ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दसैंको बेला आवागमनमा कठिनाइ भएको छ। दसैंको टीका थाप्न ठूलो संख्यामा मानिसहरू गाउँ-सहर आवतजावत हुने गर्छ। त्यही बेला वर्षाले अवरोध पुर्याइरहेको छ।
दसैंको तेस्रो दिन बुधबार साँझ प्रमुख ६ वटा राजमार्ग अवरुद्ध भएका छन्। वर्षा भइरह्यो भने कान्ति लोकपथसहित अन्य दर्जनौं राजमार्ग अवरुद्ध हुने सडक विभागका इन्जिनियरहरूको भनाइ छ। प्रमुख राजमार्ग अबरुद्ध हुँदा देशभरि चहलपहल बन्द हुन थालेको छ।
अघिपछि भन्दा दसैं तिहार जस्ता ठूलो चाडपर्वमा चहलपहल र आवागमन बढी हुने गर्छ। यसबाट व्यवसायीहरूलाई फाइदा पुग्छ। केही व्यवसायीहरूले वर्षभरि भएको घाटा दसैंको बेला उठाउने गर्छन् तर यस पटक यातायात व्यवसायीहरू मर्कामा पर्ने देखिएका छन्।
राजधानीसँग जोड्ने देशकै लाइफ लाइन सडक मुग्लिन-नारायणघाट खण्ड मंगलबारदेखि पूर्णतः अबरुद्ध छ। वर्षा रोकिए सो सडक शुक्रबारसम्म खोल्ने तयारी भएको विभागका महानिर्देशक डा. विजय जैशीको भनाइ छ। उनका अनुसार वर्षा नरोकिए शुक्रबार पनि खुल्दैन। त्यसपछि झन् अनिश्चित हुन्छ।
मंगलबार दिउँसो मुग्लिन-नारायणघाट खण्डमा ठूलो ढुंगासहितको पहिरो गएपछि उक्त सडक पूर्ण रूपमा अबरुद्ध छ। मुग्लिन-नारायणघाट सडक अवरुद्ध हुँदा यात्रुहरूले पश्चिमतिर जान पोखरा हुँदै र पूर्वतिर कान्तिलोकपथ र त्रिभुवन राजपथ प्रयोग गर्दै आएका छन्। वर्षा नरोकिए त्रिभुवन राजपथ पनि अबरुद्ध हुने सम्भावना छ। मुग्लिन–नारायणघाट सडक अबरुद्ध हुँदा मुग्लिन–पोखरा खण्डमा अत्यधिक चाप परेको छ। यसबाट काठमाडौंबाट पोखरा जाने यात्रुसमेत प्रभावित हुन थालेका छन्।
विभागका अनुसार मनसुन सक्रिय भएकाले बर्सातका कारण विपद्को घटना हुन नदिन अर्को सूचना नआएसम्म प्रत्येक दिन बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गमा भाडाका सवारी साधन आवागमनमा रोक लगाइएको छ। निजी सवारी साधन भने सञ्चालन हुँदै आएका छन्।
गत असार २४ गते रसुवा गोसाइकुण्ड २ स्थित रसुवागढीमा बाढी आई नेपाल र चीन नाका जोड्ने पुलमा क्षति भएपछि हालसम्म पनि त्यस क्षेत्रको सवारी आवागमन बन्द भएको छ। गत जेठ ६ गते संखुवासभा भोटखोला ४ स्थित वरणखोलामा आएको बाढीले ह्युम पाइप बगाएकाले हालसम्म खाँदबारीदेखि थुमसुर जाने कोसी राजमार्ग पूर्ण रूपमा अवरोध भएको छ। बर्सातभर उक्त राजमार्ग सञ्चालन हुन नसक्ने भएको छ।
यसैगरी कोसी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी डोल्पा त्रिपुरासुन्दरी १ भेरी करिडोर सडक खण्डको चलगाड खोला किनारमा माथिबाट सुक्खा पहिरो आएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध छ।
प्रकाशित: ९ आश्विन २०८२ ०८:५८ बिहीबार





