र मजदुरीसम्म जोड्दा लाखौँ रुपैयाँ लगानी परेको सुनाए । उनले ४५ रोपनी जग्गा भाडामा लिएर झण्डै एक दशकदेखि व्यावसायिक गोलभेडा खेती गर्दै आएको जनाए । उनका अनुसार जग्गाको भाडा मात्रै वार्षिक १५ लाख रुपैयाँ तिर्नुपर्छ ।

उनी भन्छन्, “एक केजी गोलभेडा टिप्न मजदुरलाई १५ देखि २० रुपैयाँसम्म ज्याला दिनुपर्छ । अहिले बजारले दिएको मूल्य १२ रुपैयाँ मात्रै छ । यसरी बेच्दा प्रत्येक केजीमा घाटा हुन्छ ।”

उनी आफूसहित श्रीमती र कलेज पढ्ने एक छोरी पूर्ण रूपमा यही काममा लागेको बताउँछन् । यतिले मात्रै नपुगी एक दर्जन मजदुरलाई मासिक तलब दिएर काम गराइरहेको जानकारी गराए ।

उनका अनुसार आफूले प्रतिकेजी १२ रुपैयाँमा गोलभेडा बेच्दा पनि उपभोक्ताले बजारमा ४०, ५० वा ६० रुपैयाँसम्म तिर्नुपरेको छ । बीचको मूल्य कहाँ जान्छ? यो प्रश्न वर्षौँदेखि दोहोरिँदै आएको छ । किसानले न्यून मूल्य पाउँछन्, उपभोक्ताले महँगो किन्छन्, तर दुवै सन्तुष्ट छैनन् । यसले कृषि बजार व्यवस्थापनमा अझै पनि गम्भीर कमजोरी रहेको स्पष्ट संकेत गर्ने उनको भनाइ छ ।

बजारमा उत्पादन बढी भयो भने मूल्य एकाएक घट्छ । उत्पादन कम भयो भने उपभोक्ताले महँगो मूल्य तिर्नुपर्छ । दुवै अवस्थाको भार अन्ततः किसान र उपभोक्ताले नै बोक्नुपर्ने उनको दुखेसो छ ।

कृषि विज्ञहरूका अनुसार शीतभण्डारको अभाव, प्रशोधन उद्योगको कमी, प्रभावकारी बजार सूचना प्रणाली नहुनु, न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन नहुनु तथा बिचौलियाको प्रभाव बढ्नु यस समस्याका प्रमुख कारण हुन् । यही कारण पछिल्ला वर्षहरूमा धेरै युवाहरू आधुनिक व्यावसायिक खेतीतर्फ आकर्षित भए पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । विदेशबाट फर्किएर पनि धेरैले कृषि रोजे, तर बारम्बार दोहोरिने मूल्य अस्थिरताले उनीहरू निराश बन्दै गएका छन् ।

कृषकहरू उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने प्रणाली, सरकारी खरिद, शीतभण्डारको विस्तार, प्रशोधन उद्योगको स्थापना तथा बिचौलियाको नियन्त्रणको माग गरिरहेका छन् । उनीहरूको भनाइ छ, किसानले उत्पादनको उचित मूल्य पाए मात्रै कृषि पेशा दिगो र सम्मानजनक बन्न सक्छ । कृषि उत्पादनको मूल्य निर्धारणदेखि बजार व्यवस्थापनसम्म राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेसम्म यस्ता समस्या दोहोरिरहने किसानहरूको गुनासो छ ।

नेपाललाई कृषिप्रधान देश भनिए पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने अवस्था कायम रहँदासम्म त्यो नारा व्यवहारमा सार्थक बन्न नसक्ने किसानहरूको भनाइ छ । त्यसकारण आफूहरूलाई सहानुभूति होइन, उचित मूल्य, न्यायपूर्ण बजार व्यवस्था र दीर्घकालीन कृषि नीति आवश्यक भएको उनीहरू औँल्याउँछन् । किसानको पसिनाको सम्मान हुने दिन मात्रै नेपालको कृषि क्षेत्र वास्तवमै समृद्धिको आधार बन्न सक्छ, उनीहरूको भनाइ छ ।

विगत १० वर्षदेखि च्याउ खेती गर्दै आएका भक्तपुरका अर्का किसान दयाराम मचामसी आफूले च्याउखेती थाल्दा प्रतिकेजी च्याउ १५० रुपैयाँमा बेच्ने गरेको र अहिले १० वर्षपछि पनि प्रतिकेजी १५० देखि २०० रुपैयाँमै बेच्दै आएको जानकारी गराए । “यसरी किसान कहिले उकासिन्छ?” उनको गम्भीर प्रश्न थियो ।

प्रकाशित: १५ असार २०८३ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App