बजारमा बिक्री हुने अखाद्य वस्तुको गुणस्तर कायम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गरेको छ । न्यून गुणस्तरका खाद्य वस्तु बिक्री हुँदा मानवस्वास्थ्यमा असर पर्ने भएकाले विभागले बजारबाट नमुना संकलन गरेर गुणस्तरहीन फेला गरे कारबाही अघि बढाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी खाद्यान्न, तरकारी लगायत खाद्य वस्तुको करिब साढे २३ हजार नमुना परीक्षण गरेको विभागले जनाएको छ । विभागका अनुसार खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा पाँच सय ६६ नमुना संकलन गरिएको छ ।
त्यसैगरी आयातित तरकारी तथा फलफूलमा जीवननाशक विषादीको १७ हजार आठ सय ३४ नमुनाको आरबिपिआर विधिबाट विषादीको अवशेष परीक्षण, आयात, निर्यात नियमका पाँच हजार तीन सय ४६ नमुनाको प्रयोगशाला जाँच गरिएको विभागले जनाएको छ ।
बजारमा विषादीयुक्त खाद्यवस्तु तथा तरकारीको बिक्रीवितरण नहोस् भने नमुना संकलन गरी परीक्षण गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन् । ‘न्यून गुणस्तरका खाद्यवस्तु बजारमा भेटिए कारबाही गर्छौं’, महानिर्देशक वैद्यले भनिन्, ‘नमुना परीक्षणमा कैफियत देखिए कारबाही गर्छौं ।’
विभागले चालु आवको साउनदेखि असोज मसान्तसम्ममा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनबाट नमुना संकलन गरेको हो । विभागका अनुसार नमुनाहरूको विश्लेषण परीक्षण मध्ये खाद्यान्न/दलहनजन्यका एक सय १७ वटा, प्रशोधित पिउने पानीका ३५ वटा, फल तथा सागपात जन्य पदार्थका २८ वटा, तेल तथा घ्युजन्य पदार्थका ४९, मसलाका २९ वटा, दुध तथा दुग्ध पदार्थका २९ वटा, चिया/कफीका १३ वटा, गुलियो पदार्थ/कन्फक्सरीका १५ वटा, मासु तथा मासुजन्य पदार्थका दुईवटा नुनको एउटा र अन्य खाद्य पदार्थका १४ वटा नमुना परीक्षण भएको छ ।
अन्य खाद्य पदार्थका १४ वटा नमुना परीक्षण मध्ये दुध तथा दुग्ध पदार्थ एउटा, प्रशोधित पिउने पानी चार वटा, तेल तथा ध्यू जन्य पदार्थका एउटा र खाद्यन्न तथा दलहनका पाँच वटा गरी जम्मा ११ वटा नमुना परीक्षण गर्दा प्रतिकूल पाइएको छ ।
खाद्य ऐन तथा नियम अनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेकोमा कसुरमा १७ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी प्रवक्ता डा.बालाकुमारी शर्माले बताइन् । दायर गरिएका १७ मुद्दामध्ये तेल तथा ध्युजन्य पदार्थका ११ वटा, दुध तथा दुग्ध पदार्थका एउटा, फल तथा सागतपात जन्य पदार्थका दुई वटा, खाद्यान्न/दलहनको एउटा, मसला एउटा र चिया/कफीको एउटा मुद्दा रहेको उनको भनाइ छ । मुद्दामध्ये १५ वटा मुद्दा न्यून गुणस्तर र दुई वटा मुद्दा लेबल सम्बन्धीको रहेको उनले बताइन् ।
विभागकी प्रवक्ता शर्माका अनुसारका अनुसार प्रथम त्रैमासिक अवधिमा स्वच्छता सर्भिलेन्स अन्तर्गत नौ सय वटा नमुनाहरू संकलन गरिएको थियो भने खाद्य/दानाउद्योग, होटल, रेष्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजुरीउपर कारबाहीलगायत दुई हजार नौ सय १८ पटक निरीक्षण अनुगमन गरिएको थियो ।
प्रथम त्रैमासिकमा नयाँ उद्योग अनुज्ञापत्र जारी दुई सय ६० वटा, उद्योग अनुज्ञापत्र नवीकरण एक सय ८१ वटा तथा नयाँ उद्योग स्थापना गर्न सिफारिस तीन सय ४८ वटा गरी जम्मा सात सय ८९ वटा उद्योगलाई नियमन गरिएको छ ।
प्रवक्ता शर्माका अनुसार प्रथम त्रैमासिक अवधिको चाडपर्वलक्षित अनुगमनका क्रममा उपभोग्य मिति समाप्त भएका, खाद्य अनुमति पत्र नलिएका पूर्ण लेबल विवरण नभएका, स्थलगत परीक्षणमा कैफियत देखिएका र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ऐन विपरीत रहेकोमा ११ लाख ५६ हजार दुई सय ६ रुपैयाँ बराबरको खाद्य पदार्थ जफत तथा नष्ट गरिएको छ ।
उक्त मूल्य बराबरको जफत तथा नष्ट गरिएका खाद्य पदार्थहरूमा म्याद गुज्रिएका, लेबल नगरिएका, न्यूनस्तरका तथा दूषित खाद्य पदार्थ (मिठाई, पेय पदार्थ, मसला, खाद्यन्न, बियर, दालमोठ, चिप्स, मिट मसाला, चिजबल, मैदा, सुजी, जुस, हल्का पेय पदार्थ र तेल रहेको उनको भनाइ छ ।
प्रथम त्रैमासिक अवधिमा पाँच हजार ६ सय ४९ वटा खाद्य पदार्थको आयात अनुमतिपत्र जारी गरिएको छ । जाइफल, दाल, रसगुल्ला, राजभोग, गुलाब जामुन, खाद्यन्न/दलहन, रसबरी, चिप्स लगायतका खाद्य पदार्थहरू गरी ५४ वटा कन्साइन्मेन्टहरूको अनुमति अस्वीकृत गरिएको प्रवक्ताले बताइन् ।
प्रथम त्रैमासिक अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुस्तर प्रमाणीकरण कार्यालयहरूमा १४ हजार पाँच सय ५९ वटा नमुना संकलन भएकोमा जाँच विश्लेषण गरी नियमन गरिएकोमा १६ वटा नमुना प्रतिकूल रहेको छ ।
९३ वटा आहारपूरक खाद्य पदार्थको उत्पादन दर्ता र तीन सय ४७ वटा आहारपूरक खाद्य पदार्थको नवीकरण समेत गरी जम्मा चार सय ४० वटा आहारपूरक खाद्य पदार्थ नियमन गरिएको छ । राष्ट्रिय खाद्य तथा दाना रेफेरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूबाट ऐन नियम कार्यान्वयनका क्रममा संकलित नमुना, खाद्य उद्योग अनुज्ञापत्रका लागि संकलित नमुनाहरू लगायत सेवाग्राहीबाट अनुरोध भई आएका नमुनाहरूको प्रयोगशाला जाँच परीक्षण गरिएको छ ।
प्रकाशित: ३० कार्तिक २०८२ २०:३२ आइतबार





