२०८० कात्तिक २२ मा उच्च अदालत पोखराले पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न दिनु भनेर अन्तरिम आदेश गर्यो। लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा त्यत्तिबेला अदालतले आदेश दिएको थियो।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल, दरवारमार्ग सहित पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रमा २४ सै घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो।
तर, गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर रिट परेपछि अदालतले उक्त आदेश दिएको थियो। आदेश पाएपछि पर्यटन व्यावसायीले लेकसाइड २४ सै घण्टा खुला हुने भन्दै प्रचारप्रसार पनि गरेका थिए। कतिपय व्यावसायीलाई उक्त आदेशले राती अबेरसम्म व्यवासाय संचालन गर्न बाटो खुलेसँगै अनुसार व्यावसाय संचालन पनि थालिएको थियो।
अदालतको आदेश मात्र नभई गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुले पनि पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न व्यवासायीलाई बारम्बार अनुरोध गरेका थिए भने सुरक्षा निकायलाई सुरक्षा प्रवन्ध गर्न निर्देशन पनि दिएका थिए। सबैको चाँसो र प्रशासनको ताकेतासँगै लेकसाइड २४ सै घण्टा खुलेको प्रचार भयो।
२४ सै घण्टा व्यावसाय खुल्ने हल्लासँगै पाहुनाले पनि त्यही अनुसार सेवा सुविधा अपेक्षा गर्न थाले। व्यावसायीका अनुसार पोखरा जतिखेर पनि खुल्ला रहने सन्देश पाएपछि पोखरा भित्रिने पाहुनाहरु राती अबेर गरि आउने, पोखरा आइसकेका पाहुना पनि समयमै होटलमा नआउने, मध्यरातम होटल छिरेर चाहेको खानेकुरा खान पाउनुपर्छ भनेर झैझगडा गर्ने क्रम बढेको थियो। डिस्को डान्समा रमाएका पाहुना अबेर गरि होटल फर्केर होहल्ला गर्ने लगायतका गतिविधि बढेको थियो।
२४ सै घण्टा लेकसाइड खोल्न पाउँदा सीमित व्यावसायीले लाभ लिएको भन्दै अधिकांश व्यावसायी असन्तुष्ट रहँदै आएका थिए। २४ सै घण्टा लेकसाइड खुल्ने भनेर गरिएको प्रचार व्यावसायीका लागि नै बोझ बनेको थियो। पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि व्यावसायीलाई व्यवस्थापनको सकस बनेको थियो। बहुसंख्यक व्यावसायीले त्यो प्रावधानका कारण सकस खेप्नुपरेको गुनासो गर्दै आएका थिए। पछिल्लो समय लेकसाइड झनै बढि अस्तव्यस्त बनेको भन्दै व्यावसायीले २४ घण्टाको त्यो प्रावधान हटाउनुपर्ने भनेर प्रशासन गुहारेका छन्। रात्रीकालिन व्यावसायका कारण सुरक्षा चूनौति थपिएको पनि उनीहरुको भनाई छ।
अहिलेको अवस्थामा लेकसाईड २४ सै घण्टा खोल्न जरुरी नरहेकोले राती २ बजेपछि सबैखाले व्यावसाय बन्द गर्नुपर्ने माग गर्दै व्यावसायीले शुक्रबार कास्की प्रशासनमा ज्ञापनपत्र समेत बुझाएका छन्। राती २ बजेपछि कुनै पनि व्यावसाय संचालन आवश्यक नरहेको उनीहरुको भनाई छ। अबेरसम्मको खुलापनले लेकसाइडमा असुरक्षा बढेको, होहल्ला थपिएको, झै झगडा बढेको, अनैतिक गतिविधि पनि हुन थालेको व्यावसायीको ठहर छ।

‘चौबिसै घण्टा खोल्ने अनुमति पाएको दुईमहिना पछि नै हामीले यो बारेमा प्रशासनमा गुनासो सुनाईसकेका थियौ। बारम्बारको गुनासो सम्बोधन नभएपछि शुक्रबार ज्ञापनपत्र नै बुझाएका हौ,’ होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘पोखरा २४ सै घण्टा खुल्ने भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको छ। लेकसाइडको रात्रीकालिन व्यावसाय २४ सै घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातकसिद्ध हुन पुगेको छ।’ उनका अनुसार ज्ञापनपत्रमा राती २ बजेपछि कुनैपनि व्यावसाय बन्द हुनुपर्ने व्यावसायीको माग रहेको छ।
‘पाहुनाले बुकिङ गरेको होटलम राती अबेर कुनैपनि बेला आएर सुत्न पाउँछन। तर, घुम्ने र रमाउने बहानमा अरुलाई बाधा पार्न मिल्दैन,’ उनले भने, ‘पोखरा भित्रिदै गर्दा कुनै कारणवस अबेर भए समस्या छैन। तर, पोखरा भित्रिएका पाहुना घुम्न निस्केर राती मातेर फर्किदा अप्ठेरो परेको हो।’
