वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ। गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए। जबकि गत आवको छ महिनामा भने सात थरिका दलहन खाद्यान्न रु पाँच अर्ब ८३ करोडको आयात भएको थियो। चालु आवको छ महिनामा रु तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ।
त्यस्तै सोही अवधिमा रु एक अर्ब १७ करोड मूल्य पर्ने सिमी/राज्मा आयात भएको छ। चालु आवको छ महिनामा रु एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ।
त्यसैगरी, रु एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ। रु २७ करोडबराबर रहरको दाल र रु १६ करोड मूल्यको केराउ आयात भएको छ। त्यस्तै रु पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ।
प्रकाशित: १८ माघ २०८२ १०:४१ आइतबार





