२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

हाइब्रिड स्याउ उत्पादन गर्न ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थपिने

मुस्ताङको मार्फास्थित ऐतिहासिक शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनलाई तीव्रता दिन टिस्यु कल्चर बायोटेक्नोलोजिस्टको स्थायी दरबन्दी थप गरिने भएको छ।

स्थापना भएको करिब ५० वर्षपछि केन्द्रमा पहिलोपटक भएको मन्त्रिस्तरीय भ्रमणका क्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रतिबद्धता व्यक्त गरिन्।

‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन-२०८३’ को उद्घाटनका लागि मुस्ताङ आइपुगेकी मन्त्री चौधरीले घरपझोङ गाउँपालिका-२ मार्फास्थित केन्द्रको स्थलगत अवलोकन गरेकी थिइन्।

सो क्रममा उनले केन्द्रको प्रदर्शनी कक्षमा राखिएका स्याउलगायत शितोष्ण फलफूल, बेमौसमी तरकारी तथा प्रशोधित कृषि उपजहरूको निरीक्षण गरिन्।

अवलोकनका क्रममा केन्द्रका प्रमुख प्रकाश पन्थले हाइब्रिड स्याउका बिरुवा उत्पादन गर्न ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी अपरिहार्य रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनले केन्द्रका गतिविधि, बजेट अभाव र विद्यमान चुनौतीबारे मन्त्रीलाई अवगत गराए।

जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको अन्तःशुल्कसम्बन्धी बेरुजु समस्या सुल्झाउनुका साथै आवश्यक प्राविधिक दरबन्दी थप्न मन्त्रालयले पहल गर्ने बताइन्।

साथै, सानो बजेटबाट स्याटेलाइट फार्म स्थापना गर्न समय लाग्ने भएकाले यसलाई छुट्टै परियोजनाका रूपमा अघि बढाउन मन्त्रालयमा आवश्यक छलफल गरिने आश्वासनसमेत दिइन्।

विसं २०२३ मा स्थापना भएको यो केन्द्रले मुस्ताङका किसानलाई फलफूल तथा तरकारीखेती र नयाँ प्रविधि हस्तान्तरणमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

हाल चारवटा ब्लकमा करिब ९०० रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रबाट कृषि बालीको उत्पादन, वैज्ञानिक अनुसन्धान, अन्वेषण तथा किसानको क्षमता विकासका कार्य हुँदै आएका छन्।

प्रकाशित: १ आश्विन २०८३ १६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App