सुस्त गतिमा रहेको घरजग्गा व्यवसायमा उल्लेख्य सुधार देखिएको छ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको समग्र कारोबार एक वर्षमै झण्डै दोब्बरले वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबार संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४ दशमलव ७४ प्रतिशतले बढेको छ। यसअघि आर्थिक वर्ष २०८१/८२ मा भने घरजग्गा कारोबार संख्या १ दशमलव ८४ प्रतिशतले खुम्चिएको थियो।
कारोबार रकमका आधारमा पनि बजारमा उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गा कारोबार भएकोमा आर्थिक वर्ष २०८२/८३ मा यो कारोबार रकम दोब्बरले बढेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
यसअघि आव २०८१/८२ मा भने ३ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यसैगरी, राष्ट्र बैंकले देशभरको कित्ताकाट तथा स्वामित्वको विवरणसमेत सार्वजनिक गरेको छ। जसअनुसार हाल देशभर कुल ३ करोड २८ लाख ४७ हजार ६३२ कित्ता जग्गा कायम रहेको छ।
कुल कित्तामध्ये पुरुषको नाममा ६७ प्रतिशतभन्दा बढी अर्थात् २ करोड २० लाख २४ हजार १७० कित्ता जग्गा रहेको छ। महिलाको नाममा भने ९७ लाख ६१ हजार ७९५ कित्ता जग्गाको स्वामित्व रहेको तथ्याङ्कले देखाएको छ। बाँकी कित्ता संस्थागत तथा अन्य स्वामित्वमा रहेको छ।
प्रकाशित: ३० भाद्र २०८३ २१:१३ मंगलबार





