अन्नपूर्ण क्षेत्रमा घुम्न पुगेका विदेशी पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरेको छ।
कोरोना भाइरस संक्रमणपछि सन् २०२३ देखि अन्नपूर्ण क्षेत्रले लगातार रुपमा पाहुना आगमनमा नयाँ रेकर्ड बनाउँदै लगेको थियो।
पछिल्लो तीनवर्षदेखि हरेक वर्षको आगमन संख्याले उचाइ लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले बताएको छ।
एक्याप प्रमुख रविन कडरियाका अनुसार सन् २०२५ मा सबैगरि अन्नपूर्ण क्षेत्रमा २ लाख ९९ हजार ८ सय ३१ जना पाहुना घुमघामका लागि पुगेका छन्।
ती मध्ये तेस्रो मुलुकका विदेशी पाहुनाको संख्या एकलाख २२ हजार २ सय ३ र सार्क मुलुकका पाहुनाको संख्या १ लाख ७७ हजार ६ सय २८ रहेको उनले बताए।
एक्यापका अनुसार यो आगमन सन् २०२४ मा २ लाख ४४ हजार ४५ थियो। सन् २०२३ मा भने सबैगरि १ लाख ९१ हजार ५ सय ५८ जना पाहुना अन्नपूर्ण क्षेत्रमा घुम्न पुगेका थिए।
‘पाहुना आगमनले अन्नपूर्ण क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको छ। विगत तीनवर्षदेखि अन्नपूर्ण क्षेत्रले नयाँ रेकर्ड कायम गर्दै पाहुनालाई स्वागत गरेको छ,’ कडरियाले भने।
कोरोना संक्रमण सुरु हुनुअघि २०१९ मा अन्नपूर्ण क्षेत्रमा सबैगरि १ लाख ८१ हजार पाहुना पुगेका थिए। त्यसपछि खस्केको आगमनमा २०२२ पछि सुधार हुँदै आएको थियो। कडरियाका अनुसार अन्नपूर्ण क्षेत्रमा पुगेका पाहुनामध्ये तेस्रो मुलुकका पाहुनाको आकार भने अझै पनि कमजोर नै रहेको छ।
अन्नपूर्ण क्षेत्रमा यसअघि सबैभन्दा बढी सन् २०१८ मा १ लाख ३३ हजार १ सय ३ जना तेस्रो मुलुकका विदेशी पाहुना पुगेका थिए। त्यो आकार २०१९ मा १ लाख २७ हजार २ सय ९० थियो। त्यसपछिका वर्ष भने कोरोनाले गर्दा आगमन कमजोर बनेको थियो।
त्यो आगमन बढ्दै जाने क्रममा सन् २०२४ मा बल्ल १ लाख ११ हजार ९ सय ५१ पुगेको थियो। २०२५ मा पनि तेस्रो मुलुकका विदेशीको संख्या १ लाख २२ हजार २ सय ३ रहेको छ।
‘समग्र पर्यटक आगमनमा सुधार भएको छ। तर, तेस्रो मुलुकका विदेशीको आगमनले २०१८ को तथ्यांकलाई उछिन्न सकेको छैन। २०१८ को तुलनामा अझै दश हजारले आगमन संख्या कमजोर रहेको छ,’ उनले भने, ‘समग्रमा पर्यटक आगमन बढेको भएपनि तेस्रो मुलुकका पाहुनाको आकार अझै कमजोर छ। तर, सार्क मुलुकका पाहुना आगमन थपिँदा समग्रमा आगमनमा सुधार भने देखिएको छ। नयाँ रेकर्ड कायम गर्न सार्क मुलुकका पाहुनाको आकारले साथ दिएको छ।’
तेस्रो मुलुकका पाहुना भित्र्याउनका लागि भने अझै प्रयास गर्नुपर्ने उनले बताए। २०१८ मा भित्रिएका तेस्रो मूलकका पाहुनाको आकारलाई उछिन्न २०२६ को आगमन सुखद हुनुपर्ने उनले बताए। ‘२०२६ मा मात्र अघिल्लो रेकर्ड (२०१८) जित्न सकिने अपेक्षा छ,’ उनले भने, ‘माहोल राम्रो भयो भने २०२६ मा अहिले भन्दा बढी संख्यामा पाहुना भित्रिनेछन्।’
अन्नपूर्ण क्षेत्रमा १८ वटा ट्रेकिङ रुट छन्। तर, सबैभन्दा बढी संख्यामा पर्यटक जाने अन्नपूर्ण फेरो, मुस्ताङको माथिल्लो भेग र अन्नपूर्ण आधारशिविर (एबिसी)को माथिसम्म मोटर पुगेकोले पनि पाहुना कम भएको आशंका गर्न सकिने उनले बताए।
‘तेस्रो मुलुकका पाहुना नितान्त पदयात्राका लागि अन्नपूर्ण क्षेत्रमा जाने हुन। तर, चल्तीका पदमार्गमा मोटर गुड्दा समस्या थपिएको छ। नयाँ नयाँ पदमार्ग पहिचान पनि भएका त छन्। तर, पुराना र चल्तीका रुटमा मोटर गुड्दै गर्दा पर्यटक आउजाउ कमजोर बनेकै हो,’ उनले भने, ‘अब भने अझै नयाँ गन्तव्य र पदमार्ग पहिचान गर्न जरुरी छ।’
सार्क मुलुकका पाहुनाको आकार बढ्दा अन्नपूर्ण क्षेत्रले हरेक वर्ष ठूलो आकारमा पाहुना पाएको पनि कडरियाले बताए। उनका अनुसार पछिल्लो समय अन्नपूर्ण क्षेत्रभित्रको मुस्ताङस्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीय पाहुनाको आकार बढेको छ।
सात वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनपछि भारतीय पाहुनाको आकर्षण अझै थपिएको पनि उनले बताए।
‘सार्क मुलुकमध्ये पनि भारतीय पाहुनाको आगमन हरेक वर्ष बढिरहँदा एक्याप क्षेत्रले पनि पाहुना पाएको हो,’ उनले भने, ‘अन्नपूर्ण क्षेत्रमा भित्रिने पाहुनाको संख्या हरेक वर्ष थपिनुमा भारतीयको आगमन महत्त्वपूर्ण रहेको छ। भारतीय पाहुनाले गर्दा हरेक वर्ष नयाँ रेकर्ड कायम भएको हो।’
अफसिजन मानिने अहिलेको समयमा पनि अन्नपूर्ण क्षेत्रमा विदेशी पाहुना पर्याप्त रहेको कडरियाले बताए। अहिले पनि एबिसी सहित मनाङ र मुस्ताङका क्षेत्रमा विदेशी पाहुनाको आकार राम्रो रहेको छ।
‘यो पटक त अफसिजनको अहिलेको समयमा पनि पाहुना आगमन राम्रो छ। यो बेला पाहुना कम हुनुपर्ने हो। तर, त्यो भएन। यो पटक पाहुना आगमन उत्साहजनक रहेको छ,’ उनले भने।
प्रकाशित: १७ पुस २०८२ १७:३३ बिहीबार