उनका अनुसार होटलका कोठा बुकिङ गरेका आफ्ना पाहुनाका लागि होटल चौबिसै घण्टा खुल्छन। होटलले नियमित सेवा दिन्छन। त्यो बेला छिमेकी सुत्न पाउँछन्। तर, २४ सै घण्टा खुलाउने नाममा छाडा हुन भएन। अहिले लेकसाइडमा छाडा तरिकाले चलेको छ।
‘व्यावसायीले आचारसंहिता पालना नगरि छाडा तरिकाले व्यावसाय चलाए, त्यसको मार पाहुनालाई परेको छ। मदिरा सेवन गरेर राती अबेरसम्म झै झगडा गर्ने गरिएको छ। त्यसका कराण पाहुना सुत्न पाएनन। डान्सबार अबेरसम्म खुल्दा छिमेकी होटल र घरका बासिन्दालाई अप्ठेरो परेको छ,’ उनले भने। पाहुनाले शान्तसँग बस्न र सुत्न नपाउँदा त्यसको मार पर्यटक आगमनमै पर्ने अवस्था सिर्जना भएको उनले बताए।
‘२४ सै घण्टाको नाममा दूरुपयोग भयो। विकसित मुलुकमा राती १० बजेपछि होटल व्यावसाय बन्द हुन्छन। हिजोका दिनमा केही साथीले नबुझेर २४ सै घण्टा व्यावसाय खोल्नुपर्छ भनेर भने, तिनै व्यावसायी अहिले बर्वाद भयो भन्न थालेका छन,’ उनले भने, ‘हामीले समय परिमार्जनका लागि प्रशासन गुहारेका हौ।’ पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्ने व्यवस्थाले पोखराको पर्यटनमा कायापलट हुन्छ जस्तो गरि उ बेला प्रचार गरिए पनि अहिले त्यस्तो केही नभएको उनले बताए।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पनि राती २ बजेपछि सबैखाले व्यावसाय बन्द गर्न प्रशासनमा अनुुरोध गरेको बताए। ‘राती २ बजेपछि सबैखाले व्यावसाय बन्द गर्नुपर्छ भनेर प्रशासनमा भनेका छौ। लेकसाइड २४ सैं घण्टा खोल्न आवश्यक छैन,’ उनले भने, ‘रातभर व्यावसाय खोल्दा त्यसको मार शान्तसँग बस्न चाहने पाहुनालाई परेको छ।’ सबै प्रक्रिया पुरा गरेर मात्र २४ घण्टा खोल्ने भनिएपनि व्यावसायीले त्यसलाई बेवास्ता गरेको उनले बताए।

‘रात्रीकालिन समयमा लागुऔषध, यौनधन्दा लगायतका अवैध गतिविधि बढे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने र रातीमा पनि पाहुना आउने भनेर यो प्रावधानमा सुरुमा सहमति जुट्यो। तर, अहिले विमानस्थल पनि चलेन। सुरक्षा चूनौती झनै बढिरहेको छ,’ उनले भने।
पराजुलीका अनुसार रात्रीकालिन व्यावसाय संचालन गर्नका लागि कास्की प्रशासन र व्यावसायी मिलेर २०८० मा आचारसंहिता बनाएपनि त्यो पालना भएको छैन। ‘अनुगमन गर्ने भनिएपनि भएन। पूर्वाधार बिना यत्तिकै लागु गर्न सकिने अवस्था थिएन, तर जर्बजस्ती लागु गरिएको त्यो प्रावधानले व्यावसायीलाई साथ मिलेन,’ उनले भने, ‘व्यवस्थित भनियो, तर, झनै लथालिंग भएको छ।’
४२ बुँदे आचारसंहिता पालना गर्दै एउटाले व्यावसाय गर्दा अर्काेलाई बाधा नपुग्नेगरि व्यावसाय संचालन गर्ने भनिएपनि पालना नभएको पराजुली बताउँछन। उनका अनुसार अदालतले लेकसाइडलाई २४ सै घण्टा खोल्नु भनेर आदेश दिएपछि स्थानीय प्रशासनको संयोजनमा ४२ बुँदे आचारसंहिता बनाएको थियो। त्यसले लेकसाइडलाई व्यवस्थित गर्ने भनिएको भएपनि हुन नसकेको उनले बताए। उनका अनुसार मध्यरातमा मोटरसाइकलको डरलाग्दो आवाज निकालेर गुडाउने गर्दा स्थानीलाई असर परेको छ। बालबालिका, वृद्धवृद्धा देखि पाहुना सुत्न पाएका छैनन। लेकसाइड पछिल्लो समय अशान्त बनेको छ।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष तारानाथ पहारी पनि राती २ बजेपछि सबैखाले व्यावसाय बन्द गर्नेगरि प्रशासनलाई समय परिमार्जन गर्न भनेको बताउँछन्। ‘राती १ बजेपछि बन्द गर्न थाल्ने र २ बजेपछि सबैखाले व्यावसाय पूर्ण रुपमा बन्द हुनुपर्छ भन्ने हाम्रो माग हो। त्यो हुन नसके लेकसाइड अति नै असृुरक्षित बन्ने निश्चित भयो,’ पहारी भन्छन, ‘लेकसाइडभित्र अनैतिक गतिविधि बढेका छन्। त्यसलाई रोक्न पनि जरुरी छ। अदालतको अन्तरिम आदेशको भरमा व्यावसाय चलाउँदा लेकसाइडको बनदामी भएको छ। लेकसाइडमा वेथिति बढेको छ।’
प्रकाशित: १ जेष्ठ २०८३ १५:०७ शुक्रबार





