सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्च हुनुअगावै ग्राहकहरूलाई लक्षित गर्दै विशेष ‘ह्यान्ड रेजर’ प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत नयाँ स्मार्टफोनको अग्रिम बुकिङ गर्ने ग्राहकले २० हजार ९९९ रुपैयाँसम्मका आकर्षक लाभहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो अफर सोमबारदेखि चार दिनका लागि मात्र लागू हुनेछ। प्रारम्भिक ग्राहक र ब्रान्डप्रति निष्ठावान प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ल्याइएको यस योजनामा ग्राहकले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ एआई सञ्चालित डिभाइस प्रि-रिजर्भ गर्न सक्नेछन्।
प्रि-रिजर्भ गर्ने ग्राहकले दुईवटा मुख्य फाइदा पाउनेछन्। जसमा १५ हजार रुपैयाँ बराबरको १ टिभी सम्मको मेमोरी अपग्रेड र ५ हजार ९९९ रुपैयाँ बराबरको ६० वाटको फास्ट चार्जर निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।
यो एक्सचेन्ज सुविधा विशेषगरी प्रिमियम स्मार्टफोनहरू, ग्यालेक्सी एस २३, एस २४, एस २५ तथा आइडिभाइस १४, १५ र १६ सिरिजमा मात्र उपलब्ध हुनेछ।
यस अफरबारे बोल्दै सामसङ नेपालको एमएक्स डिभिजनका निर्देशक प्रणयरत्न स्थापितले नयाँ प्रविधिमा अपग्रेड हुन चाहने ग्राहकलाई थप मूल्य प्रदान गर्नु अफरको मुख्य उद्देश्य रहेको बताए।
‘ह्यान्ड रेजर अफरमार्फत हामी हाम्रा ग्राहकहरूलाई प्रतिफल दिन चाहन्छौं। उहाँहरूले हाम्रो नवीनतम इनोभेसनमा अपग्रेड गर्ने तयारी गर्दा प्रारम्भिक पहुँच र थप मूल्य प्राप्त गर्न सकून् भन्ने हाम्रो चाहना हो,’ निर्देशक स्थापितले भने, ‘यो कार्यक्रम नेपाली उपभोक्ताहरूलाई स्मार्ट प्रविधि, अर्थपूर्ण लाभ तथा सहज अपग्रेड अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता हो।’
सामसङले आफ्ना अधिकृत स्टोरहरूमार्फत खरिदलाई थप सहज बनाउन ‘सामसङ इन्स्टा फाइनान्स’ को सुविधा पनि उपलब्ध गराएको छ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित यस सेवाअन्तर्गत ग्राहकले शन्य प्रतिशत ब्याजदर र शन्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको किस्ताबन्दीमा नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्।
यो सुविधा लिनका लागि ग्राहकलाई नागरिकताको प्रमाणपत्र मात्र आवश्यक पर्नेछ। यस अफरमा सहभागी हुन ग्राहकले सामसङको आधिकारिक वेबसाइटमा गएर केही सरल चरणहरू पूरा गर्नुपर्नेछ।
वेबसाइटमा गएर ‘ह्यान्ड रेजर’ अफरअन्तर्गत ‘Register Now’ मा क्लिक गरी आफूलाई पायक पर्ने रिटेलर छनोट गर्नुपर्छ।
त्यसपछि आफूले किन्न चाहेको डिभाइस र एक्सचेन्ज गर्न चाहेको पुरानो डिभाइसको विवरण भर्नुपर्छ। पुरानो डिभाइसको अवस्था पुष्टि भइसकेपछि मोबाइलमा प्राप्त हुने ओटिपीको प्रयोग गरी प्रि-अर्डर फारम बुझाउन सकिनेछ।
नयाँ ग्यालेक्सी स्मार्टफोन नेपालमा उपलब्ध भएपछि ग्राहकले आफूले छनोट गरेको रिटेलरको पसलमा सोही ओटिपी देखाएर डिभाइस प्राप्त गर्न सक्नेछन्।
प्रकाशित: ११ फाल्गुन २०८२ २०:४२ सोमबार





