चितवनको रत्ननगरमा रत्ननगर महोत्सव हुने भएको छ। उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा रत्ननगरको टिकौली चौरमा यही पुस २५ देखि माघ ६ गतेसम्म महोत्सव हुन लागेको हो।
आज चितवनको सौराहामा पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ रत्ननगरले चितवनको उद्योग व्यापार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, संस्कृति र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने उद्देश्य महोत्सव गर्न लागेको जानकारी दिएको छ।
‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ गर्न लागिएको यो महोत्सव १३ औँ संस्करण हो। महोत्सवले जेनजी विद्रोहका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान गराउने विश्वास लिइएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक शंकर गिरीले जानकारी दिए। उनका अनुसार महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तरमा उत्पादित वस्तु एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र बहुराष्ट्रिय सेवाको परिचय गराउने ४ सय ५० वटा स्टल रहनेछन्। देशकै तेश्रो पर्यटकीय गन्तव्य स्थल चितवनको सौराहाको प्रवेशद्वारमा रहेको रत्ननगरमा हुने यस महोत्सवले बृहत व्यावसायिक कृषि प्रविधि प्रदर्शनी केरा, माछा च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथानेबाली सँगै पशुजन्य व्यवसायलाई बजारीकरणमा जोड दिने गिरीले बताए।
महोत्सवभित्र महको उत्पादन र बजारीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस पटक दोश्रो चितवन मह उत्सव समेत आयोजना हुने भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनको आयोजनामा मह उत्सव हुन लागेको हो। ११ दिनसम्म चल्ने महोत्सवमा बाल उद्यानसमेत राखिएको छ।
यसपटक महोत्सव प्रवेशका गर्न सर्वासाधारणका लागि ८० र विद्यार्थीका लागि ४० रुपैयाँ शुल्क राखिएको छ। जेष्ठ नागरिक, फरक क्षमता तथा एकल महिलाहरुलाई परिचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवको टिकट काटेका दर्शकका लागि सोही टिकटको आधारमा मौलाकालिका केवलकारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिए।
चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १४ पुस २०८२ १३:२८ सोमबार





