तिहारलाई लक्षित गर्दै पोखरामा सयपत्री फूलको बिक्री वितरणका लागि स्थान र मूल्य निर्धारण गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन तथा प्लास्टिकजन्य फूलमालाको प्रयोग निरुत्साहित गर्ने उद्देश्यले सयपत्री फूलको मूल्य र बिक्रीस्थल निर्धारण गरिएको पोखरा महानगरले बताएको छ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार कात्तिक २२ गतेदेखि लागु हुनेगरी स्थानीय फूलको व्यवस्थित बिक्रीका लागि १७ वटा स्थान तोकिएको छ। त्यस्तै निर्धारण गरिएको मूल्यअनुसार सयपत्री फूल प्रतिकिलो पाँचसय रुपैयाँ र माला प्रतिगोटा दुईसय रुपैयाँ कायम गरिएको छ।
‘स्थानीय उत्पादनको प्रवर्द्धन नीति पनि हो। यसले फूलको गुणस्तर अनुसार माला किन्न उपभोक्ताले पाउनेछन,’ कडरियाले भनेका छन, ‘स्थानीय फूल प्रयोग गरी वातावरण संरक्षण र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न यसले सघाउनेछ।’
प्लास्टिकजन्य फूलमालाको प्रयोगलाई निरुत्साहित गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यो व्यवस्था मिलाइएको उनले बताए। वातावरणीय सन्तुलन कायम राख्न र स्थानीय किसानको मेहनतलाई प्रोत्साहन गर्न पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।
म्हानगरले तोकेका विभिन्न १७ वटा ठाउँबाट फूल र माला बिक्री गर्ने ठाउँ तोकिएको महानगरले बताएको छ। तोकिएका स्थानमा देवी पञ्ज्ञ ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेल पुरानो वडा कार्यालय, संगम चोक कृषि बजार चौतारी, नयाँ वडा कार्यालय परिसर र सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड रहेका छन्। यसैगरी महेन्द्रपुल (फल्चा), पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक (चौतारी) रहेका छन्।
त्यस्तै पोखरा रंगशाला, किसान बजार १३, वडा कार्यालय परिसर १४, किसान बजार १५, ठुलीपोखरी किसान बजार १६ र १९, किसान बजार विरौटा १७, किसान बजार खुदी ३०, कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड (बेगनास ताल) ३१ तथा कृषि उपज थोक बजार तालचोक २७ मा फूल खरिदबिक्रीको व्यवस्था मिलाइएको महानगरले बताएको छ।
यसैबीच पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह पनि गरेको छ। वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लास्टिकजन्य फूलगुच्छाको बिक्री, वितरण तथा भण्डारण निषेध गरिएको जनाउँदै महानगरले उक्त निर्णयको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

‘तिहारमा सम्पूर्ण व्यवसायीलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न र उपभोक्तालाई समेत त्यस्ता फूलको प्रयोग नगरी स्थानीय फूलको प्रयोग गर्न महानगर अनुरोध गर्दछ,’ महानगरले विज्ञप्तीमा भनेको छ, ‘यसले स्थानीय उत्पादनको प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने अपेक्षा छ।’
महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा अन्य प्रतिबन्धित सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता पनि दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमाला उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा रोक लगाएको भए पनि बजारमा बिक्री भइरहेको पाइएपछि महानगरले अनुगमनलाई निरन्तरता दिएको हो।
महानगरपालिकाले विगत तीनवर्षदेखि तिहारका बेला पोखरामा प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि औपचारिक सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न व्यवसायीलाई आग्रह गरेको थियो। सूचनाको कार्यान्वयन भए–नभएको विषयमा महानगरले बजार अनुगमनलाई तीव्र बनाएको महानगर आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए।
प्रकाशित: २० कार्तिक २०८३ १७:१५ शुक्रबार




-600x400.jpg)
