१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री र भारतीय विदेश सचिवबिच भेट, भयो भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी दिए।

उनले भ्रमण सफल बनाउन भारत सरकारले आवश्यक गृहकार्य गरिरहेको बताए।

भेटका क्रममा विदेश सचिव मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका थिए।

उनले आजै यस मार्गमा रेलको सफल परीक्षण सञ्चालनसमेत भइसकेको प्रधानमन्त्रीलाई अवगत गराए। साथै, ऊर्जा, जलस्रोत, व्यापार-पारवहन र उड्डयनसम्बन्धी दुई देशबीचका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारीसमेत मिस्रीले गराएका थिए।

सो अवसरमा प्रधानमन्त्री शाहले हालै रसुवा-भोटेकोशीमा आएको बाढीपछि भारतले ‘फर्स्ट रेस्पोन्डर’ का रूपमा राहत सामग्री तथा उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले विपद्का समयमा भारतीय प्रधानमन्त्री मोदीले फोनमार्फत जनाएको ऐक्यबद्धताप्रति समेत धन्यवाद ज्ञापन गरे।

भेटवार्तामा प्रधानमन्त्री शाहले नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग गर्न सकिने सहकार्यबारे समेत विशेष चासो राखेका थिए।

प्रकाशित: १९ कार्तिक २०८३ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App