असामान्य आन्तरिक तथा बाह्य चुनौतीबिच चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रले ३.८५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वृद्धि लक्ष्यको करिब आधा कम हुने देखिएको छ । कमजोर आर्थिक धरातालबिच सुधारका केही संकेत देखिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार विश्वव्यापी भूराजनीतिक तनाव, मध्यपूर्वको द्वन्द्व, इन्धन मूल्यवृद्धि, बेमौसमी वर्षा, बाढीपहिरो तथा आन्तरिक राजनीतिक अस्थिरताले अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ । यी यावत् चुनौतीका बाबजुद अर्थतन्त्र सकारात्मक वृद्धिदरमा रहनुलाई सरकारले उत्साहजनक मानेको छ।
व्यापार घाटा, सुस्त कर्जा प्रवाह, सार्वजनिक ऋण वृद्धि तथा कमजोर औद्योगिक उत्पादनजस्ता चुनौती अझै कायम छन् । अर्थतन्त्रमा सुधारका संकेत देखिए पनि दीर्घकालीन स्थायित्वका लागि उत्पादन, रोजगारी र लगानी वृद्धि आवश्यक देखिएको छ । सर्वेक्षणले नेपालको अर्थतन्त्र संकटबाट पूर्ण रूपमा बाहिर निस्किएको छैन । तर स्थायित्वतर्फ उन्मुख भएको संकेत गरेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको भए पनि आर्थिक वृद्धि ३.८५ प्रतिशतमा खुम्चिने भएको छ । गत आर्थिक वर्ष ४.४३ प्रतिशत आर्थिक वृद्धि भएको थियो।
सर्वेक्षणले अर्थतन्त्रका अधिकांश सूचक अझै दबाबमा रहे पनि सामाजिक तथा वित्तीय पहुँचसम्बन्धी सूचकमा सुधार देखाएको छ । मुद्रास्फीति भने नियन्त्रणभित्र देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित छ । गत वर्षको सोही अवधिमा ४.७२ प्रतिशत थियो । मुलुकको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ करोड रुपैयाँ पुग्ने अनुमान छ । प्रदेशगत रूपमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७ प्रतिशत तथा कर्णाली प्रदेशको सबैभन्दा कम ४.२ प्रतिशत छ।
राजस्व परिचालनमा सामान्य सुधार देखिए पनि सरकारी खर्चको गुणस्तर कमजोर देखिएको छ । चालु आवको फागुनसम्म संघीय सरकारले ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा थोरै बढी हो । पुँजीगत खर्च अपेक्षाअनुसार बढ्न सकेको छैन । कुल सरकारी खर्च नौ खर्ब २६ अर्ब पुगे पनि विकास निर्माणतर्फ खर्च न्यून रहँदा बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको छ । सरकारको वित्तीय सन्तुलन ५८ अर्ब रुपैयाँभन्दा बढी घाटामा पुगेको छ । वैदेशिक ऋण तथा अनुदान प्रतिबद्धता पनि उल्लेख्य रूपमा घटेको छ । फागुनसम्म वैदेशिक सहायता प्रतिबद्धता ७२ अर्ब रुपैयाँमा सीमित हुँदा अघिल्लो वर्ष यही अवधिमा दुई खर्ब २२ अर्ब रुपैयाँ बराबर प्रतिबद्धता प्राप्त भएको थियो । बैंकिङ क्षेत्रमा तरलता बढे पनि कर्जा प्रवाह सुस्त देखिएको छ । निक्षेप ६ प्रतिशतभन्दा बढीले बढ्दा कर्जा विस्तार करिब ७ प्रतिशतमा सीमित भएको छ । यसले निजी क्षेत्रको लगानी तथा औद्योगिक गतिविधि अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ।
मुलुकमा वित्तीय पहुँच विस्तार भने तीव्र रूपमा भएको छ । एक वर्षमा ३६ लाख नयाँ निक्षेप खाता थपिएका छन् भने डिजिटल कारोबार उल्लेख्य बढेको छ । क्युआरमा आधारित कारोबार एक खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ । क्युआरमा आधारित भुक्तानी तथा मोबाइल बैंकिङ कारोबारमा तीव्र वृद्धि हुँदा एटिएम र कार्ड कारोबार घटेका छन् । बाह्य क्षेत्र भने तुलनात्मक रूपमा सुदृढ देखिएको छ । फागुनसम्म शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब रुपैयाँ बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब रुपैयाँ नाघेको छ । उक्त सञ्चितिले १८ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ । व्यापार घाटा भने बढेको छ । वस्तु निर्यात एक खर्ब ९१ अर्ब रुपैयाँ पुगे पनि आयात १२ खर्ब ८९ अर्ब रुपैयाँ बराबर भएको छ । व्यापार घाटा १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । अर्थतन्त्र अझै आयात र उपभोगमा निर्भर रहेको सर्वेक्षणले देखाएको छ । उपभोग संरचनामा पनि परिवर्तन देखिएको छ । कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशतभन्दा बढी हिस्सा उपभोगमै खर्च हुने आर्थिक सर्वेक्षणमा उल्लेख छ । खाद्य वस्तुमा खर्चको हिस्सा उच्च रहे पनि सेवा तथा गैरखाद्य क्षेत्रमा खर्च क्रमशः बढ्दै गएको देखिएको छ।
