इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल जोगाउन संरक्षण कार्य सुरु गरिएको छ।
कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय इलाममार्फत बाढीको जोखिममा रहेको पुल नियन्त्रणका लागि तारजालीसहितको पर्खाल निर्माण थालिएको हो।
पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर रञ्जय सिंहका अनुसार पुल संरक्षणका लागि ५० लाख रुपैयाँ बजेट स्वीकृत भई ‘भिमका कन्स्ट्रक्सन एण्ड सप्लायर्स’ सँग ४१ लाख ५३ हजार ७७४ रुपैयाँमा ठेक्का सम्झौता भएर काम अघि बढेको छ।
कार्यालयले सो क्षेत्रमा स्थायी बाँध निर्माणका लागि ३ करोड रुपैयाँ माग गरे पनि हाल ५० लाख मात्र प्राप्त भएकाले प्राप्त बजेटबाटै प्राथमिकताका आधारमा काम सुरु गरिएको उनले बताए।
प्रसिद्ध धार्मिकस्थल गजुरमुखीधाम नजिकै रहेको उक्त पुल गत असोज १८ गतेको बाढीले क्षतिग्रस्त बनाउनुका साथै आसपासका आठवटा घर बगाएको थियो।
त्यसपछि प्रदेश सरकारको १० लाख रुपैयाँ लागतमा बनाइएको अस्थायी ड्याम पनि गत असार पहिलो साताको बाढीले बगाएपछि अहिले तारजालीसहितको पर्खाल निर्माण थालिएको हो।
संरक्षणको काम सुरु भएसँगै बर्खायाममा खोलाको कटानबाट पुल जोगिने आशा पलाएको स्थानीय खगेन्द्र तामाङले बताए।
यस्तै माङसेबुङ गाउँपालिका-१ का वडाअध्यक्ष भूपाल योङहाङले निर्माण कार्यलाई गुणस्तरीय र दिगो बनाउन स्थानीय तहका तर्फबाट निरन्तर अनुगमन भइरहेको जानकारी दिए।
प्रकाशित: २५ श्रावण २०८३ २०:०२ सोमबार





