राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार रसुवा भोटेकोशी बाढीमा परेर अझै पनि ५ सय ८३ जना विदेशी पर्यटक सम्पर्कविहीन छन। त्यस्तै विदेशी पर्यटकसँग गएका १ सय ६४ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।
बाढीको चपेटामा परेका मध्ये २ सय ७३ जना विदेशी पर्यटकको सुरक्षित उद्धार पनि भइसकेको प्राधिकरणको भनाई छ। लाङटाङ क्षेत्रको पदयात्रामा गएका र तिब्बतको कैलाश मानसरोवर यात्रामा हिडेका धेरैजना धार्मिक पर्यटक यही बाढीको चपेटामा परेका थिए। बाढीको चपेटामा परेका पर्यटक सम्पर्कविहीन भएपछि उनीहरुका आफन्त त चिन्तित छँदैछन, नेपाल घुमेर फर्केका पर्यटकले पनि नेपालको अहिलेको अवस्थाबारे चिन्ता जनाईरहेका छन।
‘एकपटक नेपाल आएर फर्केका धेरैजसो पर्यटकले नेपालको पछिल्लो अवस्था, नेपाली नागरिकको सुरक्षाबारे चाँसो जनाईरहेका छन। हराईरहेका आफन्तबारे कुनै जानकारी पाउन सकिन्छ की भनेर सोध्ने पनि उत्तिकै छन। नेपालबारे सोधखोज गरेर दिनहुँजसो सन्देश पठाईरहेका छन,’ पदयात्रा व्यावासायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका पूर्व अध्यक्ष धर्मराज पन्थी भन्छन, ‘सिंगो नेपालको बारेमा सोधखोज त छँदैछ, व्यक्तिगत रुपमा कुनै सहयोग आवश्यक पर्ने वा नपर्ने भन्नेसम्मका चाँसो पनि कतिपयले देखाएका छन्।’
बाढीको चपेटामा परेर सम्पर्कविहीन भएका कतिपय परिवारका सदस्यको चाँसो आफ्ना हराएका सदस्यबारे केही जानकारी छ की भनेर सोध्ने रहेको र अरुको चाँसो भने समग्र नेपालको अवस्थाबारे रहेको उनले बताए। नेपालबारे ती विदेशीको चाँसो यतिसम्म छ की पोखरा–काठमाडौं स्थलमार्ग अवरुद्ध भएकोबारे पनि उनीहरु जानकार रहेको पन्थीले बताए।
‘धेरैजसो विदेशीले नेपाली नागरिकको सुरक्षा चाँसोबारे ध्यान दिएका छन। प्रभावित क्षेत्रको अवस्थाबारे उनीहरुलाई चिन्ता छ। कतिपय त त्यही क्षेत्र (बाढीग्रस्त) घुमेर पनि फर्किसकेकोले पनि चाँसो रहनु स्वभाविक हो,’ उनले भने, ‘धेरैतिर मानवीय र भौतिक क्षति भएकोले सोध्नु नराम्रो पनि रहेन।’
नेपालको पछिल्लो अवस्थाबारे उनीहरु जानकार रहेको पनि पन्थीले बताए। अझ कतिपय विदेशीले त आफ्ना देशका नागरिक नेपालको यो विपत्को मारमा परेको भन्दै उनीहरुबारे पनि सोधखोज गरिरहेको उनले बताए। ‘विदेशीको पहिलो सन्देश नै तिमी सञ्चै र सुरक्षित छौ नी भन्ने रहन्छ,’ उनले भने, ‘पुरै नेपाल समस्यामा परेको त होईन, तर, कतिपय सन्देश नेपालभर समस्या छ भन्ने पनि फैलिएको छ। हामीले उनीहरुलाई नेपालमा सबैतिर समस्या होईन भनेपछि बल्ल उनीहरु ढुक्क हुन्छन।’
पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार सम्पर्कविहीन भएका विदेशी पाहुनाका आफन्तहरु अहिले हराएका परिवारका सदस्य खोज्दै नेपाल आउन थालेका छन्। विभिन्न मुलुकबाट आफन्त खोज्दै नेपाल आएका उनीहरुको चाँसो नै हराएका व्यक्तिको अवस्थाबारे थाहा पाउनु रहेको शर्माले बताए। ‘घटनाको सुरुवाती दिनमा सम्पर्कमा आएका आफन्तले हेलिकप्टर लिएर खोज्न किन नगएको भनेर सोध्न पनि भ्याएका थिए। तर, हामीले उनीहरुलाई खोजी र उद्धारको प्रक्रियाबारे जानकारी दिएपछि बल्ल शान्त बनेका थिए,’ उनले भने, ‘अहिले भने हराएका आफन्तबारे पछिल्लो कुनै जानकारी छ की भनेर सोधखोज गर्ने गरेका छन।’
बोर्डले सम्पर्कविहीन भएका पर्यटबारे नियमित सूचना पनि जारी गर्दै आएको उनले बताए। ती बाहेक उद्धार गरिएका वा हराएका भनिएका व्यक्तिबारे पनि सूँची तयार पारेर जानकारी दिने गरेको उनले बताए।
‘पर्यटकबारे हामीसँग उपलब्ध भएको सबै जानकारी दिएका छौं। कतिपय त आफन्तको खोजीमा अस्पतालसम्म पनि धाएका छन। केहीले अस्तपतालको बाहिरपट्टि टाँसिएको तस्बिर पनि हेरेर आएका छन। हराएका वा उद्धार गरिएकाको सूँचीमा कतै आफन्तको नाम भेटिन्छ की भन्ने पनि रहेका छन,’ शर्माले भने।
‘मेरा आफन्त कहाँ होलान् भन्दै आउने धेरैजना रहेका छन। केहीले इमेलबाट पनि जानकारी लिइरहेका छन। हामीले उपलब्ध सूचना उनीहरुलाई दिएका छौ। धेरैजना चिन्तित छन,’ उनले भने। उनका अनुसार केही विदेशीले त आफन्तको पहिचानका लागि लिन थालेको डिएनए प्रोफाइलका लागि नमूना समेत दिन थालेका छन।
‘सरकारले दिएको जे जति जानकारी छ। त्यही जानकारीलाई नै हामीले आधिकारिक मानेर वेपत्ता व्यक्तिका परिवारका सदस्यलाई दिएका छौं। चाँसो राख्नेजतिलाई सरकारले गरेको उद्धार प्रयासबारे पनि जानकारी दिएका छौ। जे जस्तो अवस्था भएपनि परिवारका सदस्य निकै नै चिन्तित छन,’ उनले भने।
उनका अनुसार सबैजसो पर्यटक विभिन्न ट्राभल, टे«क कम्पनिबाट पदयात्रा र धार्मिक यात्रामा निस्केको हुनाले ती पाहुनाबारे सुरुवाती चरणमा परिवारका सदस्यले सम्बन्धित कम्पनिमा सम्पर्क गर्ने गरेका थिए। तर, अहिले भने सरकारी सूचनाको प्रणालिभित्र रहेर बोर्डको सम्पर्कमा आएको उनले बताए। ‘हराएका व्यक्तिबारे सम्बन्धित कम्पनिले दिएको सूचना, पाहुनाबारेको विवरण, उद्धार गरिएका व्यक्तिको जानकारीलाई एकैठाउँ राखेर दोहोरिन नदिने गरि प्रमाणिकरण गरेर सूचना प्रवाह गरेका छौं,’ शर्माले भने।
प्रकाशित: १८ भाद्र २०८३ १६:२६ बिहीबार





