२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

कम्पनीले टेन्डर गरिसकेको रासायनिक मल खरिद गर्न सकेन

कृषि सामग्री कम्पनी लिमिटेडले चालु आव २०८२/८३ मा टेन्डर गरिएअनुसारको ५२ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न सकेन।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार चालु आवका लागि चार लाख २१ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्ने लक्ष्य राखिएको थियो। लक्ष्यमध्ये तीन लाख ५९ हजार एक सय मेट्रिक टन रासायनिक मल खरिद गर्न टेन्डर गरिएको थियो। त्यसमध्ये तीन लाख सात हजार मेट्रिक टन मल आपूर्ति भएको छ।

कम्पनीले लक्ष्य बमोजिको ६० हजार नौ सय मेट्रिक टन रासायनिक मल खरिद गर्न बजेट अभाव भएको हुँदा टेन्डर नै गर्न सकेको छैन।

सरकारले कृषि सामग्री कम्पनी लिमिटेडलाई चालु आवमा मल खरिदका लागि २० अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। कम्पनीले टेन्डर गरेको मलमध्ये युरिया दुई लाख ३४ हजार मेट्रिक टन, डिएपी ५५ हजार पाँच सय मेट्रिक टन र पोटास १७ हजार पाँच सय मेट्रिक टन आपूर्ति गरिसकेको छ।  

आपूर्ति गरिएको मलमध्ये युरिया एक लाख ६५ हजार नौ सय आठ मेट्रिक टन, डिएपी एक लाख चार हजार मेट्रिक टन र पोटास पाँच हजार दुई सय १४ मेट्रिक टन बिक्री वितरणसमेत भइसकेको कम्पनीले जनाएको छ।  

कम्पनीले आइतबारसम्म दुई लाख ७५ हजार एक सय २२ मेट्रिक टन मल बिक्री वितरण गरेको छ। कम्पनीसँग हाल एक लाख ४४ हजार ५३ मेट्रिक टन मल मौज्दात छ। सरकारले कम्पनीलाई युरिया डिएपी पोटास आपूर्तिका लागि चालु आव लक्ष्यको ७० प्रतिशत मल खरिद गर्ने जिम्मा दिएको थियो। 

विनियोजित बजेटमध्येबाटै टेन्डरमा उल्लेख भएअनुसारको रासायनिक मल खरिद गर्नुपर्ने थियो तर बजेट अभावका कारण थप मल खरिद गर्ने प्रयोजनका लागि टेन्डर नसकिएको कम्पनीका प्रबन्ध सञ्चालक पोखरेल बताउँछन्। अमेरिकी डलरको मूल्य बढेकाले कम्पनीका लागि विनियोजित बजेटले टेन्डर भएको मल खरिद गर्न नसकिएको प्रबन्ध सञ्चालक पोखरेलले बताए।  

टेन्डर गरिसकिएको मल खरिद गर्न कात्तिकदेखि नै सरकारसँग बजेट थप गरिदिन माग गर्दा पनि नसकिएको प्रबन्ध सञ्चालक पोखरेलले बताए। उनका अनुसार बजेट थप गर्न कृषि मन्त्रालयमा समेत अनुरोध गरिएको भए पनि बजेट थप हुन सकेन। बजेट विनियोजन भए थप २५ हजार मेट्रिक टन मल आपूति गर्ने सकिने प्रबन्ध सञ्चालक पोखरेलको भनाइ छ।  

कम्पनीले हाल टेन्डर गरिसकेको मल आगामी नयाँ बजेटबाट खरिद गर्ने गरी मन्त्रालयमा सहमति गरेको छ। नयाँ बजेटबाट मल खरिद गर्ने गरी ९० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डिएपी मलको टेन्डरसमेत आह्वान गरिसकेको प्रबन्ध सञ्चालक पोखरेल बताउँछन्।

प्रकाशित: २६ माघ २०८२ २०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App