जुम्लामा पछिल्लो समयमा उद्योग खारेजी गर्नेको सङ्ख्या बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा खारेजीतर्फ १८०, दर्तातर्फ १८८ र नवीकरणतर्फ ३३४ वटा उद्योग भएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख टङ्कप्रसाद न्यौपानेले जानकारी दिए।
यसैगरी वाणिज्यतर्फ ६१ वटा उद्योग दर्ता भएका छन्। नवीकरणतर्फ ५८ र खारेजी ५२ वटा उद्योग भएका छन्। उक्त आवमा विभिन्न शीर्षकअन्तर्गत करिब १६ लाख २५ हजार राजस्व सङ्कलन भएको प्रमुख न्यौपानेको भनाइ छ।
चालु आवको भदौसम्म ४३ वटा नयाँ उद्योग दर्ता भएका छन्। नवीकरण ११९, खारेजी पाँचवटा भएका छन्। वाणिज्य उद्योगतर्फ ११ दर्ता भएको प्रमुख न्यौपानेको भनाइ छ। पछिल्लो समयमा जिल्लामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ। उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ।
विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ। दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फका उद्योग रहेको कार्यालयले जनाएको छ। रासस
प्रकाशित: १८ आश्विन २०८३ ०६:३८ आइतबार





