२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा ‘स्ट्रेन्थलिफ्टिङ’ प्रतियोगिता हुँदै, १५० खेलाडी भिड्ने

कपिलवस्तुका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले सदरमुकाम तौलिहवामा ‘प्रथम कपिलवस्तु तिलौराकोट आइरन मेन एण्ड वोमन कप’ राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाईन बेन्च प्रेस प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

कपिलवस्तु जिल्ला स्ट्रेन्थलिफ्टिङ संघको आयोजनामा आगामी मंसिर १२ र १३ गते तौलिहवास्थित नेपाल बाल संगठनको सभाहलमा प्रतियोगिता सञ्चालन हुनेछ।

संघले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो।

देशभरका १५० खेलाडी सहभागी हुने

प्रतियोगितामा देशभरका करिब १५० जना महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहनेछ। आयोजक संघका अध्यक्ष बलराम न्यौपानेका अनुसार विभिन्न तौल र उमेर समूहका आधारमा खेलाडीहरू बिच प्रतिस्पर्धा हुनेछ।

अध्यक्ष न्यौपानेले कपिलवस्तु जिल्लाबाटै सुरुवात भएको यो खेलको राष्ट्रिय प्रतियोगिता आयोजना गरिनु आफैमा उदाहरणीय कार्य भएको बताए।

प्रतियोगितामा पुरुषतर्फ सब–जुनियर (१८ वर्षमुनि), जुनियर (२३ वर्षमुनि) र सिनियर समूहमा ५२, ६०, ६८, ७६, ८५ र ८५ किलोभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ। त्यस्तै, ४० देखि ६० वर्षभन्दा माथिका खेलाडीका लागि ‘मास्टर’ वर्गमा छुट्टै प्रतिस्पर्धा गराइनेछ।

महिलातर्फ ५८, ६५ र ६५ किलोभन्दा माथिको तौल समूह तथा ३८ वर्षभन्दा माथिका लागि मास्टर वर्गमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। कुल १६ वटा वर्गमा प्रतिस्पर्धा गराइनेछ।

राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ महासंघका महासचिव जीवन गिरीले प्रतियोगिताले कपिलवस्तुका पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले भने, ‘खेलकुदको माध्यमबाट भगवान् गौतम बुद्धको नगरी र बुद्धसँग जोडिएका तिलौराकोट लगायतका पर्यटकीय स्थलहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्नु हाम्रो मुख्य उद्देश्य हो।’

निर्णायक टोलीका प्रमुख विजेन्द्रमान श्रेष्ठका अनुसार ‘वर्ल्ड स्ट्रेन्थलिफ्टिङ’ को नयाँ नियमअनुसार खेल सञ्चालन हुनेछ। जसअनुसार हरेक तीनवटा लिफ्टमा उठाइएको तौलमध्ये एकवटा लिफ्ट मात्र मान्य हुनेछ।

प्रतियोगिताका हरेक विधा र समग्र (ओभरल) विजेता खेलाडीहरूलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा आगामी वर्ष २०८३ मा हुने दोस्रो संस्करणको राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ प्रतियोगिता कपिलवस्तुको कृष्णनगरमा आयोजना गरिने घोषणा समेत गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८२ १७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App