२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ।

अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले चालु आवको सालबसाली तीन वटै योजना निर्धारित समयअगावै सम्पन्न भएका जानकारी दिए। 

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित कालीगण्डकी नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको छ। रुप्से बिल्डर्स प्रालिले रु २७ लाख ९५ हजारमा ठेक्का पाएको यस योजनामार्फत २६ मिटर पक्की पर्खाल निर्माण भएको छ।

एसके कन्ट्रक्सनले रु १४ लाख ९९ हजारमा ठेक्का पाएको बेनी नगरपालिका–४ सिंगा तातोपानी बस्ती संरक्षण योजनामार्फत माथिल्लो तातोपानी बजारस्थित खेलमैदान क्षेत्रमा तटबन्ध भएको छ।

हरिवर तिवारी निर्माण सेवाले रु २६ लाख ८० हजारमा ठेक्का पाएको मङ्गला गाउँपालिका–२ सिममा म्याग्दी नदी नियन्त्रण योजना पनि सम्पन्न भएको छ। उक्त योजनामार्फत सिमस्थित म्याग्दी नदीको किनारमा ४६ मिटर दूरीमा ग्यावियन पर्खाल निर्माण भएको छ।  

सिमका बासिन्दा ध्रुव केसीले तटबन्ध गरेपछि कटान रोकथाम भई बस्ती र खेतीयोग्य जमिन संरक्षण भएको बताए। तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमिनलाई कटान र बाढीबाट जोगाउन योजनालाई निरन्तरता दिनुपर्ने केसीले बताए। रासस

प्रकाशित: २८ जेष्ठ २०८३ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App