१ आश्विन २०८३ बिहीबार
image/svg+xml
अर्थ

सेयर बजारले पत्याएन सरकारलाई

कारोबारमा पुँजीगत लाभकर ५० प्रतिशतले घट्यो

सरकारले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर ५० प्रतिशतले घटाएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा ५ प्रतिशत र दीर्घकालीन अवधिको कारोबारमा नाफाको ३.५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो।

यो निर्णय कार्यान्वयनमा आएपछि सेयर कारोबारमा ३६५ दिनभन्दा बढी धितोपत्र होल्ड गर्ने लगानीकर्ताले अब नाफामा ३.५ प्रतिशत र सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले ५ प्रतिशत कर तिर्नुपर्ने छ। हाल एक वर्षभन्दा बढी अवधि धितोपत्र होल्ड गर्नेले नाफामा ७.५ प्रतिशत तथा सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले नाफामा १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।

‘नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीको सेयर बिक्रीबाट प्राप्त लाभ, विनिमय बजारको कार्य गर्ने कम्पनीले प्राकृतिक व्यक्तिका हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको सेयरमा लाभ रकमको ३.५ प्रतिशत र एक वर्ष वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयरको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। अब यो निर्णय राजपत्रमा प्रकाशन गरेकै दिनबाट कार्यान्वयनमा आउने छ।

सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर ५ र ७.५ प्रतिशतबाट बढाएर क्रमशः ७.५ र १० प्रतिशत पुर्‍याएको थियो। यसअघि गत सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पुँजी बजार सुधार कार्यायोजना ल्याउँदै त्यसमा पुँजीगत लाभकर घटाएर ३.५ र ५ प्रतिशत कायम गर्ने उल्लेख गरेका थिए। बुधबार अर्थमन्त्री वाग्लेको सो प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो।

यसअघि मुलुकको सेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले गरेको सो निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो। अर्थमन्त्री वाग्लेले सोमबार सेयर बजार सुधारका लागि पुँजीगत लाभकर ५० प्रतिशत घटाउने गरी २१ बुँदे कार्ययोजना ल्याएका थिए।

मन्त्री वाग्लेले उक्त कार्ययोजना ल्याएपछि मंगलबार सेयर कारोबार उकालो लागेको थियो तर बुधबार फेरि २१ अंकले बजार घटेको छ। सेयरबजारमा लगानीकर्ता आकर्षण बढाउन अर्थमन्त्री वाग्लेले बजेट भाषणदेखि नै अनेक प्रयास गरिरहेका छन् तर लगानीकर्ताले सरकारलाई पत्याएको देखिन्न।  

प्रकाशित: १ आश्विन २०८३ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App