२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वसभापतिको हैसियतमा असोज १६ को महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको प्रस्ताव

तस्बिर: द्वारिका काफ्ले/नागरिक

नेपाली कांग्रेसका सभापति गगन थापाले असोज १६ गते हुने पार्टीको महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाबाट हुनु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।

उनले देउवालाई पार्टीको पूर्वसभापतिका रूपमा महाधिवेशन उद्घाटन गर्न आउन आग्रह गरे। थापाले पार्टी विधानअनुसार देउवा अब सभापति बन्न नसक्ने पनि बैठकमा स्मरण गराए।

कांग्रेसले असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन प्रारम्भ गर्ने तयारी गरेको छ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका रहेको थापाले जानकारी दिए।

वडा अधिवेशनपछि नगर, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनले बताए। जिल्ला र प्रदेश अधिवेशनका लागि समयको चाप रहेकाले पार्टीका नेताहरू तथा कार्यकर्तासँग थप छलफल गर्दै अघि बढ्ने थापाको भनाइ छ।

उनले महाधिवेशनको प्रक्रियासँगै पार्टीभित्र एकताको वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिएका छन्। पार्टी एकताका लागि सबै पक्ष उभिनुपर्ने उनको आग्रह छ।

प्रकाशित: १ आश्विन २०८३ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App