ऊर्जा क्षेत्रमा भने उल्लेखनीय प्रगति भएको छ । विद्युत् पहुँच ९९ प्रतिशत जनसंख्यामा पुगेको छ । कुल जडित विद्युत् क्षमता चार हजार १०० मेगावाट नाघेको छ । चालु वर्ष फागुनसम्म भारततर्फ दुई हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात गरिएको छ । ऊर्जा पहुँच बढे पनि पेट्रोलियम पदार्थको खपत भने घटेको छ । पेट्रोल, डिजेल, एलपी ग्यास र हवाई इन्धनको बिक्रीमा गिरावट आएको छ । यसलाई आर्थिक गतिविधिको सुस्तता, वैकल्पिक ऊर्जाको प्रयोग तथा उपभोग व्यवहारमा आएको परिवर्तनसँग जोडेर हेर्न सकिन्छ । कृषि क्षेत्रमा मौसमको प्रतिकूल असर परेको छ । तराईमा धान रोप्ने समयमा खडेरी र बाली भिœयाउने समयमा अत्यधिक वर्षाका कारण धान उत्पादन घटेको छ । त्यसको असर समग्र कृषि उत्पादनमा परेको छ।
सिँचाइ पूर्वाधार विस्तार भए पनि ठुला आयोजनाको प्रगति सुस्त छ । कृषियोग्य जमिनको ४४ प्रतिशतभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पर्यटन क्षेत्रमा भने सुधारको संकेत देखिएको छ । सन् २०२५ मा नेपाल आउने पर्यटक संख्या ११ लाख ६२ हजार पुगेको छ । पर्यटकको औसत बसाइ अवधि १६ दिनभन्दा बढी पुगे पनि दैनिक खर्च घटेको देखिएको छ।
सामाजिक सूचकहरू अपेक्षाकृत सकारात्मक देखिएका छन् । बहुआयामिक गरिबी घटेर १७.४ प्रतिशतमा झरेको छ भने मानव विकास सूचकांक ०.६२२ पुगेको छ । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिक संख्या पनि निरन्तर बढिरहेको छ । स्वास्थ्यतर्फ मातृ तथा शिशु मृत्युदर घटेको छ भने शिक्षा क्षेत्रमा भर्ना दरमा सुधार आएको छ । तर सिकाइ उपलब्धि कमजोर रहेको तथ्यांकले देखाएको छ । विशेष गरी गणित विषयमा विद्यार्थीको न्यूनतम उपलब्धि चिन्ताजनक देखिएको छ । सडक, विद्युत्, डिजिटल सेवा र वित्तीय पहुँच विस्तारमा प्रगति भए पनि उत्पादनमूलक क्षेत्र, औद्योगिक विस्तार र सार्वजनिक लगानीको प्रभावकारितामा अझै चुनौती कायम रहेको आर्थिक सर्वेक्षणले औंल्याएको छ । उद्योग तथा लगानी क्षेत्रमा पनि केही सकारात्मक संकेत देखिएका छन् । फागुनसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन् भने कुल ७ हजार ९५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । त्यसैगरी वैदेशिक क्षेत्रतर्फ विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ७० करोड पुगेको छ । विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ । जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ।
अर्थतन्त्रको चित्र
- कृषि क्षेत्रको योगदान २४ प्रतिशत
- गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत
- प्रतिव्यक्ति आम्दानी १,५१३ अमेरिकी डलर पुग्ने अनुमान
- राजस्व संकलन १२ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ
- सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब ३० करोड रुपैयाँ
-औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित
-बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले वृद्धि
-कुल निक्षेप ७७ खर्ब ४५ अर्ब ८८ करोड रुपैयाँ
-विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि
-विदेशी मुद्रा सञ्चितिले १८.५ महिनाको आयात
-स्वीकृत वैदेशिक लगानी ६ खर्ब २५ अर्ब ५८ करोड
-पर्यटकको औसत बसाइ अवधि १६.३४ दिन
-विद्युत पहुँच ९९.१ प्रतिशत जनसंख्यासम्म
-भारततर्फ २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात
-निरपेक्ष गरिबी २०.२७ प्रतिशत
-मानव विकास सूचकांक ०.६२२
-नेपालीको औसत आयु ७१.३ वर्ष
-व्यापार घाटा अझै उच्च अवस्थामा
-निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त
-सार्वजनिक ऋण निरन्तर बढ्दो क्रम
प्रकाशित: १४ जेष्ठ २०८३ ०८:४९ बिहीबार





