नेपाल धितोपत्र बोर्डले प्रि–आईपीओ भन्दै सार्वजनिक निष्कासन नभएका विभिन्न सङ्गठित संस्थाको नाममा सेयर बिक्रीको प्रयास नगर्न सचेत गराएको छ ।
सामाजिक सञ्जालहरूमा निकट भविष्यमै केही कम्पनीको आईपीओ निष्कासन हुने भन्दै अनधिकृत रूपमा पैसा उठाइरहेको गुनासो आएपछि बोर्डले यस्तो कार्य तत्काल बन्द गर्न सचेत गराएको हो ।
प्रचलित कानुनमा प्रि–आईपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको स्पष्ट पार्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार यस्ता कार्य दण्डनीय भएकोले कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा सङ्गठित संस्थाले ‘एक पटकमा पचास जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नु पर्नेछ’ भन्ने व्यवस्था स्मरण गराएको छ ।
प्रकाशित: ९ भाद्र २०८२ १८:३२ सोमबार




